बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

खेल टोली बहराइन पठाउँदा खेलकुद मन्त्रीलाई जानकारी गराएको एन्फाको दाबी

आइतबार, २५ चैत २०८०, २१ : ४६
आइतबार, २५ चैत २०८०

काठमाडौँ । नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई जानकारी गराए नै हालै बहराइनमा सम्पन्न फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपाली टोली र पदाधिकारीहरू सहभागी गराएको स्पष्ट पारेको छ ।

एन्फाले आइतबार राति एक विज्ञप्ति जारी गर्दै खेलकुद मन्त्रीलाई जानकारी गराएर नै विश्वकप छनोट फुटबलमा नेपाली खेल टोली सहभागी गराएको दाबी गरेको हो । एन्फाले खेल टोली बहराइन पठाउनुअघि खेलकुद मन्त्रीसँग छलफलसमेत गरेको बताएको छ ।

‘एन्फा पदाधिकारीहरूबाट माननीय खेलकुद मन्त्री ज्यू समक्ष बहराइनमा हुने खेल आयोजना तथा सो आयोजनाको आयोजक राष्ट्रको जिम्मेवारी, परिस्थिति र एन्फाको भूमिका सम्बन्धी अनिवार्य विषयहरूका बारेमा जानकारी गराइएको हो । उक्त सन्दर्भमा नौमध्ये एक जना पदाधिकारीको जिम्मेवारी कम देखिएकाले आठ जनाको जिम्मेवारी एन्फाले नै तय गरेको हो । स्वीकृति दिने वा नदिने सम्बन्धमा कुनै छलफल नै नभएको र यो अधिकार राष्ट्रिय खेलकुद परिषद्सँग नै रहेको विषयमा हामी स्पष्ट छौँ,’ एन्फाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

युवा तथा खेलकुद मन्त्रीले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिए अनुरूप नै आफूहरूले खेल टोली बहराइन पठाएको दाबी एन्फाले गरेको छ । ‘छलफलमा मन्त्रीज्यूको समेत परिषद्सँग समन्वय गरेर अगाडि बढ्ने निर्देशन अनुरूप नै परिषद्सँग सम्पूर्ण पदाधिकारीहरूको जिम्मेवारी खुल्ने गरी भ्रमणको जानकारी गराई बहराइनमा सहभागी गराइएको हो,’ एन्फाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

विश्वकप छनोट फुटबलको बहराइनमा सम्पन्न दोस्रो चरणको खेलका क्रममा सम्बन्धित निकायसँग स्वीकृति नलिई एन्फाले अनावश्यक व्यक्तिलाई विदेश भ्रमणमा लगेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै आएको छ ।  

एन्फालाई कारबाही गर्ने विषयमा केही समयअघि खेलकुद मन्त्रालयले राखेपसँग दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त नभएपछि मन्त्रालयले दोस्रोपटक राखेपलाई पत्र पठाउँदै एन्फालाई कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको थियो । खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई पहिलो पत्र फागुन ३० गते र दोस्रो पत्र चैत्र १२ गते पठाएको थियो ।

‘बहराइनमा आयोजना हुने फिफा वर्ल्ड कप क्वालिफायरमा सहभागिताका लागि एन्फाले परिषद्को स्वीकृति नलिएको भन्ने देखिएकाले सो सम्बन्धमा कानुन बमोजिम आवश्यक कारबाही गरी यस मन्त्रालयलाई जानकारी गराउनु भनी लेखि पठाएकोमा हालसम्म कुनै जानकारी प्राप्त नभएकोले सो सम्बन्धमा भएको कारबाहीको जानकारी यस मन्त्रालयलाई अविलम्ब गराउनु हुन आदेशअनुसार अनुरोध छ,’ मन्त्रालयका शाखा अधिकृत दलबहादुर बस्नेतको हस्ताक्षरमा दोस्रो पटक राखेपलाई पठाइएको पत्रमा भनिएको थियो ।

बहराइनमा सम्पन्न एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोट फुटबलमा नेपाली टोली दुवै खेलमा ठुलो अन्तरले पराजित भएको थियो । विश्वकप छनोटको पहिलो लेग खेलमा बहराइनले नेपाललाई ५–० गोलले हराएको थियो । दोस्रो लेग खेलमा पनि बहराइने नेपाललाई ३–० गोलले पराजित गरेको थियो ।   

नेपाली टोलीले एउटा खेल बहराइन र अर्को खेल नेपालको घरेलु मैदानमा खेलिनुपर्ने थियो । तर, दशरथ रंगशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै एन्फाले दोस्रो खेल पनि बहराइनमै खेल्ने सहमति जनाएको थियो । एन्फाको उक्त निर्णयको व्यापक आलोचना भएको थियो । 

एन्फाले मलेसिया र बहराइन भ्रमणमा ठुलो सङ्ख्यामा खेल पदाधिकारी पठाएको भन्दै मन्त्रालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको थियो । विश्वकप छनोटमा सहभागी हुन कतिपय पदाधिकारी सिधै बहराइन पुगेका थिए भने केही पदाधिकारी मलेसिया हुँदै बहराइन पुगेका थिए ।

बहराइन प्रस्थान गर्नुअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा पनि नेपाली टोली १–५ गोलले पराजित भएको थियो । एन्फाले विश्वकप छनोट खेलका लागि आवश्यक नरहेका व्यक्तिलाई समेत बहराइन पठाएको आरोप लागेको थियो । 

यो विषयलाई लिएर युवा तथा खेलकुद मन्त्रालय पनि एन्फासँग रुष्ट देखिएको छ । त्यसैले विश्वकप छनोट खेलमा ठुलो सङ्ख्यामा असम्बद्ध व्यक्तिसमेत पठाइएको भन्दै खेलकुद मन्त्रालयले एन्फामाथि कारबाही प्रक्रिया अगाडि बढाउन राखेपलाई निर्देशनात्मक पत्र पठाएको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ ले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता वा अन्य खेल गतिविधिमा खेलाडी वा पदाधिकारी पठाउँदा राखेपको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तर, एन्फालाई विश्वकप छनोट खेलमा ठुलो सङ्ख्यामा पदाधिकारी पठाउँदा आफूले कुनै स्वीकृति नदिएको जवाफ राखेपले मन्त्रालयलाई फर्काएको थियो । 

त्यसपछि मन्त्रालयले एन्फालाई कानुन बमोजिम कारबाही गरी त्यसका जानकारी आफूलाई पठाउन राखेपसँग पत्राचार गरेको थियो । यसका अतिरिक्त खेलकुद मन्त्रालयले राखेपसँग स्वीकृति लिएका व्यक्तिलाई मात्र अन्तर्राष्ट्रिय खेलकुद गतिविधिका लागि वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयसँग समेत अनुरोध गरेको थियो । 

एन्फाले विश्वकप छनोट खेलका लागि ४१ सदस्यीय टोली बहराइन पठाउने भन्दै राखेपसँग अनुमति मागेको थियो । दोस्रो चरणमा एन्फाले बहराइन पठाउन लागेको थप १० जनाको नाम पनि त्यो सूचिमा समावेश गरिएको थियो । तर, राखेपले दुई जना बाहेक अन्य व्यक्तिको विश्वकप छनोट खेलमा कुनै आवश्यक्ता नरहेको भन्दै दुई जनालाई मात्र बहराइन पठाउन स्वीकृति दिएको थियो । राखेपले डा।राजु डंगोल र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्र बहराइन पठाउन स्वीकृति प्रदान गरेको थियो । 

मन्त्रालयको पत्र प्राप्त भएपछि राखेपले एन्फासँग स्पष्टीकरण माग गरेको थियो । एन्फाले राखेपलाई चैत २० गते त्यसको जवाफ फर्काउँदै एन्फा र नेपाल सरकारलाई अनावश्यक व्ययभार पर्ने गरी कुनै पनि खेल पदाधिकारीलाई बहराइन नपठाइएको दाबी गरेको थियो । एन्फाले नेपालको घरेलु खेल प्राविधिक कारणले बहराइनमा खेल्नु परेको दाबी पनि गरेको थियो । 

नेपाल र बहराइनबिचको खेल विश्वकप छनोटसँगै एएफसी एसियन कपको छनोट खेल पनि हो । दोस्रो चरणको विश्वकप छनोट फुटबलमा नेपाल समूह ‘एच’ मा रहेको छ । उक्त समूहमा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र यमन पनि छन् । नेपाली टोली आफूले खेलेका चारवटै खेलमा पराजित भएको छ ।

anfa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप