बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी प्रकरण

सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग

दीपेश पुनसँग ४ लाख धरौटी माग
शुक्रबार, ०७ वैशाख २०८१, १४ : ५२
शुक्रबार, ०७ वैशाख २०८१

बुटवल । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले ६ जनासँग धरौटी माग गरेको छ । रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

न्यायाधीश डा दीपक उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसँग ४ लाख धरौटी माग गरेको छ । यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ । उक्त धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन् । 

यस्तै ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो । ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो । सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । 

उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । सोही रकम बराबरको बिगो कायम गरेर अदालतमा मुद्दा लगिएको थियो । उक्त सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेले समेत लोन लिएको पाइएको छ । तर, उनलाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको थिएन । प्रहरीले यो प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो भने दुई जना यसअघि नै सूर्य दर्शन सरकारी घोटाला प्रकरणमा पक्राउ परेर कारागारमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप