बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री कँडेलका प्रतिबद्धता : मन्त्रालयका कार्यकक्ष जनताको कार्यालयका रुपमा स्थापित गर्छु

बिहीबार, २९ चैत २०८०, १९ : ०१
बिहीबार, २९ चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रश्न नउठ्ने गरी सरकारको काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्रीको पदभार ग्रहणपछि बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले सबैको शुभकामनालाई मध्यनजर गर्दै प्रश्न नउठ्ने गरी काम गर्ने बताए ।

‘हिजो प्रतिपक्षमा हुँदा सरकारलाई सल्लाह, सुझाव दिएको थिएँ, आज म काम गर्ने ठाउँमा पुगेको छु,’ उनले भने, ‘म कर्णालीवासीलाई के प्रतिबद्धता जनाउन चाहन्छु भने जनताको अपेक्षा जे छन्, तपाईँहरूले शुभकामना जे दिनु भएको छ, त्यसमा प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु ।’

उनले राजनीतिक दलहरू, सरोकारवाला लगायत सबैलाई राखेर सल्लाह गरी कर्णालीको विकास र समृद्धिको क्षेत्रमा आफ्नो केही सोच (योजना) बनाई अघि बढ्ने पनि बताए । उनले भने, ‘पदभार ग्रहण गर्ने बेला फ्याट्ट ठुलो निर्णय गर्ने तर, काम नगर्ने बानीलाई सुधार गर्नेतिर ध्यान दिने सोच मेरो छ ।’

सबैभन्दा चर्चामा रहेको १७ लाख मुनिका योजनाहरूको कार्यान्वयनका सन्दर्भमा हिजोकै सहमति अनुसार अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।

‘मलाई राम्रोसँग थाहा छ, अविच्छिन्न उत्तराधिकारीका रुपमा म छु,’ मुख्यमन्त्री कँडेलले भने, ‘हिजोको राम्रा कुरालाई अगाडि बढाइने छ भने केही कमजोरी भएका छन् भने सल्लाह, सुझाव अनुसार रूपान्तरण गरेर अघि बढ्ने छु ।’

मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनको सन्दर्भमा सुधार ल्याइछाड्ने प्रतिबद्धता पनि जनाए । हिजोदेखि हामी सत्ता र प्रतिपक्ष दुवैले उठाएको विषय भनेको बजेट सदुपयोग गर्न नसकिएको कुरा हो, बजेट कार्यान्वयनको अवस्थालाई सच्याउने मेरो पहिलो प्राथमिकता हुने छ,’ उनले भने ।  

कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने अवस्था रहेको र त्यसलाई सुधार गरेर अघि बढ्नुपर्ने पनि उनले बताए । कर्णालीमा योजना छनोटको विषयमा निकै विवाद र बेथिति छ । योजना छनोट, बजेट वितरण गर्ने प्रक्रियामा निर्ममतापूर्वक नयाँ तरिकाले जाने प्रतिबद्धता पनि कँडेलले जनाए । तर, त्यसमा सांसदहरूले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कर्णालीको समृद्धि र विकासका लागि सबैले सहयोग गर्नुपर्ने खाँचो औँल्याउँदै उनले कर्मचारीबाट पनि सहयोगको अपेक्षा गरे । ‘कर्मचारी साथीहरूले नयाँ तरिका, नयाँ सोचका साथ काम गर्नुपर्छ र त्यो वातावरण तयार गर्न सकियो भने केही नयाँ काम गर्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने ।

बैठकमा सभामुख नन्दा गुरुङले सरकार गठनको विषयमा जानकारी गराएकी थिइन् ।

मुख्यमन्त्री कँडेलले योजना, नयाँ बन्ने नीति, कार्यक्रमबारे पनि आफ्नो केही भनाइ राखे । अहिले कार्यान्वयनमा नगएका योजनाका सन्दर्भमा सुधार गरेर जाने बताउँदै उनले कार्यान्वयनमा पनि नजाने, उता बजेट पनि अभाव हुने योजनालाई केही सुधार गर्नुपर्ने प्रस्ट पारे ।

कँडेलले अब नीति तथा कार्यक्रम र बजेटमा सम्पूर्ण ध्यान केन्द्रित हुने बताए । रकमान्तर हुने अवस्था नआउनेगरी काम गर्ने उनको भनाइ छ ।

मन्त्रालयका कार्यकक्षहरू पार्टीका सम्पर्क कार्यालयजस्तो बनाउने काम यसअघि भएको उल्लेख गर्दै उनले त्यसमा कडाइ गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मन्त्रालयका कार्यकक्षहरू पार्टीका सम्पर्क कार्यालय हैन कि जनताको कार्यालयको रुपमा स्थापित गर्ने गरी तरिका बदल्ने पनि प्रतिबद्धता जनाउँछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप