सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सडक मर्मत

राजधानीसँग जोडिएका ३४ वटा सडक धमाधम मर्मत हुँदै

आवतजावतमा सास्ती भएपछि सडक विभागको ताकेता
मङ्गलबार, २० चैत २०८०, ११ : ००
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । सडक विभागले सङ्घीय राजधानी काठमाडौँ जोड्ने देशभरका ३४ वटा रणनीतिक सडक मर्मतमा तीव्रता दिएको छ । यसका लागि ५ अर्ब ९४ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेर धमाधम काम गरिरहेको छ ।

विभागका अनुसार कुल १८ हजार १६४ दशमलव ४३ किलोमिटर सडक मर्मतका लागि बजेट छुट्याइएको हो । जसमा नियमित मर्मत गर्नुपर्ने ७ हजार ७७८ दशमलव ५८ किमि सडक छन् । बाग्लुङमा रहेको ४५५.१३ किलोमिटर सडक रणनीतिक भित्र पर्छ । जसमा २२.१३ किलोमिटर सडक नियमित मर्मत गर्नुपर्ने देखिन्छ । उक्त सडकखण्ड मर्मतका लागि २५ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यो आर्थिक वर्षमा हालसम्म जम्मा २५ प्रतिशतमात्रै काम भएको देखिन्छ । जसमा ११.५९ प्रतिशतमात्रै आर्थिक प्रगति भएको विभागले जनाएको छ ।

विभागको मर्मत सम्भार निर्देशनालयका अनुसार बैतडीमा रहेको कुल ८४४ किलोमिटर सडकमध्ये ३२२.११ किलोमिटर सडक  नियमित मर्मत सम्भार गर्नुपर्ने हुन्छ । सडक आयोजनाले विभागमा जानकारी गराएअनुसार हालसम्म २६ प्रतिशतमात्रै मर्मत सम्भार भएको छ । विभागले यसका लागि २६ करोड ११ लााख ७० हजार रुपैयाँ बजेट छुट्याएको थियो । तर, पुरानो आर्थिक वर्षको दायित्वमध्ये ९१ प्रतिशत मर्मत गरिसकेको विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले अत्यावश्यक मर्मत गर्नुपर्ने र बर्सेनि मर्मत गर्नुपर्ने सडकको पहिचान गरेर मर्मत कार्य भइरहेको बताए ।

भक्तपुर, विराटनगर, भरतपुर, बुटवल, चन्द्रनिगाहपुर, चरिकोट, चौरजहारी, दमक, दमौली, दाङ, धनकुटा, डोटी, हर्खकपुर, हेटौँडा, इलाम, जनकपुर, काठमाडौँ, खलङ्गा, खुर्कोट, लहान, ललितपुर, महेन्द्रनगर, नेपालगञ्ज, नुवाकोट, पाल्पा, पोखरा, प्यूठान, साँफेबगर, शिवपुरी, सुर्खेत र तुम्लिङटार सडक खण्डमा अहिले नियमित मर्मत सम्भार भइरहेको विभागका सूचना अधिकारी अमित कुमार शर्माले जानकारी दिए ।

यो आर्थिक वर्षमा धेरै भौतिक प्रगति जनकपुर सडक खण्डको भएको देखिन्छ । कुल ५२१.७६ किलोमिटर सडक खण्डमध्ये २३८.४० किलोमिटर सडक नियमित मर्मत सम्भार गर्नुपर्ने देखिन्छ । जसमध्ये ७६ प्रतिशत भौतिक प्रगति भएको शर्माले बताए । सडक मर्मतका लागि ९० करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले अत्यावश्यक मर्मत गर्नुपर्ने र बर्सेनि मर्मत गर्नुपर्ने सडकको पहिचान गरेर मर्मत कार्य भइरहेको बताए । उनले भने, ‘बाटो सबैको लाइफलाइनको कुरा हो । कतिपय ठाउँमा चाहेर पनि मर्मत गर्न सकिएको छैन, कतिपय ठाउँमा मर्मत कार्यले तीव्रता पाएको छ ।’

विभागका अनुसार पृथ्वी राजमार्गको स्तरोन्नति भइरहेकाले त्यहाँ भौतिक प्रगति न्यून देखिएको हो । त्यस्तै नारायणघाटदेखि बुटवलसडक खण्डको पनि स्तरोन्नतिको काम भइरहेको छ । बर्दिवासदेखि सुनसरीसम्म राजमार्ग स्तरोन्नतिको काम भइरहेको विभागले जनाएको छ । ‘राजमार्गहरू स्तरोन्नति भइरहेकाले झट्ट हेर्दा भौतिक प्रगति अपेक्षाकृत नदेखिए पनि काम धमाधम भइरहेको छ,’ ढकालले भने, ‘कतिपय सडकमा अझै पनि मुआब्जा वितरण र सीमा विवादका कारण काम रोकिएका छन् ।’

1

विभागका अनुसार पाँचथरस्थित माझीटारमा हेवाखेला र कालिकोटस्थित खुलालु पुल नबन्दा बाटो अवरुद्ध बनेको छ । त्यस्तै पाल्पा,  म्याग्दी, लमजुङ, संखुवासभा, दैलेख, सल्यान, डोटी, चितवन, सिन्धुपाल्चोक, दोलखा, दाङ, कैलाली, काभ्रे, मुस्ताङ, डडेल्धुरा, सल्यान, उदयपुर लगायत जिल्लाका ६३ खडक खण्डमा एकतर्फी सडक खुला छन् ।

बाटो निर्माण कार्यकै कारण ती जिल्लाका राजमार्ग एकतर्फ अवरोध भएको विभागका प्रमुख ढकालले बताए । उनले सडक दुईतर्फी खुलाउने प्रयास जारी रहेको बताए ।

यो आर्थिक वर्षमा सडक विभागलाई सरकारको स्रोतको रकम सिलिङमा दिइएको ४५ अर्ब ८६ करोड ३२ लाखबाट १६ प्रतिशत अर्थात् ६ अर्ब ४० करोड १७ लाख कटौती गरेर ३९ अर्ब ४६ करोड १५ लाखमात्र दिइएको छ । यदि राजस्व सङ्कलन लक्ष्यअनुसार भएमा यो रकमको भुक्तानी निर्माण व्यवसायीले सहज रुपमा पाउन सक्छन् ।

यो आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वार्षिक कार्यक्रमतर्फ निर्माण हुने सडक लगायत योजना÷आयोजनाका लागि एक खर्ब ३१ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।

वैदेशिक ऋणको रकम तोकिएको सिलिङ ३४ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मा २२ अर्ब ४० करोड २७ लाख थप गरेर ५६ अर्ब ७४ करोड ४८ लाख पुर्‍याइएको छ । वैदेशिक ऋणतर्फको रकम नेपाल सरकारले लिन सक्ने कुनै ग्यारेन्टी नभएकाले वैदेशिक ऋणतर्फको रकमबाट निर्माण हुने सडकको भुक्तानी पाउन निर्माण व्यवसायीलाई समस्या पर्ने विभागका एक उच्च अधिकृतले बताए ।

उनले भने, ‘वैदेशिक ऋणको रकम बढाइयो तर, सरकारी स्रोतको रकम घटाएर बजेट घोषणा गर्दा व्यवसायीलाई समयमा भुक्तानी गर्न धेरै अप्ठ्यारो छ ।’

यो आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वार्षिक कार्यक्रमतर्फ निर्माण हुने सडक लगायत योजना÷आयोजनाका लागि एक खर्ब ३१ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ आवश्यक पर्ने जनाएको छ । त्यस्तै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नतिका लागि चार वटा राजमार्ग क्रमशः सिद्धार्थ राजमार्ग (राम्दी, स्याङ्जा, पोखरा), सिद्धार्थकै बुटवल–पोखरा– पाल्पा र रत्न राजमार्ग–कोहलपुर–सुर्खेतको स्तरोन्नतिका लागि १७ अर्ब ५० करोड लाग्ने अनुमान मन्त्रालयको छ । 

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप