सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इन्चार्जमा अग्नि सापकोटा आएपछि माओवादी बागमती प्रदेशमा के–के भए गतिविधि ?

शुक्रबार, २८ वैशाख २०८१, १० : ३५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशमा असार १५ गतेसम्म सबै जनवर्गीय सङ्गठनको सम्मेलन गर्ने गरी माओवादी केन्द्रले तयारी तीव्र पारेको छ । फागुन १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । अहिलेसम्म १३ जिल्लाको पूर्ण बैठक सकिएको धादिङमा शुक्रबार बैठक बस्ने इन्चार्ज सापकोटाले बताए । 

‘हामीले १३ जिल्लामध्ये १२ जिल्लाको पूर्ण बैठक सम्पन्न गरेका छौँ । धादिङमा बैठकको लागि आज जाँदै छु । सबै जिल्लाको वडा भेला, सम्मेलन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका काम भइरहेका छन् । असार १५ सम्ममा सबै जनवर्गीय सङ्गठनको सम्मेलन गर्ने तयारी गरिरहेका छौँ’, सापकोटाले भने । 

यसअघि इन्चार्ज रहेका उपमहासचिव जनार्दन शर्माको पालामा तीन महिने रूपान्तरण अभियानकै क्रममा वडा अधिकांश वडामा सम्मेलन सम्पन्न भएको थियो । इन्चार्जमा सापकोटा नियुक्त भएर आएपछि केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन सम्पन्न भइसकेको छ । बागमती प्रदेशका अध्यक्ष सरल  सहयात्री पौडेलले पार्टीको नियमित अभियान जारी रहेको जानकारी दिए । 

‘पार्टीको नियमित अभियानमा हामी छौँ । बागमती प्रदेशको समीक्षा तथा सङ्गठनात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रदेशमा कार्यरत केन्द्रीय कमिटी सदस्य र बागमती प्रदेश कमिटीलाई संयोजन गर्नका लागि संयोजन कमिटी गठन गरेको छ’, पार्टीको गतिविधिबारे जानकारी दिँदै अध्यक्ष पौडेलले भने । 

संयोजन कमिटीमा इन्चार्ज अग्निप्रसाद सापकोटा र सह इन्चार्ज शशी श्रेष्ठ रहेका छन् । सदस्यहरूमा अन्जना विशंखे, सूर्य सुवेदी पथिक, हितबहादुर तामाङ, ईश्वरी भट्टराई, पुष्पविक्रम मल्ल, कृष्णप्रसाद सापकोटा, शालिकराम जमरकट्टेल, सरल सहयात्री रहेका छन् । 

प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कमिटीले बागमती प्रदेशका सबन्धमा केन्द्रीय कमिटीले प्रत्यायोजन गरेका विषयहरूमा छलफल गर्नेछ । अभियानको उद्देश्य जनवर्गीय संगठनहरूको सुदृढ गर्ने तथा गत पार्टीका वडा अधिवेशनहरू सम्पन्न गर्ने रहेको पौडेलले बताए ।  यस्तै राजनीतिक वैचारिक विषयहरूमा छलफलको सुरुवात गर्ने रहेको छ । सोही अनुसार १३ वटा जिल्ला मध्य १२ वटा जिल्लाका पूर्ण बैठक सम्पन्न भएको छ । 

बैठकमा मूलतः पार्टी भित्र छलफल वहस, निर्णय, सिफारिस लगायतका विषयहरूलाई संस्थागत विकाश गर्ने, आत्मालोचनालाई मुख्य विषय बनाउने र आन्तरिक एकतालाई सुदृढ गर्ने, पार्टीले वैचारिक विकाश गर्नका लागि आगामी महाधिवेशन हरेक समितिहरूले विचारमा थप गर्नुपर्ने गरी तयारी गर्ने रहेको छ । 

यसैगरी चैत्र ७ गते संयोजन समितिको बैठक बसेको थियो । चैत्र ११ गते प्रदेशमा कार्यरत केन्द्रीय कमिटी  सदस्यहरूको बैठक, चैत्र १४ गते प्रदेश कार्यालयको विस्तारित बैठक, चैत्र २८ गते प्रदेश संयोजन समितिको बैठक बसेको थियो । वैशाख ३ गतेबाट जिल्लाहरूको बैठक सुरु, असार १५ सम्ममा सबै जनवर्गीय सङ्गठनको जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने लक्ष रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप