शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण

‘उपनिर्वाचन मिनी जनमतसंग्रह, घण्टीभन्दा मुढा चुनौती’
शनिबार, ०८ वैशाख २०८१, १२ : २२
शनिबार, ०८ वैशाख २०८१

इलाम । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको माहौल तातिएको छ । निर्वाचन क्षेत्र अन्तर्गत पर्ने हरेक गाउँ, टोल र बजारमा मत मागेका ठुला ठुला साउण्ड सिस्टमहरु ओहोरदोहोर गरिरहेका छन् । 

इलामको मुख्य चोक बजारका घर तथा पसलहरूमा झण्डाका दोहोरिलत्ता देखिएका छन् । निर्वाचनमा प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी डकेन्द्रसिंह थेगिमको चर्चा धेरै सुनिन्छ । चुनाव चिन्ह मुढा लिएर पहिलो पटक चुनावमा होमिएका पहिचानवादी थेगिमको प्रचार आक्रामक भइरहेको स्थानीयहरू बताउँछन् ।

चुनाव प्रचारकै लागि आ–आफ्ना उम्मेदवार जिताउन एमाले, कांग्रेस, रास्वपाका शीर्ष नेताहरू जिल्ला केन्द्रित देखिन्छन् । गत बुधबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाममा आएर भाषण गरेका थिए । यस्तै कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि चुनाव प्रचारका लागि इलाम आइपुगेका छन् । उता, रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरू इलाममै छन् । 

घण्टीभन्दा मुढा चुनौती : प्रसाईं
यसैबिच कांग्रेस नेता तथा पूर्वसांसद बेनुप प्रसाईंले इलामको निर्वाचन मिनी जनमतसङ्ग्रह भएको दाबी गरेका छन् । कुराकानीका क्रममा उनले इलाममा निर्वाचनमा कांग्रेस पराजय भए गठबन्धन गरेर जानुपर्छ भन्नेहरू हाबी हुने बताएका हुन् ।

‘यसपटकको महासमितिको बैठकमा दुईवटा कुरा आए । पहिलो कुरा आफ्नो विचार लिएर एक्लै हिंड्नुपर्छ भन्ने हो । त्यसले कांग्रेस पनि एकताबद्ध भयो । अर्को जनयुद्धको विषयलाई हेर्ने कुरामा कांग्रेस स्पष्ट भएर आयो । त्यसकारण यो चुनाव नेपाली कांग्रेसको निमित्त जनमत सङ्ग्रह हो,’ प्रसाईंले भने, ‘हिजो गठबन्धन गर्नुहुँदैन भन्ने आवाज महासमितिमा पनि थियो । अहिले हामी हार्‍यौँ भने गठबन्धन गर्नुपर्छ भन्नेहरूको आवाज दह्रो हुन्छ । त्यसकारण हामी जसरी पनि जित्नुछ जित्छौँ ।’

उनले इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘चमत्कार’ गर्न चुनौती भएको दाबी गरे । यद्यपि मुढा चुनाव चिन्ह लिएर उठेको पहिचानवादी डकेन्द्रसिंह थेगिम भने सबै उम्मेदवारका लागि खतरा रहेको उनले बताए । 

‘अर्को कुरा इलामको स्थितिमा जनमत सङ्ग्रह किन भनेको हो भने जसले, जतिसुकै भनेपनि चितवनको कुरा गरेपनि, तनहुँको कुरा गरेपनि यहाँ २ वटा कारणले घण्टीलाई गाह्रो छ । एउटा कारण के हो भने यहाँको मानिसहरू त्यति साह्रो विचारमा परिवर्तन गरिराख्ने खालको छैनन्,’ उनले भने, ‘मलाई लागेको अहिलेको खतरा भनेको मुढा हो । मुढाले पनि जित्छ भनेर खतरा भनेको चाहिँ होइन ।’ 

Ilam bare news (7)

उनले थप विश्लेषण गर्दै राई, तामाङ, मगरको मत पहिलेकै जस्तो झर्ने दाबी गरे । ‘त्यहाँभित्र (लिम्बु समुदाय)रहेका जो एमाले छन् तिनीहरूले एमालेलाई नै भोट दिन्छन् । जो कांग्रेसमा छन्, उनीहरू कांग्रेसमै रहन्छन् । अहिलेको परिस्थितिमा हेर्दा त्यो समुदायको २५ हजारजति भोट खस्ला । त्यो त्यतिधेरै डिभाइड नहोला । तर, हिलोमा माछा मार्नेहरूको प्रयत्न धेरै भएको छ,’ उनले खतराबारे थप व्याख्या गर्दै भने, ‘जातीय द्वन्द्व बढाउने खालको अवस्था आउने देखिन्छ । यहाँ जातीय द्वन्द्व फैलाउने प्रयत्न हुन्छ कि भन्ने आशङ्का छ । एक जनाको भाषणमा मैले सुने ‘जितेँ भने ठिकै छ जितिएन भने हेरौँला’ भन्ने । त्यसैले इलामलाई यो कुराले चिन्तित गराएको छ । यो भ्वाइस इलामको पहिचानलाई भत्काउन, यहाँको जातीलाई विखण्डन गराउन आएको हो कि भन्ने चिन्ता मलाई लागेको छ । त्यस अर्थमा यो जनमत सङ्ग्रह जस्तै हो ।’ 

उनले इलाम एमालेको गढ प्राविधिक हिसाबले मात्रै भएको बताए । ‘इलाम भनेको नेपाली कांग्रेसको गढ हो । प्राविधिक रूपमा भन्ने हो भने एमालेकै किल्ला हो भन्न पनि मिल्ला । तर, राष्ट्रिय पञ्चायतको चुनाव हुँदा ४३ सालमा मैले डबल मतले जितेको हुँ,’ उनले सुनाए, ‘त्यसबेला वामपन्थी उम्मेदवार नवल केबीको ९ हजार भोट आउँदा मेरो १८ हजार भोट आएको हो । त्यसकारण यो कांग्रेसकै गढ हो । ५१ सालमा केबी गुरुङले जित्नु भएको हो ।’

उनले त्यसपछि कांग्रेसले नजित्नुमा उम्मेदवार छनौटमा समस्या भएको बताए । ‘त्यस्तै कतिपय बाध्यताहरूले गर्दा एमालेले जितेको हो । यसअघिको निर्वाचनमा पनि डम्बर खड्काले प्राविधिक कारणले मात्रै नजितेको हो,’ उनले भने, ‘यसपटकको निर्वाचनमा चाहिँ तर्कका साथ भन्ने हो भने यो टुक्रे चुनावमा जुन व्यक्तिलाई यसअघि टिकट दिइएको थियो । अहिले पनि त्यही आधारमा दिनु एकदमै सही छ ।’ २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा विजयी भएका संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

Ilam bare news (8)

२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । कांग्रेसका उम्मेदवार खड्काले २०७९ सालमा माओवादी, नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेका थिए । यसपटक केन्द्रमा गठबन्धन फेरबदल भएसँगै इलामको निर्वाचनमा कुन कुन पार्टीबिच सहकार्य होला वा एक्ला एक्लै लड्लान् भन्ने विषय स्पष्ट भने भइसकेको छैन ।

Ilam bare news (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप