सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२ उपनिर्वाचन : एमालेलाई कांग्रेसको एकता र ‘मुढा’को त्रास

बाबुको ‘ब्राण्ड’ले थिचिएका सुहाङ
आइतबार, ०९ वैशाख २०८१, १२ : ०४

इलाम । इलाम–२ लाई वैशाख १५ मा हुने उपचुनावको रौनकले छोपिसकेको छ । दलका १२ र स्वतन्त्र ७ गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि मुख्य प्रतिस्पर्धा चार जनाबिच हुने देखिन्छ ।

नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिं थेगिमको चर्चा नागरिक तहमा बढ्ता छ ।

एकीकृत समाजवादीका जीतबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ पनि दृश्यमा देखिन्छन् । आइतबारसम्म चिया पसल र चौतारामा हुने जित हारको बहसमा जीतबहादुर र लक्ष्मीको नामले स्थान पाएको छैन । इलाम–२ मा बाँकी उम्मेदवारको न प्रचार देखिन्छ, न चर्चा ।

सुहाङको बलियो पक्ष भनेको इलाम–२ मा एमालेको सांगठनिक शक्ति जबरजस्त हुनु हो ।

शनिबार रातोपाटी टोली इलाम बजार र गाउँबस्तीमा पुग्दा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिच हुने सुनियो । यो माहोलका बिच हामीले एमाले उम्मेदवार सुहाङका बलिया र कमजोर पक्ष केलाउने प्रयास गरेका छौँ ।

सुहाङको बलियो पक्ष भनेको इलाम–२ मा एमालेको सांगठनिक शक्ति जबरजस्त हुनु हो । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन सुहाङलाई छ । विगतको अङ्कगणितले इलाम–२ मा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दलका रूपमा स्थापित छन् । गत स्थानीय चुनावमा इलाम–२ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस र एमाले लगभग बराबर अवस्थामा छन् ।

suhang 4

कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, एकीकृत समाजवादीले २७७ र राप्रपाले १३० मत पाएका छन् ।

२०७९ मंसिरको आम चुनावमा इलाम–२ मा समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत आयो भने कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । समानुपातिकतर्फ माओवादीको मत ५ हजार १५३, रास्वपाको मत ४ हजार ६८६, नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टीको १४१३, सङ्घीय लोकतान्त्रिक मञ्चको १३२९, राप्रपाको ११९१, जसपाको ९०६ र नेकपा एकीकृत समाजवादीको ५८६ मत थियो ।

विगतको अङ्कगणितले अगाडि रहेका ३४ वर्षीय सुहाङप्रति युवा पुस्ताको राम्रो आकर्षण देखिन्छ । प्रचार अभियानमा सुहाङलाई फोटो खिच्ने समय मिलाउन भ्याइ–नभ्याइ हुन्छ ।

इलामको संसदीय निर्वाचनमा एमालेको दबदबा देखिन्छ । २०१५ सालमा तत्कालीन इलाम पश्चिमबाट कांग्रेसका गणेशप्रसाद रिजाल र इलाम पूर्वबाट कृष्णबहादुर शाखे निर्वाचित भएका थिए । २०४८ को आमनिर्वाचन इलाम एमालेमय भयो । इलाम–१ बाट एमालेका झलनाथ खनाल र इलाम–२ बाट मणिकुमार लिम्बु निर्वाचित भए ।

२०५१ मा इलाम–१ मा खनाल दोहोरिँदा २ मा कांग्रेसका कुलबहादुर गुरुङ निर्वाचित भए । २०५६ मा इलाममा ३ वटा निर्वाचन क्षेत्र तोकिँदा १ मा कांग्रेसका बेनुप प्रसाईं र ३ मा केशव थापाले जित्दा २ मा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए ।

२०६४ मा इलाम १ मा एमालेका खनाल र २ मा नेम्वाङ निर्वाचित भए भने इलाम–३ मा कांग्रेसका गुरुङले बाजी मारे । २०७० मा गुरुङको ठाउँमा कांग्रेसका थापा निर्वाचित भए भने अन्य दुई क्षेत्रमा उस्तै परिणाम आयो । दुई वटा निर्वाचन क्षेत्र कायम हुँदा २०७४ र ०७९ को निर्वाचनमा कांग्रेस इलाममा निल भयो । अहिले पनि माओवादी केन्द्रको साथ पाएपछि विगतको गणितीय हिसाबमा एमाले अगाडि छ । २०७९ को चुनावमा एमालेका सुवास नेम्वाङसँग कांग्रेसका डम्बर खड्का ११४ मतले पराजित भएका थिए ।

suhang 3

माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाउँदा पनि एमालेको संगठन र सुवासको व्यक्तित्व सामु खड्का पराजित भए । अहिले चुनावी तालमेलले कोल्टे फेरेको छ । यसअघि खड्कालाई सहयोग गरेको माओवादी केन्द्र सुहाङको साथमा छ । आम निर्वाचनमा एमाले र माओवादीले पाएको समानुपातिक मत जोड्दा ३१ हजार ७१५ हुन्छ । यो हिसाबले कांग्रेस करिब साढे ९ हजार मतले पछाडि छ ।

विगतको अङ्कगणितले अगाडि रहेका ३४ वर्षीय सुहाङप्रति युवा पुस्ताको राम्रो आकर्षण देखिन्छ । प्रचार अभियानमा सुहाङलाई फोटो खिच्ने समय मिलाउन भ्याइ–नभ्याइ हुन्छ । एमालेको चुनावी अभियानमा खटिरहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्माले सुहाङप्रति युवाको क्रेज बढ््दै गएको बताए ।

उनले भने, ‘हाम्रो उम्मेदवार त अहिले सेलिब्रेटी भइसक्नुभयो । उहाँप्रति युवा पुस्ताको क्रेज लोभलाग्दो छ । चुनावी अभियानमा फोटो खिच्न भ्याइ–नभ्याइ हुन्छ,’ उनी भन्छन् । सुहाङको शालिनता र शब्द तौलिएर बोल्ने शैलीमा उनकै बुबा स्वर्गीय सुवासको प्रतिविम्ब देखिन्छ । 

सुहाङले काठमाडौँ स्कुल अफ लबाट पाँच वर्षको बीएलएलबी र वाणिज्य कानुनमा एलएलएम गरेका छन् । ‘क्रिमिनल ल’ र ‘संवैधानिक ल’मा ज्ञान भएका सुहाङ राजनीतिको मैदानका सिकारु खेलाडी हुन् ।

काठमाडौँको थापागाउँमा आफ्नै  ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ खोलेका सुहाङको राजनीतिभन्दा खेलकुदमा रुचि थियो । उनले २ वर्ष पहिले इलाममा ‘रिपोर्टिङ इलाम एफसी’ स्थापना गरेका थिए । सुहाङलाई गत फागुन ३० मा मात्र एमालेले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो ।

पार्टीको भूगोल र भ्रातृ संस्थाको राजनीतिबाट टाढा रहेका सुहाङलाई एमालेले एक्कासी चुनावी मैदानमा उतारेको छ । चुनावी मैदानमा उनलाई पार्टीको मजबुत सङ्गठन, बुबाको विरासत र युवाको पुस्ताको दरिलो साथ छ । तर, चुनावी मैदानमा सुहाङ आफ्नै पिता स्वर्गीय सुवासको ब्राण्डले थिचिएको भान हुन्छ ।

suhang 2

इलाम–२ का मतदाताहरूमा सुहाङको परिचय एमाले उम्मेदवारभन्दा सुवासका छोराका रुपमा बढी छ । सुवासको निधन भएको वर्ष दिन नपुग्दै हुन लागेको उपनिर्वाचनमा सुहाङप्रति मतदाताको सहानुभूति पनि छ ।

कोशी प्रदेशमा जनजाति समुदायले उठाएको पहिचानको मुद्दा उत्कर्षमा पुगेका बेला इलाम–२ को उपचुनावका लागि एमालेमा नेतृत्वको अभाव देखिन्छ । पहिचानको विषय चुनावी मुद्दा बन्दा एमालेको डाइभर्ट हुने मत रोक्न जनजाति समुदायबाट एमाले नेतृत्व मैदानमा देखिएको छैन । एमाले स्थायी कमिटी सदस्य शेरधन राई, शिवमाया तुम्बाहाम्फे लगायतका नेताबाट नेतृत्वदायी भूमिका निर्वाह हुन नसकेको एमाले कार्यकर्ताको बुझाइ छ । चुनावी अभियानमै हिँडिरहेका कृष्ण काफ्लेले केन्द्रीय नेताहरूबाट चुनावी माहौल लिड गर्ने कुरामा अभाव देखिएको बताए ।

एमाले चुनावी अभियानमा रहेका कृष्ण काफ्लेका अनुसार एकीकृत समाजवादीले पुराना कम्युनिस्ट नेताहरूलाई फोकस गरेको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नै पार्टीका उम्मेदवार जीतबहादुरलाई जिताउन लागिपरेका छन् ।

‘अहिले इलाम–२ को चुनावी माहौल जटिल छ । केन्द्रीय तहको नेताबाट आशा र भरोसाको जुन अपेक्षा थियो, त्यसमा अभाव देखिएको छ,’ उनी भन्छन् ।

इलाम–२ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिले पहिचानवादीलाई बल पुग्ने कतिपयको बुझाइ छ । ओलीको पहिचानविरोधी छवि चुनावमा सुहाङलाई भारी परिरहेको छ । त्यसमा पनि एमालेको प्रचार शैली फितलो देखिन्छ । मत माग्दा सुहाङले सबै ठाउँमा ‘रेडिमेड’ भाषण गर्छन् । उनी सुरुमा बुबा सुवासलाई विगतमा मत दिएकोमा मतदातालाई धन्यवाद दिन्छन्, त्यसपछि मतदातामा एमाले माओवादीसहितको वर्तमान सरकारबाट विकास र स्थायित्वको आशा जगाउने प्रयत्न गर्छन् ।

अन्तिममा विगतमा बुबाले गरेको कामको प्रचार र अधुरा काम पूरा गर्ने बाचा गरी सुहाङले भाषण टुङ्ग्याउँछन् । प्रतिस्पर्धी उम्मेदवारमाथि कुनै आक्षेप नलगाई उनको नयाँ गन्तव्य तय हुन्छ ।

एमालेको प्रचार अभियान एकदमै सुस्त छ । सुहाङलाई समर्थन गरेका माओवादी केन्द्र, नेकपा र परिवार दलका कार्यकर्ताको उपस्थिति अभियानमा नगण्य छ भने एमालेबाट पनि सम्पूर्ण शक्ति लागिपरेको छैन ।

suhagn 5

एमालेलाई एमाले पृष्ठभूमिका डेकेन्द्रसिं थेगिम र एकीकृत समाजवादीले मत काट्ने डर छ । एमालेको जनमत रहेको माङ्सेबुङ फाकफोकथुम, चुलाचुली माई नगरपालिकाको को ६, ७, ८ नम्बर वडामा थेगिमको मुख्य प्रभाव देखिएको छ । कोशी नामकरण पश्चात सडक सङ्घर्षमा रहेका किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खा सहित ४१ वटा संस्थाको समर्थन डकेन्द्रसिंह थेगिमलाई छ ।

सत्ता साझेदार जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले पनि थेगिमलाई समर्थन गरेका छन् । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईदेखि जनजाति कलाकर्मीको पनि बलियो साथ थेगिमलाई छ ।

एमाले चुनावी अभियानमा रहेका कृष्ण काफ्लेका अनुसार एकीकृत समाजवादीले पुराना कम्युनिस्ट नेताहरूलाई फोकस गरेको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नै पार्टीका उम्मेदवार जीतबहादुरलाई जिताउन लागिपरेका छन् । पुराना कम्युनिस्टदेखि किरात धर्मगुरु आत्मानन्द लिङ्देनलाई विश्वासमा लिने खनालको प्रयत्न देखिन्छ ।

यसको सोझै प्रभाव एमालेमा पर्ने भएकाले यस पटक एमालेले दह्रो तयारी गर्नु परिरहेको काफ्लेको भनाइ छ ।

एमालेलाई पछिल्लो समय कांंग्रेसमा देखिएको एकताको सन्देशले तर्साएको छ । एमाले इलामका अध्यक्ष महेश बस्नेतले कांग्रेसमा एकता देखिनुले चुनौती बढेको बताए । प्रतिस्पर्धी दलहरूले सुवास नेम्वाङको पछिल्लो ४ कार्यकालमा इलाम–२ मा विकास नभएको नारामात्र उठाएका छैनन्, सुहाङलाई वंशवादको मुद्दाले लपेटेको अवस्था छ । मुख्य प्रतिस्पर्धी कांग्रेस र रास्वपाका उम्मेदवारदेखि केन्द्रीय नेतासम्मले सुहाङलाई वंशवादको मुद्दा प्रहार गरेका छन् ।

पार्टीभित्रै पनि सुवास नेम्वाङपछि मौकाको पर्खाइमा रहेका नेताहरू पार्टी नेतृत्वले सुहाङलाई टिकट थमाएकोमा असन्तुष्ट छन् । नेताहरू सार्वजनिक विरोधमा नउत्रिए पनि सुहाङलाई अन्तरआत्माबाट सहयोग नगरेको चर्चा छ । पार्टीको अन्तर्विरोध र रसपूर्ण प्रतिस्पर्धाको मैदानमा सुहाङ खुल्न सकेका छैनन् । पछिल्लो समय मिडिया फेस गर्न पनि सुहाङ असहज ठानिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप
लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप