शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’

गुगल म्याप सेट गरेर सहकारी पत्ता लगाउने र  निगरानी गरेर चोरी, ६ महिनाको अनुसन्धानपछि पक्राउ
मङ्गलबार, ११ वैशाख २०८१, १४ : ०४
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । मोरङ र झापामा शृङ्खलाबद्ध सहकारी चोरी भइरहन्थ्यो । ६ महिनादेखि लगातार चोरी भएको घटना पत्ता नलाग्दा अनुसन्धान अधिकृतहरू हैरान थिए ।

६ महिनाको प्रयासपछि चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा ६ जना आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले रातोपाटीलाई बताए । पक्राउ गरेपछि थाहा भयो उनीहरू मकवानपुरको फाखेलबाट गएर पूर्वमा चोरी आतंक मच्चाउँदै आएका रहेछन् ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै टार्गेट गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । झापाका एसपी मिलन केसी भन्छन्, ‘गुगल म्याप सेट गरेर सहकारी पत्ता लगाउने र  सर्भिलेन्स (निगरानी) गरेर चोर्ने सो समूहको अपराध प्रकृति देखिन्छ ।’

सहकारीमा गएर साँझपख सर्भिलेन्स गर्ने र राति चोरेपछि उनीहरू फाखेल फर्किन्थे । समूह बनाएर जिम्मेवारी बाँडफाँड गरेर नै उनीहरूले चोर्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । झापा जिल्लामा उनीहरूले अहिलेसम्म १३ वटा सहकारी चोरी गरेको भेटिएको छ । १३ वटा सहकारीबाट ३० लाख १६ हजार चोरी भएको डीएसपी चन्दले जानकारी दिए ।

अनुसन्धानबाट उनीहरू सुनसरी पुगेको सुराक पाएपछि झापा प्रहरीले आरोपीहरूलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ‘फाखेल समूह’का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्त बहादुर स्याङतान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङतान, २८ वर्षका अजय राना मगर र  २६ वर्षीय सुजन स्याङ्तान छन् । उनीहरूलाई वैशाख ७ मा पक्राउ गरेर झापा प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

मंसिर २६ मा उनीहरूले दमकस्थित कावेली साना किसान सहकारीमा चोरीको प्रयास गरे तर, चोर्न सकेनन् । चोरेपछि सिसिटीभीको डिभिआर समेत नष्ट गरेर हिँड्थे । सहकारीको सर्भिलेन्स गर्ने, गार्ड बस्ने र भित्र चोर्न छिर्ने सहित उनीहरूले ३ वटा टिम बनाएर चोर्ने गरेका थिए । ह्यामर तथा अन्य औजारको प्रयोग गरेर चोरी गर्ने गरेको डीएसपी चन्दले बताए । चन्दले भने, ‘अर्को ठाउँमा चोरी गर्न फाखेलबाट पुनः इटहरी गएको बेला आरोपीहरू इटहरी उपमहानगरपालिका–६ स्थित न्यु विशाल होटेल एन्ड गेस्ट हाउसबाट पक्राउ परेका हुन् ।’ 

फाखेलका ग्रुपले झापाको हाल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्था फोडेर साढे ३ लाख, हाल्दिबारी–४ को जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्र एकै पटक चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ ।

झापाको गौरादह–५ मा एकै रातमा ३ वटा सहकारीबाट ६ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको चोरी गरेको भेटिएको छ । उनीहरूले जनहित साकोसबाट ५ लाख, महारानी साकोसबाट ८५ हजार र साना किसान सहकारीबाट ५४ हजार चोरी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

गौरादह वडा नम्बर–९ स्थित बैगुनधरामा संचालित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र कचनकवल गाउँपालिका–२ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र भद्रपुर–३ स्थित किचकवध बचत तथा ऋण  सहकारी संस्थामा उनीहरूले चोरी प्रयास गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

चोर्नका लागी प्रयोग गरिएको दशीका सामान प्रहरीले बरामद गरेको छ । आरोपीहरूले राति १२ बजेदेखि २ बजेको बिचमा सहकारी फुटाउने गरेको पाइएको डीएसपी चन्दले बताए । उनले भने, ‘धेरैजसो मंगलबार, बिहीबार र शुक्रवार उनीहरू सहकारीमा चोर्न जाने गरेको देखिन्छ । चोर्न जाँदा मास्क र टोपी लगाएर छिर्ने गरेको सिसिटभी फुटेजमा देखिएको छ । 

आरोपीहरूले मोरङमा पनि सहकारीबाट रकम चोरेको भेटिएको छ । मोरङको बेलबारी–१० स्थित नारायण चोकस्थित झलझली बचत तथा ऋण सहकारीको गेट र झ्याल फुटाएर ३५ हजार, बेलबारी–३ सहकारीमार्गको जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लालीलगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा उनीहरूले चोरी प्रयास गरेको भेटिएको छ । गत १२ पुसमा कानेपोखरी–७ स्थित जनमुखी बचत तथा ऋण सहकारीबाट उनीहरूले ४ लाख १४ हजार चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

गत २९ माघमा कानेपोखरी–६ स्थित आदर्श बचत तथा ऋण सहकारीबाट ९३ हजार र फागुन पहिलो साता पथरीशनिश्चरे–८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारीबाट ४ लाख ७६ हजार चोरी भएको थियो । सो चोरीमा फाखेल ग्रुपकै संलग्नता रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । सो समूहले भोजपुरमा पनि सहकारी चोरी गरेको डीएसपी चन्दले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप