मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
कविता

कहिले आउने हो नेताजी !

शनिबार, २९ वैशाख २०८१, १४ : ०६
शनिबार, २९ वैशाख २०८१

जिउँदा मान्छेको खोजीमा 
कहिले आउने हो नेताजी !

कति मलामी र धरमभेटी मात्र 
नदी किनार आर्यघाटमा 
मानिस रोगले, भोगले, शोकले 
लखतरान परेका बेला 
अभाव, पीडा र बेसहारा बनेको समय
सहानुभूतिको व्यग्र प्रतीक्षामा बस्दा
रातमा जुन र दिनमा घामको अभाव छ ।

कति दिन बस्ने प्रतीक्षाको बाटो हेरेर
भोको पेटमा आँसु समेत आउँदैन ।

कहाँ हराए, ती अवस्था बदल्ने सङ्कल्पहरू 
जीवनस्तर सुधार्ने वाचाहरू
उत्पादन र उत्पादकत्व वृद्धि गर्ने प्रतिबद्धताहरू
बेरोजगारी घटाउने र शून्य भोकमारीका सपनाहरू
किन पूरा हुदैनन् ?
गाउँमा विगतमा गरिएका वाचा–कसमहरू ।

किन ? जिउँदा मानिसको खोजी हँुदैन
हरेक साल ! 
बजेट आउँछ 
अनुसूचीमा रूपान्तरित भएर
कार्यान्वयन कहिल्यै हँुदैन
बहाना छँदै छ जनशक्ति अभाव,
बजेट पुनः सञ्चित कोषमै जान्छ
पुनः बजेट आउँछ
अलिकति आशा, अलिकति खुसी,
अलिकति उत्साह लिएर
नागरिक मनको सपनीमा
कमल, गुलाफ र सयपत्री फुल्छ 
जब असार मसान्त आउँछ 
पुनः निराशाको कालो बादल मडारिन्छ ।

अविरल वर्षापछिको
हुरिले उडाएको छानो जस्तै
खडेरीमा डढेलोले खाएको वनजस्तै 
नागरिकको सपना उडाएर 
विकास, समृद्धि र अग्रगमनको नाराले
कतिदिन टिकाउनु हुन्छ व्यवस्था
नेताजी ! 

सपना होइन अवस्था परिवर्तन खोजेका छन्
देश र जनताले 
चौतर्फी प्रश्न छ, जिज्ञासाहरूको चाङ छ
कहिले कार्यान्वयन हुन्छ घोषणापत्र ?

दिगो विकास र सहस्राब्दी विकासका लक्ष्य, कहिले पूरा गर्छौ
किन बढ्दैन राष्ट्रिय आयको आकार
यसरी किन रितिँदै छ राष्ट्रिय ढुकुटी
मौलाउँदै छ कुशासन,
अनियमितता र भ्रष्टाचार 
थपिँदै छ राष्ट्र ऋण ।

लथालिङ्ग हुँदै छन् गौरवका आयोजनाहरू
शिलान्यास भए अस्पताल र विद्यालयका भवनहरू
पुल, सडक र सामुदायिक पूर्वाधारहरू
पञ्चायत गयो बहुदल आयो
शाही शासन गयो लोकतन्त्र आयो
राजा फालिएर गणतन्त्रको स्थापना भयो
अझै बनेन नहर, भवन, विद्यालय, अस्पताल, पुल र सडकहरू ।
बरु 
बने त केवल १४औँपटक संशोधित भयो
सार्वजनिक खरिद नियमावली
बरु व्यवस्था सकिए, सकिएनन योजनाहरू
रेडबुकमा बहुवर्षीय र क्रमागत भएर 
पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर चलिरहे योजनाहरू
कलकारखानाहरू बन्द छन्
रोजगारीको खोजीमा 
विदेसिँदै छन् चखेवाका जोडीहरू,
ढुकुर, डाफे र मुनालहरू 
साइबेरियाको जङ्गलमा विचरण गर्दै छन् ।

रित्तिएका छन् विश्वविद्यालयहरू शिक्षार्थीहरूविना
टेलिभिजनको पर्दामा प्राडाहरूको संवाद 
व्यवस्था ठीक भएन, शिक्षा समयानुकूल भएन
राजनीतीकरण हाबी भयो, गुणस्तर भएन 
पाठ्यक्रम समयानुकूल बनेन् यी र यस्तै 
विश्वबजारको प्रभावले आक्रान्त छ मुलुक
बौद्धिकता पलायनले अस्पतालमा डाक्टर
आयोजनामा इन्जिनियर, व्यवसायमा चार्टर एकाउटेन्ट
सबैतिर जनशक्तिको अभाव कायम छ
देश डेटलक हँुदै छ, देखिँदै छ डरलाग्दो छाया 
सबैतिर निराशाले साम्राज्य बनाएको छ ।

समाजले बोल्दै छ एउटै भाषा
देशमा न काम छ न भविष्य
अति भए पछि देशमा
माटो बोल्न थाल्यो, बाटो बोल्न थाल्यो
व्यवस्थाको विरुद्धमा 
कहिल्यै नबोल्ने 
सोझो बोल्न थाल्यो 
जिउँदा मान्छेको खोजीमा
नेताजी कहिले आउने हो गाउँमा  !

(भण्डारी कर्णाली प्रदेशसभा सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

घनश्याम भण्डारी
घनश्याम भण्डारी
लेखकबाट थप