सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम उपनिर्वाचन : डम्बरलाई ‘डम्बर’कै डर

आइतबार, ०९ वैशाख २०८१, ०९ : २८

इलाम । इलाम–२ उपनिर्वाचनको प्रचारप्रसारको मध्यान्तर पार भइसकेको छ । वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ । एकै दिन दर्जनौँ कार्यक्रम र भेटघाट गर्नुपर्ने दबाबमा छन् उम्मेदवारहरू । चुनाव प्रचारका लागि उनीहरूसँग अब चार दिनमात्रै समय छ ।

उम्मेदवारको आक्रामक प्रचारसँगै मतदाताले पनि बिस्तारै कित्ता क्लियर गर्न थालेका छन् । उम्मेदवारका प्रचारशैली, विगतको परिवेश, व्यक्तिगत कारण, पार्टीहरूको आन्तरिक एकता, प्रचारमा प्रविधिको उपयोग पनि उत्कर्षतिर पुग्दैछ । चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरू उद्यत छन् ।

इलाम–२ को विगत हेर्ने हो भने यहाँ नेकपा एमाले र नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी रहँदै आएका छन् । यसपटक पनि यिनै दुई पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।

यद्यपि कांग्रेसबाट टिकट पाएका डम्बर खड्का आफ्नै कारणले समस्यामा पर्ने पो हुन् कि भन्ने संशय पनि देखिएको छ । विगतमा एमालेका ‘हेभीवेट’ उम्मेदवार सुवास नेम्वाङका कारण निर्वाचनमा दबाब महसुस गर्ने खड्का यसपटक भने फुक्काफाल जस्तै छन् । किनकि उनको प्रतिस्पर्धी भनिएका एमाले उम्मेदवार सुहाङ नेम्वाङले यहाँको राजनीतिका लागि आफ्ना बुबा सुवास नेम्वाङको ब्राण्ड बोके पनि चुनावी राजनीतिको कखरा जानिसकेका छैनन् । अन्य प्रतिस्पर्धी पनि नयाँ र राजनीति सिक्दै गरेकाहरू छन् ।

अर्कोतर्फ पटकपटकको पराजयले चेतेका खड्का आफ्नो कमजोरी र पार्टीभित्रको अन्तरविरोधमा अरु पार्टीहरूले खेल्नसक्ने ‘लुप होल’बारे चनाखो छन् । आर्थिक व्यवस्थापनमा उनी अब्बल छन् । उनलाई चिन्ने–जान्ने सबै पैसा मनग्ये खर्च गर्नसक्ने नेता भएको दाबी गर्छन् । यद्यपि यस पटक उनले चुनाव खर्चलाई मितव्ययी बनाउने तथा प्रचार प्रसारको टोली चुस्त दुरुस्त बनाउने प्रयास गरेका छन् । ‘विगतमा जस्तो यस पटक प्रचारमा भद्रगोल देखिएको छैन,’ खड्काको प्रचारमा खटिएका सञ्चारकर्मी सोम सुसेलीले भने ।

चुनावको प्रचार शैली सकारात्मक ढङ्गले अगाडि बढेको कांग्रेसकै नेतृ प्रेमिका राना मगर बताउँछिन् । खड्काको प्रचारकै लागि लालिगुराँस डटकम युट्युव च्यानलले मनग्य मेहनत गरिरहेको छ । प्रचारकै लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई र रास्वपाका रवि लामिछानेलाई सहयोग गरेको टिम पनि खड्काले साथमा लिएका छन् ।

यस्तै खड्काले यस पटक एमालेभित्रको अन्तरविरोधमा खेल्न खोजेको देखिएको छ । उनले आफ्नो प्रचारप्रसारमा ‘राजाको छोरा राजा’ हुनेजस्तो गरी एमालेले उम्मेदवार उठाएको भनेर व्यङ्ग्य कसिरहेका छन् ।

SUHANG ra Dambar (4)

इलाममा शनिबार आयोजित चुनावी समारोहमा सहभागी कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि सबैजसो नेताले यही विषयलाई मुद्दा बनाए । एमाले नेता बुद्धि खनाल, रविन्द्र सुवेदीलगायतका नेता सुहाङलाई एमालेले उम्मेदवार बनाएकोमा असन्तुष्ट देखिन्छन् ।

खड्कालाई सहयोग भइरहेको अर्को कुरा भनेको पार्टीका केन्द्रीय नेताहरूको जबर्जस्त उपस्थिति हो । संस्थापन गुटबाट टिकट पाएका खड्कालाई अर्को गुटमा रहेका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, बेनुप प्रसाई, सरिता प्रसाई र स्थानीय नेता भेषराज आचार्यले पनि सार्वजनिक कार्यक्रममार्फत ‘होस्टेमा हैँसे’ गरिरहेका देखिन्छन् । यद्यपि कार्यकर्ता तहसम्म उक्त सन्देश गइसकेको छैन ।

यहाँ कांग्रेसमा ६ गुट रहेको महेन्द्र रत्न क्याम्पस इलामका सहप्राध्यापक दिपेन्द्र दुलाल बताउँछन् । ‘कांग्रेस मिल्यौँ भन्छन् तर मतमा मिल्ने अवस्था अहिले नै बनेको देखिँदैन । नेताहरू मिलेको हुनसक्छ । कार्यकर्ताहरू मिलेर चुनावमा होमिएको देखिएको छैन,’ उनले भने ।

उता, कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन संस्कृति अब अन्त्य भएको दाबी गरे । स्थानीय निर्वाचन २०७९ मा माओवादीसँगको चुनावी गठबन्धनदेखि नै फरक मत राख्दै आएको शेखर कोइराला खेमा इलाममा एक्लै चुनाव जिताएर सन्देश दिन चाहन्छ । इलाममा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पनि थापाले चुनाव अगाडि गर्ने गठबन्धनले राजनीतिलाई फोहोरी बनाएको बताउँदै इलामले त्यसलाई तोड्ने बताएका थिए ।

Dambar (2)

‘चुनावको अगाडि गठबन्धन जनताको लागि धोका हो । मतदाताको स्वतन्त्रताको अपहरण हो । मतदाताको अवमूल्यन हो,’ उनले भने, ‘त्यसैले चुनाव अगाडि गरिने गठबन्धनलाई हाइ–हाइ होइन, बाइ–बाइ गर्नुपर्छ । चुनाव अगाडिको गठबन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ । इलामले सिङ्गो देशलाई गुन लगाउनु पर्छ । नेपाली राजनीतिमा गठबन्धनको संस्कृति केही वर्ष अगाडि सुरु भयो । अब इलामबाट अन्त्य हुन्छ ।’

कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनाव अगाडि गठबन्धन नगरी ०८४ सालमा निर्वाचन लड्नुपर्ने बताएका थिए । यसर्थ पनि संस्थापनबाट टिकट लिएका खड्काले जिते गठबन्धन नगरी जितेको सन्देश जाने र हार्दा गठबन्धन गर्नुपर्छ भन्नेलाई बल पुग्ने भएका कारण कांग्रेसको संस्थापन पक्षभन्दा इतरपक्षका नेताहरू चुनावमा बढी खटिएका छन् । यद्यपि खड्काको उम्मेदवारी सिफारिसको समयमा निर्वाचन क्षेत्रका ४२ वडामध्ये ३७ वडाका कांग्रेस वडा सभापतिले भने भेषराज आचार्यलाई नै टिकट दिनुपर्ने बताएको स्रोत दाबी गर्छ । त्यो सिफारिस विपरीत टिकट लिएर आएका खड्काका लागि उनीहरू स्थानीयस्तरमा नखटे परिणाम फरक पर्नसक्ने विश्लेषण पनि सुनिन्छ ।  

SUHANG ra Dambar (11)

विगतका मत परिणामले भने खड्कालाई यस पटक सहयोग गरेको छ । ४२ वटा वडा रहेको उक्त निर्वाचन क्षेत्रमा २२ वडामा कांग्रेस एक्लैले निर्वाचन जितेको थियो । जसमा इलामको ११ मध्ये ८, देउमाइ नगरपालिकाको ४, चुलाचुलीको ५, फाकफोकथुममा ४ र माइ नगरपालिकाको १ वडामा कांग्रेसले जितेको छ । एमालेले भने उक्त क्षेत्रमा जम्मा १६, माओवादीले २, जनमुक्ति पार्टीले १ र अन्यले १ वडा जितेको छ । कांग्रेसको यो आँकडाले आफूलाई सहज हुने खड्काको विश्वास छ ।

खड्काका लागि ६ वटा गुटको व्यवस्थापन भने चुनौतीपूर्ण देखिन्छ । निर्माण व्यवसायीसमेत रहेका खड्काले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगरेको र अलपत्र आयोजनाको विषयलाई विपक्षीले मसला बनाइरहेका छन् । ‘इलामबाट विर्तामोड जाने बाटो ठेक्कामा लिएर पनि ४ वर्षमा पनि निर्माण सम्पन्न नगरेको आरोप उनीमाथि छ । त्यहाँ काम गर्ने मजदुरहरूलाई पैसा नै नदिएको आरोप पनि छ,’ इलाम–११ का याङ्सु नेम्वाङ भन्छन्, ‘यो बाटो पनि नबनाएर हैरान बनाएको छ ।’

विकास परियोजना अलपत्र पारेको र मजदुरलाई भुक्तानी नदिएको आरोप लगाएर उनीमाथि विपक्षीले चुनाव प्रचारका क्रममा धावा बोल्दैछन् ।

‘ठाडो बोल्ने शैली छ । जो सुकैलाई नगन्ने ठालु शैली पनि देखिएको छ,’ इलामकै एक कांग्रेस कार्यकर्ताले भने, ‘गत निर्वाचनमा पराजय भएपछि मिडियामा आफ्नै कार्यकर्ता विरुद्धमा बोलेका भिडियोहरूले पनि कतिपयको चित्त दुखाएको देखिन्छ ।’ निर्वाचन जित्नका लागि खड्काले आफ्नो बानी बेहोरामा पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पनि कांग्रेसकै मत काट्ने आकलन छ । इलामको बजार क्षेत्र कांग्रेसको गढ मानिन्छ । यही बजार मौन बसिदिँदा र गाउँ–गाउँमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिमको पक्षमा लहर चल्दा कांग्रेसका उम्मेदवार खड्काका लागि अर्को चुनौती थपिएको छ ।

SUHANG ra Dambar (9)

‘इलाममा खुसी भएर कसैलाई पनि मत दिने अवस्था देखिँदैन,’ सहप्राध्यापक सुवेदीले भने, ‘एमालेमा राजाको छोरो राजा हुने भनेजस्तै उम्मेदवार आयो भन्ने छ । त्यसमा धेरै असन्तुष्टि छ । कांग्रेसमा भेषराजलाई दिएको भए धेरै मतले जित्ने अवस्था थियो भन्ने छ । कांग्रेसकाले पनि भोट दिँदा चित्त दुखाएर दिनुपर्ने अवस्था छ । डकेन्द्रसिंह लिम्बूलाई भने त्यो समुदायबाट धक फुकाएर मत दिने अवस्था छ ।’

खड्काका लागि बजार क्षेत्रका ‘एलिट’ वर्गहरूको विश्वास जित्नुपर्ने चुनौती पनि उत्तिकै छ । युवा परिचालन गर्न सक्षम मानिने खड्काले बौद्धिक र मध्यम वर्गीय तप्कालाई भने विश्वासमा लिने प्रयास गरिरहेको कांग्रेसकै नेताहरू बताउँछन् । यसर्थ इलाम–२ को उपनिर्वाचनमा कांग्रेसका डम्बर खड्कालाई उनी आफ्नै कारण जित वा हारको अवस्थामा पुर्याउन सक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप
लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप