बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीको निर्देशनपछि पनि खुलेन महाराजगञ्ज नर्सिङ क्याम्पसको ताला

मङ्गलबार, १३ चैत २०८०, १३ : ३१
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । महाराजगञ्ज नर्सिङ क्याम्पसमा बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले लगाएको ताला खुल्न सकेको छैन । पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा आपत्ति जनाउँदै विद्यार्थीहरूले चैत ५ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरूले उठान गरेका मागका विषयमा ९ चैतमा छलफल गरेकी थिइन् । छलफलको क्रममा उनले विवाद समाधान गरेर कलेजको पठनपाठन सुचारु गर्न निर्देशन दिएपनि ताला भने अझै खुल्न नसकेको हो।   

बैठकमा मन्त्री श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव सुरेश अधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन डा.दिव्यासिंह शाह, नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसीको सहभागिता रहेको थियो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झाले पीसीएल नर्सिङ पढेका विद्यार्थीको हकमा बीएमएस अध्ययनको लागि आयोगले सिफारिस गरेको बताएका थिए । त्यस्तै त्रिविका उपकुलपति प्राडा बरालले बिएस्सी मिडवाईफ्रिकै पाठ्यक्रम बीएमएसको लागि समेत लागू हुने बताएका थिए। उक्त पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट आधिकारिक रूपमा स्वीकृत समेत भइसकेको बताएका थिए ।

त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन प्राडा शाहले बिएस्सी मिडवाईफ्री र बेचुलर ईन मिडवाईफ्रि साइन्सको पाठ्यक्रम एकै भई सोही अनुसार पठनपाठन भएता पनि बीएमएस तर्फका विद्यार्थीलाई बीएमएसको उपाधि प्रदान गरिने बताएकी थिइन् ।

त्यस्तै नर्सिङ परिषद्की अध्यक्ष केसीले बीएमएस अध्ययन गरिरहेका विद्यार्थीलाई नर्सिङ परिषद्को परीक्षामा सहभागी हुन समस्या नहुने बताएकी थिइन्।

विद्यार्थीहरूले सरोकारवालाबीच छलफल भएपनि उक्त विषयमा आफूहरूलाई कुनै जानकारी नआएको बताएका छन् । महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियु सभापति नोविना बस्नेतले उक्त छलफलपछि डीन कार्यालयबाट आफूहरूलाई आधिकारिक जानकारी नआएको बताइन् ।

‘हामीले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छौं । डीन कार्यालयले हामीलाई वार्तामा बोलाएर सहमति गरेपछि मात्रै आन्दोलन रोकिन्छ । नत्र उता के के सहमति भयो त्यो हामीलाई थाहा हुने कुरा भएन् । वार्ता समिति बनाएर हामीलाई वार्तामा बोलाएर सहमति भएपछि मात्रै हामी तालाबन्दी खोल्छौँ’ सभापति बस्नेतले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप