सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन राजमार्ग : रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु

आइतबार, ०९ वैशाख २०८१, १६ : ३१
आइतबार, ०९ वैशाख २०८१

झापा । पूर्व–पश्चिम एसियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ । एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकडभिट्टा–सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिए ।

उनका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउन्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कल्भर्ट बनाउने काम धमाधम भइरहेको छ  सडक किनारमा रहेका चार हजार सात सय ३० रुखमध्ये तीन हजार छ सय  रुखसमेत कटान गरिसकिएको छ ।

दुई लेनको सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप निर्माण सुरु गरिएको एसियन राजमार्गको सो सडक खण्डमा एक सय ४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने जानकारी दिए ।

एसियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले तीव्र रूपमा काम गरिरहेको छ । 

“काम तीव्र रूपमा भइरहेको छ”, उनले भने, “रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कल्भर्टको काम पनि द्रुतगतिमा भइरहेको छ ।” 

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिठ्ठदेखि केर्खासम्मको सडक करिब रु १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताए । 

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्ण रुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाटस्थल मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने जनअपेक्षा रहेको छ । 

उनले एसियन हाइवेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिए । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । काँकरभिठ्ठ–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप