मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रको प्रश्न : घोषणा भएको भ्रमण दशक सरकार आफैँले बिर्सिएको त छैन ?

बुधबार, २८ चैत २०८०, १३ : ४६
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले भ्रमण दशक घोषणा गरेको भएपनि स्वयं बिर्सिएको महसुस निजी क्षेत्रलाई भएको भन्दै आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै अग्रवालले उपयुक्त पूर्वाधारहरू, सडक तथा हवाईको निर्माणपछि मात्र स्पष्ट योजना र तयारीका साथ भ्रमण वर्ष मनाउने तयारी गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । 

कार्यक्रम तथा योजना घोषणा गरेर मात्रै कुनै महत्त्व नहुने भन्दै उनले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट आगामी आर्थिक विधेयकबाट हटाउनुपर्ने सुझाव दिए । पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको मान्यता दिई प्रोत्साहन गर्नुपर्ने, पर्यावरणमैत्री पर्यटनको विकास तथा प्रवर्द्धनमा जोड दिइनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । 

अध्यक्ष अग्रवालले राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा बिस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउन आवश्यक रहेको बताए । उनले भने, ‘एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम प्रतिस्पर्धी बन्नै सकिरहेको छैन । त्यहाँभित्र सधैँ समस्या आइरहेको देखिन्छ । नेपाल वायुसेवा निगम बलियो नहुँदा विदेशी विमान कम्पनीहरूले लाभ लिइरहेका छन् तर पर्यटकका लागि नेपाल गन्तव्य महँगो बनिरहेको छ । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा बिस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउन अति आवश्यक छ । युरोपका पर्यटक धेरै खर्च गर्ने मध्यमा पर्छन् । उनीहरू नेपाल भ्रमण गर्न पनि रुचाउँछन् । तर युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि हवाई सुरक्षा सूचीमा समावेश गरेदेखि युरोपेली देशसँग हाम्रो सिधा हवाई सम्पर्क टुटेको छ । यसलाई सकेसम्म छिटो हटाउन हामीले ठोस पहल गर्न जरुरी छ ।’

अध्यक्ष अग्रवालले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाको सफल निर्माण, सञ्चालन तथा अपेक्षित लाभ मुलुकले हासिल गर्न पनि सही ठाउँमा सही नेतृत्व हुन आवश्यक रहेको जिकिर गरे । निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थल रहेको उल्लेख गर्दै लामो समयदेखि सञ्चालनमा नआएका विमानस्थलहरूमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिन उपयुक्त हुने बताए । ‘सरकारले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्ने र सोही अनुरूप काम गर्ने हो भने हाल जति पर्यटक भित्रिरहेका छन्, छोटो समयमा नै दोब्बर भित्र्याउन सक्छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप