सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ ।
मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी–६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिए । “परियोजना सञ्चालन हुँदा नियमित रूपमा सामूहिक र व्यक्तिगत रूपमा मेन्थाखेती हुँदै आएको थियो”, उनले भने, “उत्पादित तेलको मूल्य सुनिश्चितता र बजार पाउन नसकेपछि खेती गर्न छाडियो ।”
जोरैयामा मात्रै ताराबहादुर थापाको अध्यक्षतामा १८ जना मेन्थाखेती गर्ने किसानले समूह बनाएर सुगन्धित तेल उत्पादन गर्दै आएका थिए । परियोजना सकिएपछि समूहले तेल उत्पादन र बिक्री वितरण गर्न नसकेपछि किसानले घाटा व्यहोर्नुपरेको उनको भनाइ छ ।
मेहनत गरेर उत्पादन गरेको मेन्थाबाट तेल प्रशोधन गरी नेपालगञ्ज पुर्याउँदा मूल्य सुनिश्चित नहुने र बजारसमेत नपाउने भएपछि किसानले चार–पाँच वर्षमै मेन्थाखेती गर्न छाडेको स्थानीय अगुवा लालबहादुर थापाले बताए । परियोजना सञ्चालन हुँदा फत्तेपुरमा मात्रै ८० बिघा जमिनमा मेन्थाखेती विस्तार भएको थियो ।
फत्तेपुरलाई मेन्थाखेतीको पकेट क्षेत्र बनाउने भन्दै किसानले खेती बढाउन जडीबुटी उत्पादन समूहसमेत गठन गरेका थिए । गहुँ–मसुरो भित्र्याएपछि खाली जमिनमा मेन्थाखेती गरिन्छ । मेन्थाका लागि पानी आवश्यक परे पनि स्याहारसुसार त्यति धेरै गर्नु नपर्ने फत्तेपुर सर्राका किसान रामगोपाल मौर्यले बताए ।
पशु चौपायाले मेन्था नखाने भएकाले पनि गर्मीमा खेती उपयुक्त भए पनि मेन्थाबाट प्रशोधित तेलले बजार र मूल्य नपाएपछि आफूहरूले खेती गर्न छाडेको उनको भनाइ छ । युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत सुगन्धित तेल प्रशोधन केन्द्र स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण