शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२ को उपनिर्वाचन : रविको ‘सहकारी’ मिलनलाई भारी

सोमबार, १० वैशाख २०८१, १९ : २५

इलाम । एक वर्ष अघि प्रतिनिधि सभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदा दुई वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजी मारेको थियो । यही वैशाख १५ मा प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा पनि स्वाभाविक रूपमा रास्वपाप्रति चासो बढाएको छ ।

विगतमा एमाले र कांग्रेसबिच हुने जितको होडबाजीमा रास्वपाको प्रवेशले इलामको चुनावी मानकलाई बदलेको छ । ३२ वर्षीय युवा उम्मेदवार बोकेर मुलुकको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने इलामको गाउँबस्तीमा छन् ।

०४८ सालमा इलामको माङ्सेबुङ गाउँपालिका–२ मा जन्मिएका मिलन लिम्बू आदिवासी पत्रकारहरूको संस्था फोनिजका महासचिव थिए । उनी पत्रकारिताको सुरुवातदेखि नै माओवादी निकट पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपालमा आबद्ध रहे । सेन्टरको केन्द्रीय सचिवबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका उनी अहिले रास्वपाको ‘घण्टी’ बोकेर चुनावी मैदानमा छन् । २०७९ को आम चुनावमा अनपेक्षित रूपमा २० सांसदसहित उदाएको रास्वपाप्रति नागरिकको आकर्षण छ ।

त्यसको पुष्टि २०८० वैशाख १० गते तनहुँ १ मा भएको उपचुनावी परिणाम पनि हो । कांग्रेस परित्याग गरी रास्वपाबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेले तनहुँ–१ को उपचुनावमा अप्रत्यासित जित हात पारेका थिए । पहिचानको मुद्दा प्रखर भएको इलाममा रास्वपाको पोजिसन कस्तो होला भन्ने देशैभरि चासो छ । विगतको अङ्कगणित हेर्दा इलाममा रास्वपाले ०७९ को निर्वाचनमा १ हजार ३८० मतमात्रै ल्याएको थियो । तर, समानुपातिकमा भने रास्पवाले ४ हजार ६८६ मत प्राप्त गरेको थियो ।

milan limbu

२०७९ मा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले पार्टीलाई आएको समानुपातिक मतसमेत आफ्नो पक्षमा पार्न सकेका थिएनन् । रास्वपाको मत गाउँमा भन्दा सहरी क्षेत्रमा बढी देखिन्छ । इलाम–२ मा पर्ने इलाम नगरपालिकाका मतदातालाई रास्वपाले कति प्रभाव पार्न सक्छ, उसको सफलता त्यसमा निर्भर रहनेछ ।

त्यसपछि बढी मतदाता रहेको देउमाई नगरपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडाबाट रास्वपाले राम्रो मतको आशा राखेको छ । माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा एमाले, कांग्रेस र पहिचानवादीको दबदबा छ । उनीहरूको मन बदल्न सहरमा भन्दा गाह्रो देखिएको रास्वपाका सभापति लामिछाने बताउँछन् ।

इलाम–२ बाट एमालेका सुवास नेम्वाङ लगातार ५ पटक निर्वाचित भएका थिए । नेम्वाङका छोरा सुहाङ अहिले एमालेको उम्मेदवार छन् । ३४ वर्षीय सुहाङलाई युवापुस्ताको साथ र पिताको निधनपछि सहानुभूतिको मत दुवै छ । रास्वपाका मिलनसँग इलाममा सुहाङलाई ‘क्रस’ गर्न खास अस्त्र छैन । सुहाङलाई सघाएको माओवादीको मत तान्न भने मिलनलाई पृष्ठभूमिको सहजता छ । माओवादीको ५ हजार मतमा केही मत पाउने मिलनको विश्वास छ ।

‘माओवादी र पहिचानवादी साथीहरूले पनि मत दिनुहुनेछ । किनभने मैले यी दुवै आन्दोलनको पक्षमा काम गरेको छु,’ मिलन भन्छन् ।

तर, इलामका स्थायी शक्ति एमाले र कांग्रेसको हल्लिएको मतलाई बटुल्न पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रास्वपाका लागि मुख्य चुनौती बनेर अगाडि आएका छन् ।  

milan

डकेन्द्रलाई जनमुक्ति पार्टी, जसपा र संघीय लिम्बूवानको समेत समर्थन छ । किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा लगायतले पनि आफूलाई सघाउने डकेन्द्रको दाबी छ ।

यो स्थितिमा इलाम–२ को मत कांग्रेस, एमाले, पहिचानवादी र रास्वपामा बाँडिने छ । कांग्रेस, एमालेको असन्तुष्ट मत पनि मिलन र डकेन्द्र दुईतिर बाँडिँदाको फाइदा एमाले वा कांग्रेसलाई नै हुने धेरैको आकलन छ ।

नेताहरूको दौडधूप हेर्दा मिलनलाई जिताएर २०८४ ‘हाम्रो हो’ भन्ने सन्देशको शङ्खघोष गर्न रास्वपा मरिमेटी गरिरहेको छ । तर, रास्वपाको लयमा मिलनको भाका मिलिरहेको देखिँदैन । इलामको माटोमा जन्मिएको र यहाँको भूगोल बुझेको भनेर उनी मत मागिरहेका छन् । जनता पुराना दलबाट निराश भएर नयाँ जोस भएको उम्मेदवारको खोजीमा रहेको उनको तर्क छ ।

घरदैलोमा जनताबाट साथ र माया पाएको अनुभूति बताउने मिलन आधारभूत वर्गका जनताको साथ रहेको सुनाउँछन् । पुराना पार्टीहरूले केही काम गरेनन् भन्ने जनगुनासो मतमार्फत रास्वपामा प्रकट हुने उनको विश्वास छ । इलाम–२ का विभिन्न बस्तीमा पुग्दा रास्वपाको विश्वासमा ब्रेक लागेको पाइन्छ ।

गत फागुन २१ मा फेरिएको समीकरण अनुसार रास्वपा सत्तामा गएको नागरिकलाई मन परेको छैन । रातोपाटीसँगको कुराकानीमा रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारमा जाँदा नागरिक रिसाएको स्वीकारे । ‘उहाँहरू (केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’) सँगको फोटो देखे पनि मान्छेहरू मन पराइरहेका छैनन् । यो हामीले बुझेका छौँ,’ उनी भन्छन्, ‘खराब कुरा हुन नदिन सरकारमा गएका हौँ । तर नागरिकलाई यो कुरा बुझाउन सकिएको छैन ।’

raswapa

चुनावी दौरानमा सरकारमा सहभागी हुँदाको असहजताले सोचेजति माहोल तताउन नसकेको लामिछानेको बुझाइ छ । सभापति लामिछाने मुछिएको सहकारी प्रकरणले पनि इलाममा मिलनलाई बाधा पुर्याएको देखिन्छ । इलाममा चुनावी मुद्दाभन्दा सहकारी मुद्दा हावी भएको लामिछानेले बताए ।

‘यहाँ आजका दिनसम्म चुनावी मुद्दाभन्दा राष्ट्रिय मुद्दा हावी भएको देख्छु । त्यसले चुनावी माहोल गर्माएको छैन । सहकारीको विषय राष्ट्रिय मुद्दा बनेर अगाडि आउँदा चुनावमा पनि त्यही कुरा हावी भएको छ । आज–भोलिबाट चुनावी माहोल बन्छ कि,’ लामिछानेको आशा छ ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले इलाम बजार केन्द्रित भएर मिलनका लागि मत मागिराख्दा पनि सहकारीको विषय जबरजस्त उठेको देखियो । आइतबार बिहान रातोपाटी टोली स्वर्णिमसँग हिँड्दा मतदाताले सहकारीको प्रश्न उठाएको सुनियो । सहकारीको विषय छिनोफानो गरेर मत माग्न आएको भए रास्वपालाई मत दिन सजिलो हुने मतदाताको आशय थियो ।

rrr

जवाफमा स्वर्णिमले छानबिनका लागि सभापति लामिछाने तयार रहेको बताइरहेका थिए । ‘सभापतिले दोषी भए जस्तो कारबाही भोग्न पनि तयार छु भनिराख्नु भएको छ । ३४ वर्ष देश लुटेकाहरू रवि लामिछाने आएपछि सबै खत्तम भयो भनिरहेका छन् । उहाँ खराब होइन, खराब पात्रको सङ्गत मात्र गरेको भेटिएको छ,’ उनको प्रस्टोक्ति थियो । पार्टी नेतृत्वमाथि नै प्रश्न उठेको भन्दै ती मतदाता वाग्लेको जवाफमा सहमत भएनन् ।

वाग्ले केही आक्रोशित सुनिँदै पार्टीको नेतृत्व रवि लामिछाने मात्रै नभएको बताउँछन् । ‘नेतृत्व भन्ने उहाँमात्रै होइन । म पार्टीको उपसभापति हुँ । महामन्त्री मुकुल ढकाल हुनुहुन्छ, सुमना श्रेष्ठ हुनहुन्छ । हामी पनि रास्वपाको नेतृत्व नै हौँ । यसलाई यसरी बुझिदिनुस्,’ यति भनेर वाग्ले हिँडे ।

‘हाम्रो उम्मेदवारलाई घण्टी भोट हालेर जिताइ दिनुहोला’ भन्दै उनी घरदैलोमा अगाडि बढे । सहकारीको मुद्दा पेचिलो ढङ्गले ठाउँमा उठेपछि स्वर्णिमले मतदातासँग गफिएर मत माग्ने शैली बदले ।

कांग्रेस महामन्त्री गगन थापाले शनिबारको खुला सभामा रवि लामिछाने जोडिएको सहकारीको मुद्दा उठाएपछि बजारमा रास्वपाको माहोल केही बिग्रिएको देखिन्छ ।

रास्वपाका उम्मेदवार मिलनको सम्पर्क कार्यालयमा पनि शनिबार साँझ महामन्त्री मुकुल ढकालसहितका नेता विपक्षीले बनाएको सहकारीको विषयलाई चिर्ने रणनीति बनाइरहेका थिए ।

सहकारीको मुद्दाले लपेटिरहेको रास्वपाले उम्मेदवार छनोटमा पनि कमजोरी गरेको इलाम–२ मा चर्चा छ । कांग्रेस र एमालेलाई ‘ओभरल्याप’ गर्ने गरी चुनावी माहोल नबनेपछि उम्मेदवार छनोटमा कमजोरी भएको रास्वपाको नेताहरूको निष्कर्ष छ । इलाम–२ मा मिलनभन्दा रास्वपा केन्द्रीय सदस्य रमेश प्रसाईको पक्षमा माहोल राम्रो छ ।

रास्वपाले उम्मेदवारी छनोटमा कमजोरी गर्दा कांग्रेस र एमालेलाई केही सहज भएको महेन्द्ररत्न क्याम्पस, इलामका सहप्राध्यापक दिपेन्द्र दुलालको विश्लेषण छ । इलाम बजार क्षेत्रमा कांग्रेससँग असन्तुष्ट मान्छेले रास्वपालाई मत दिन चाहे पनि उम्मेदवारका कारण अलमलमा देखिएको उनको बुझाइ छ ।

ilam2

रास्वपाले पहिचानबारे पनि प्रश्नै प्रश्न सामना गरिराख्नु परेको छ । ग्रामीण क्षेत्रका मतदाताले रास्वपाको विकासको खाकाभन्दा पहिचानको स्पस्ट भाका खोजेका छन् । प्रदेशको निर्वाचन बहिस्कार गरेको रास्वपाले पहिचानको पक्षमा रहेको बताए पनि मतदाता सहमत छैनन् ।

सहकारी प्रकरणले बिग्रिएको रविको छवि र पहिचानको मद्दामा अलमलले रास्वपालाई चुनावी मैदानमा हैरानी पारेको छ । सहकारी र पहिचानको मुद्दामा कांग्रेस र पहिचानवादी उम्मेदवार थेगिमको प्रहारलाई रास्वपाको चुनावी दौडलाई ठाउँठाउँमा ब्रेक लगाइदिएको छ । पार्टीको मत रोक्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको सुसुप्त रणनीति रास्वपाको टाउको दुखाइको विषय बनेको छ ।

इलाम–२ का चुनावी कमाण्डरसमेत रहेका शर्मा इलाम बजार क्षेत्रको कांग्रेस मत जोगाउन आन्तरिक रणनीतिमा व्यस्त छन् । उम्मेदवार डम्बर खड्कासँगको घरदैलोभन्दा शर्माले बजार क्षेत्रमा आन्तरिक भेटघाटलाई प्राथमिकता दिएको पाइन्छ । रास्वपाले त्यसको काउन्टरमा उपसभापति वाग्लेलाई खटाए पनि मतदाताको मन बदल्न सकिराखेका छैनन् । नयाँ भूगोल र पार्टीको स्थानीय संरचना नहुँदा कांग्रेस र एमालेको असन्तुष्ट मतमा खेल्न रास्वपालाई कठिनाइ भएको बुझ्न सकिन्छ ।

वैशाख १५ गतेसम्म रास्वपाले कांग्रेस र एमालेको असन्तुष्ट मत बटुल्न बनाउने रणनीतिले इलाम–२ को निर्वाचन परिणाम तय गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप
लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप