आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल काउन्टडाउन

आईपीएलको १७औँ संस्करण : सहभागी टोली, प्रशिक्षक, कप्तान र अघिल्लो सिजनको अवस्था

मङ्गलबार, ०६ चैत २०८०, १५ : ४७
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण यसै महिना सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७ औँ संस्करण हो । 

प्रतियोगिताको मार्च २२ तारिखदेखि सुरु हुनेछ । भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । पहिलो खेल मार्च २२ मा हुनेछ भने २१औँ खेल अप्रिल ७ तारिखमा खेलिने छ । 

हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ । पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।

यसपटक प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ ।

तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ । यद्यपि, बीसीसीआईका सचिव जय शाहले लोकसभा निर्वाचनले आईपीएलमा कुनै असर नपार्ने दाबी गर्दै आएका छन् । 

लोकसभा चुनावको मिति घोषणापछि बीसीसीआईले आईपीएलको दोस्रो चरणको खेल तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ । भारतीय निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरेको छ । आयोगका अनुसार, लोकसभा चुनाव अप्रिल १९ देखि जुन १ तारिखसम्म हुनेछ । त्यसपछि जुन ४ तारिखदेखि मत गणना सुरु हुनेछ ।

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ । 

chennai

  • चेन्नई सुपर किङ्स :चेन्नई सुपर किङ्सको प्रमुख प्रशिक्षकमा न्युजिल्यान्डका स्टेफन फ्लेमिङ रहेका छन् । उनी आफ्नो समयका प्रभावशाली खेलाडी हुन् । चेन्नईको कप्तानको भूमिकामा भने महेन्द्रसिंह धोनी रहेका छन् । खेलाडीका रूपमा धोनीको यो अन्तिम आईपीएल हुने अनुमान गरिएको छ । अघिल्लो सिजनको आईपीएलमा चेन्नई सुपर किङ्स च्याम्पियन बनेको थियो ।

432412173_811564501010578_6685819758077609382_n

  • दिल्ली क्यापिटल्स :दिल्ली क्यापिटल्सको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका रिकी पोन्टिङ रहेका छन् । आफ्नो समयका चर्चित खेलाडी पोन्टिङ अस्ट्रेलियाका पूर्वकप्तान पनि हुन् । उनको नाम विश्व क्रिकेटकै सर्वाधिक सफल कप्तानको रूपमा पनि दरिएको छ । दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा भारतकै रिसव पन्त रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा दिल्ली क्यापिटल्स नवौँ भएको थियो ।

418151739_394665996491135_8451629094235660181_n

  • गुजरात टाइटन्स :गुजरात टाइटन्सको प्रमुख प्रशिक्षकमा भारतकै आशिष नेहरा रहेका छन् । उनी भारतको राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । गुजरात टाइटन्सको कप्तानको भूमिकामा भने भारतकै सुभमन गिल रहेका छन् । उनी वर्तमान भारतीय टोलीका सफल युवा खेलाडी पनि हुन् । अघिल्लो सिजनको आईपीएलमा गुजरात टाइटन्स उपविजेता बनेको थियो । 

433360733_820418376788157_8231602162269760121_n

  • कोलकाता नाइट राइडर्स :कोलकाता नाइट राइडर्सको प्रमुख प्रशिक्षकमा भारतकै चन्द्रकान्त पण्डित रहेका छन् । उनी भारतीय टोलीका पूर्वखेलाडी हुन् । उनले भारतका लागि पाँच टेस्ट र ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । कोलकाताको कप्तानको भूमिकामा भने श्रेयस ऐयर रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा कोलकाता सातौँ भएको थियो ।

430854080_429629056270728_4800640294430221769_n

  • लखनउ सुपर जाइन्ट्स :लखनउ सुपर जाइन्ट्सको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका जस्टिन लेङ्गर रहेका छन् । उनी अस्ट्रेलियाका पूर्वखेलाडी पनि हुन् । उनी अस्ट्रेलियन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन् । लखनउको कप्तानको भूमिकामा भने भारतका केएल राहुल रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा लखनउ चौथो भएको थियो ।

433635017_18423728542028648_431613465273097984_n

  • मुम्बई इन्डियन्स :मुम्बई इन्डियन्सको प्रमुख प्रशिक्षकमा दक्षिण अफ्रिकाका मार्क बाउचर रहेका छन् । उनी दक्षिण अफ्रिकाका पूर्वखेलाडी पनि हुन् । बाउचर आफ्नो समयका प्रभावशाली विकेटकिपर ब्याट्सम्यान हुन् । मुम्बई इन्डियन्सको कप्तानको भूमिकामा भने भारतकै हार्दिक पाण्ड्या रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा मुम्बई तेस्रो भएको थियो ।

431170330_806224101547230_967088635548931211_n

  • पञ्जाब किङ्स :पञ्जाब किङ्सको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका ट्रेभर बेलिस रहेका छन् । उनी अस्ट्रेलियन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन् । उनले अस्ट्रेलियाका लागि प्रथम श्रेणीको क्रिकेटमात्र खेलेका थिए । पञ्जाबको कप्तानको भूमिकामा भने भारतकै शिखर धवन रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा पञ्जाब आठौँ भएको थियो । 

430484117_838755994724473_5056856299743255827_n

  • राजस्थान रोयल्स :राजस्थान रोयल्सको प्रमुख प्रशिक्षकमा श्रीलंकाका कुमार सांगाकारा रहेका छन् । कुमार सांगाकारा श्रीलंकाली टोलीका पूर्वखेलाडी हुन् । आफ्नो समयका प्रभावशाली खेलाडी सांगाकारा श्रीलंकाली टोलीका पूर्वकप्तान पनि हुन् । राजस्थान रोयल्सको कप्तानको भूमिकामा भने भारतकै सञ्जु सामसन रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा राजस्थान रोयल्स पाँचौँ भएको थियो ।

433402442_18424677370063583_8194172926596269466_n

  • रोयल च्यालेन्जर्स बैंगलोर :रोयल च्यालेन्जर्स बैंगलोरको प्रमुख प्रशिक्षकमा जिम्बाबेका एन्डी फ्लावर रहेका छन् । उनी जिम्बाबेका पूर्वखेलाडी पनि हुन् । रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानको भूमिकामा भने दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स छैटौँ भएको थियो । 

432597478_18427804411060332_9008201629306936215_n

  • सनराइजर्स हैदराबाद :सनराइजर्स हैदराबादको प्रमुख प्रशिक्षकमा न्युजिल्यान्डका ड्यानियल भेट्टोरी रहेका छन् । उनी न्युजिल्यान्डका पूर्वखेलाडी पनि हुन् । उनी अस्ट्रेलियाको राष्ट्रिय टोलीका सहायक प्रशिक्षक पनि हुन् । सनराइजर्स हैदराबादको कप्तानको भूमिकामा भने अस्ट्रेलियाका प्याट कमिन्स रहेका छन् । अघिल्लो सिजनको आईपीएलमा सनराइजर्स हैदराबाद १०औँ भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप