आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा गुन्जिँदै गायिका आनी छोइङ डोल्मा

मङ्गलबार, २७ चैत २०८०, १८ : ५४
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । फूलको आँखामा फूलै संसार बोलको हिट गीतकी गायिका आनी छोइङ डोल्मा बेलायतमा गुञ्जिने भएकी छिन् । आगामी मे ५  तारिखका दिन गायिका आनिको बेलायतको क्याम्बर्लि सरेस्थित लेकसाइड इन्टरनेशनल कन्ट्रि पार्कको हलमा विशेष साङ्गीतिक प्रस्तुति रहनेछ ।

इनर मेलोडि फर इनर पिस नाम दिइएको कार्यक्रम मानव सेवा आश्रम नेपालका लागि आश्रम भवनहरू निर्माणका लागि गर्न लागिएको हो । पछिल्ला दिनमा गायन सँगसँगै सामाजिक काममा पनि विशेष समय दिइरहेकी गायिका आनिले कार्यक्रममा आफ्ना हिट तथा नयाँ पुराना गीतहरू गाउने आयोजकले जनाएको छ । 

मानवताको संरक्षण र प्रवर्द्धनका लागि विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस संस्थाले बिस २०८२ सालसम्ममा सहयोगापेक्षि सडक आश्रित मानव मुक्त नेपाल बनाउने लक्ष्य लिएको मानव सेवा आश्रमले जनाएको छ । सोही उद्धेश्य पुरा गर्न लागिएको साङ्गीतिक कार्यक्रमबाट एक करोड ६८ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य आयोजकको छ । 

नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त आनिको विश्वभर प्रशंसक रहेको हुँदा कार्यक्रममा नेपाली दर्शकहरु सँगसँगै आध्यात्मिक तथा बौद्ध धर्ममा आस्था राख्ने बेलायत तथा युरोपका दर्शकहरूको पनि सहभागी हुने अपेक्षा गरिएको छ। यस साङ्गीतिक कार्यक्रम विशुद्ध आध्यात्मिक हुने भएकोले कार्यक्रममा कुनै पनि मादक पदार्थ र मांसाहारी खाना उपलब्ध हुने छैन ।

१५ सय दर्शक सहभागी हुने अनुमान गरिएको यस कार्यक्रमलाई हर तवरबाट उत्कृष्ट बनाउन प्राविधिक पक्षमा पनि कुनै कमी कमजोरी हुन नदिने आयोजकले प्रतिबद्धता जनाएको छ । साङ्गीतिक कार्यक्रमको मुख्य अतिथिमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य रहने छन् भने कार्यक्रम सफल बनाउन संस्थाका संयोजक सुनिल बाबु खड्काको संयोजकत्वमा ३१ सदस्यीय मूल समितिसहित विभिन्न कार्यगत उपसमितिहरू गठन गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप