शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका कम्युनिस्टहरू नवसामन्तवादीमा परिणत भए : नेता महर

सोमबार, १० वैशाख २०८१, १९ : १५
सोमबार, १० वैशाख २०८१

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालका कम्युनिस्टहरूमा पनि सर्वहारा चरित्र हराएर नवसामन्तवादी चरित्र मौलाउँदै गएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले नेपालगञ्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७५ वर्षे इतिहासमा नेपालको कम्युनिस्ट आन्दोलन लोकतन्त्रको सतमार्ग समात्न नसकेर राजनैतिक अधिकार विहीन समाजवाद स्थापनाको भ्रमजालमा बाँचेको बताए । उनले वामपन्थमा विश्वास गर्ने र पपुलिजमका अनुयायी यी दुवै कस्मेटिकमा बढी विश्वास गर्ने भएकाले यिनीहरू लोकतान्त्रिक व्यवस्थाप्रति अझैपनि पूर्णरुपले प्रतिबद्ध हुन नसकेको बताए ।  

नेता महर कम्युनिस्टहरूमा सत्ता र शक्तिको दुरुपयोग गरेर देशलाई खोक्रो बनाउने प्रवृत्ति बढ्दै गएको आरोप लगाए । उनले भने, ‘कांग्रेसले केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारलाई सत्ता सुम्पिदा मुलुकको ऋण भार ६ खर्बमात्र थियो । केपी शर्मा ओलीले सत्ताबाट बाहिरिँदा भने ऋण बढेर १६ खर्बको हाराहारीमा पुग्यो । त्यसपछि पुनः कांग्रेसले सत्ताको बागडोर सम्हालेर देशलाई एउटा गतिमा ल्याउन खोजिरहेको थियो । पुष्पकमल दाहाल प्रचण्डको कपटपूर्ण र धोकेबाज चरित्रले अवस्था फेरियो । पुनः कम्युनिस्टहरू एक ठाउँमा आएर सत्ताको चरम दुरुपयोग गरेर देशको दोहन गर्न खोजिरहेका छन् ।’ 

नेता महरले सरकारमात्र नभएर कतिपय कुरामा कांग्रेस पनि सच्चिनुपर्ने बताए । उनले कांग्रेसभित्रै केही व्यक्तिमा कहिले एमाले र कहिले माओवादीसँग लहसिने प्रवृत्ति देखिएकाले त्यसको अन्त्य गरिनुपर्ने औँल्याए । उनले कांग्रेसलाई कसैको सहारामा भन्दा पनि आफ्नै बलमा उभिन सक्ने बलियो लोकतान्त्रिक दल बनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप