बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएल काउन्टडाउन

आईपीएलको इतिहासमा सर्वाधिक सफल टोली

बिहीबार, ०८ चैत २०८०, ०९ : ०७
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७औँ संस्करण हो । 

प्रतियोगिताको १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ । भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । पहिलो खेल मार्च २२ मा हुनेछ भने २१औँ खेल अप्रिल ७ तारिखमा खेलिने छ । 

हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ । पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । यहाँ सन् २००८ मा आईपीएल सुरु भएदेखि हालसम्म सर्वाधिक सफल टोलीको विषयमा चर्चा गरिएको छ । 

आईपीएल सुरु भएदेखि हालसम्म १६ वटा संस्करण सम्पन्न भइसकेको छ । तर, हालसम्म सातवटा टोलीले मात्र आईपीएलको उपाधि चुम्न सकेका छन् । त्यसमध्ये आईपीएलको १० वटा उपाधि त केवल दुईवटा टोलीले चुमेका छन् ।

आईपीएलको इतिहासमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स सबैभन्दा सफल टोली हुन् । यी दुवै टोलीले हालसम्म पाँच–पाँच पटक आईपीएलको उपाधि जितेका छन् । त्यसमध्ये पनि मुम्बई इन्डियन्स सबैभन्दा पहिले पाँचपटक आईपीएलको उपाधि भित्राउने टोली हो ।

मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो उपाधि चुमेको थियो । त्यसपछि सन् २०१५ मा दोस्रो उपाधि जितेको मुम्बई इन्डियन्सले सन् २०१७ मा तेस्रो उपाधि भित्राएको थियो । मुम्बई इन्डियन्सले सन् २०१९ मा चौथो र सन् २०२० मा पाँचौँ उपाधि हात पारेको थियो ।

यसैगरी चेन्नई सुपर किङ्सले पनि हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । चेन्नई सुपर किङ्सले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि चेन्नईले सन् २०११ मा दोस्रो र सन् २०१८ मा तेस्रो पटक उपाधि जित्यो । चेन्नईले सन् २०२१ मा चौथो र सन् २०२३ मा पाँचौँ पटक उपाधि हात पारेको थियो ।

यसैगरी कोलकाता नाइट राइडर्सले हालसम्म दुईपटक आईपीएलको उपाधि जितेको छ । कोलकाताले सन् २०१२ मा पहिलो र सन् २०१४ मा दोस्रो पटक उपाधि चुमेको हो । यसका अतिरिक्त राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स र डेक्कन चार्जसले पनि एक–एक पटक आईपीएलको उपाधि जितेका छन् ।

राजस्थान रोयल्सले सन् २००८ मा आईपीएल जितेको थियो । राजस्थान रोयल्स आईपीएलको उपाधि जित्ने पहिलो टोली पनि हो । सनराइजर्स हैदराबादले भने सन् २०१६ मा उपाधि हात पारेको थियो । गुजरात टाइटन्सले सन् २०२२ र डेक्कन चार्जसले सन् २००९ मा उपाधि जितेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप