'सरसर्ती संसार' मा एक फन्को
- भगवती बस्नेत
जीवा लामिछाने भन्ने बित्तिकै गैरआवासीय नेपाली संघको सम्झना आउछ । उहाँले सिर्जना गर्नुभएको नियात्रा संग्रह 'सरसर्ती संसार' गैरआवासीय नेपाली संघको अभियान, व्यावसायिक तथा पारिवारिक भ्रमण निस्कदा आफूले देखेभोगेका पाँचै महा देशका अनुभव अनुभूतिलाई सदृश्य बयान गर्नु भएको छ ।
उहाँले वर्णन गर्नुभएको सरसर्ती संसारमा पस्दा हामीलाई पनि उहाँले आफू घुमेको ठाउँहरुमा लैजान सफल हुनुहुन्छ । आफूले कहिले नाम पनि नसुनेको नदेखेको ठाउँहरु पनि उहाँका लेखाइले परिचित गराई दिन्छ । उन्नान्तिस वटा शीर्षकमा लेखिएको यस नियात्राका प्रत्येक शीर्षकले नयाँ ठाउँका नयाँ नौला अनुभूति दिलाउँछ ।
युरोपको रेलमा एक फन्को रेल यात्रा आफैँले अविस्मरणीय र रोमान्चक अनुभवको पुञ्ज हो । यो यात्राबाट म युरोपको बिशाल मानचित्र नजिकबाट चियाउँदै थिएँ । र केहि नौलो अनुभव संगाल्दै थिएँ। यस यात्रामा समय र भूगोलको कोलाजमा अनूभवका थुप्रै रंग पोत्न सफल भएकोमा म मनमनै दंग परे ।
उहाँका यीनै उक्तिसँग म पनि रमाएँ । यो संसार भनेको अनेकन रुप,रंग, स्वाद, संस्कृति रहनसहनको सुन्दर कोलाज हो । नेपाल एक नकुदिएको हिरा हो । खाँचो छ त केवल यसलाई आफ्नो शिल्पमा कुद्ने कालीगढको । आखिर जीवन भनेको पाइला पाइलाको सिकाइ हो ।
साँच्ची नै हामीले हिँडेका हरेक पाइलाहरु हामीले देखेका हरेक बस्तुहरु हामीले भोगेका हरेक पल शब्दमा उतार्न त सक्दैनौँ तर महत्वपूर्ण कुराहरुको खिपाईले पनि हामीले धेरै कुरा सिक्न सकिने रहेछ ।
सपनाको देश अमेरिका- अमेरिकनहरु नचिनेको मानिस भेट्दा पनि पहिलेदेखि चिनेझैँ निकट सम्बन्धको ब्यबहार गर्छन् । मानवीय स्वभाव देखाउँछन् ।कृतिम नै सहि यस्तो शिष्टताले आनन्द लाग्दो रहेछ । अमेरिका आज शक्ति सम्पति प्रविधि र विकासका हिसाबले विश्वकै अग्रस्थानमा छ ।
प्रेमले होस् या घृणाले संसारको केन्द्र भएको छ । सन् १९१४मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउँदा त्यहाँ अहिले देखिने कुनै वैभव थिएन । त्यति बेला नेपाल अमेरिकाभन्दा निक्कै विकसित थियो भन्दा कसले पत्याउने ?"
विश्व सुन्दरी क्लियोपेट्राको देश - पिरामिडको देशमा विषेशत इजिप्टको सभ्यता निर्माणमा नाइल नदीको योगदान अमूल्य छ । नाइल नदी वरिपरी उर्वर जमिन भएकाले सबै ठाउँमा घना बस्तीहरु छन् ।
वास्तबमा नदी आमा हुन्, जसले धर्ति सिंचित गर्छन् । आकाशलाई समेत सिंचित गरेर वर्षा गराउँछन् । प्रकृतिको यहि अनुसाशित घेरामा रहेर प्राणीलाई जीवन दिन्छन् । मैले नाइलमा नारायणी नदीको बिम्ब देखेँ ।
प्राकृतिक र साँस्कृतिक श्रोतसाधनको समय सापेक्ष उपयोग गर्न नसक्दा हाम्रो मुलुक गरिब जस्तो देखिएको छ । जुनसुकै राष्ट्रको इतिहास र सभ्यता चिनाउने मध्यम प्राचिन सम्पदा हुन् । हाम्रा पुर्खाले छोडेर गएका सम्पदाहरुको संरक्षण अहिलेको खाँचो हो । भएका सम्पदाको संरक्षण सँगै र प्रबर्द्धन पनि गरेर नेपालमा पर्यटकको बसाइ लम्ब्याउन र नयाँ पर्यटकलाई आकर्षित गर्न सके आफ्नै जीवनकाममा समृद्ध नेपाल बनाउने हाम्रो सपना अवश्य पनि साकार हुन् सक्छ ।
बर्मा गए नि कर्म संगै भनेझैं बर्मामा नेपालीको मन,भाषा र भावमा नेपाल छ । यहाँका नेपालीले हाम्रो आर्य संस्कृतिको शिष्ट जीवनशैली बचाएर राखे जस्तै लाग्यो । नेपालबाट आउनेलाई भेट्न जाँदा आफ्नो मुलुकबाट आएको सम्झने ती वृद्ध आमाको मातृभूमिप्रतिको अद्भूत प्रेम नै सायद डायास्पोरिक चेतना होला । आखिर हामीले डायस्पोरामा बाँकी रहेका यहि अद्भूत स्नेहको धागो कालान्तरमा चुँडिएर नजाओस् भनेर नै त गैरआवासीय नेपाली अभियान शुरु गरेका थियौं ।
आजभोलि मलाई जहाँ नेपाली छन् त्यही नेपाल छ जस्तो लाग्न थालेको छ । मानसपटलमा बर्मा बोकेर फर्कदै गर्दा लाग्यो - बर्मा कर्मयोगी र धर्मयोगीको देश हो । पत्थरको देश हो । दानवीर र शानवीरको देश हो । प्रकृति र संस्कृतिको देश हो । तर दूर्भाग्यवश बर्मा द्वन्द र दङ्गाको पनि देश हो ।
कोरियाको राप र ताप काममा व्यस्त व्यक्तिलाई आँशु बगाउने पनि फुर्सद हुन्न भन्ने मान्यता कोरियामा पूर्णत स्थापित भएको देखिन्छ । कोरियन नागरिकको राष्ट्रप्रेम सुन्दा र देख्दा हामीमा त्योस्तरको राष्ट्रप्रेम कहिले जाग्ला भन्ने कल्पना आइहाल्दो रहेछ । मध्ये सोलमा रहेको सोल टावर देख्नेबित्तिक्कै मलाई धरहराको सम्झना आयो ।
सोल शहर अति भब्य आकर्षक र ब्यबस्थित थियो । त्यहाँ टावरको हातामा असंख्य ताला लगाउने ठाउँ रहेछ । नयाँ प्रेमीप्रेमिकाले आफ्नो प्रेम अटुट रहोस् भनेर उक्त स्थानमा प्रतिकात्मक रुपमा ताला लगाउने चलन रहेछ । भूगोल र देशान्तर फरक भए पनि त्यसले बोक्ने सन्देश र प्रकृति उस्तै हुँदो रहेछ । रुसोले भनेका छन् -प्रेमले पापीलाई पनि सुधार्छ । हाम्रो गाउँघरमा केतुकीको पात, ढुंगाका काप ,मन्दिरका भित्ता र रुखका बोक्रामा समेत जोडीको नाम लेख्ने गरेको प्रशस्तै देखिन्छ ।
“सरसर्ती संसारभित्रका हरेक शीर्षकको भोगाईहरुसंग हाम्रो देश, परिवेश संस्कार सस्कृति र राजनीतिसँग जोडिएका छन् । यसले के दर्शाउँछ भने हामी नेपाली जहाँ पुगे पनि हामीले आफ्नो देश छातिभित्र बोकेका हुन्छौं । आँखामा सजाएका हुन्छौ । मस्तिष्कमा खिपेका हुन्छौ ।
संसार घुम्नु भनेको बृहद् पुस्तकका पाना पल्टाउनु हो । संसार घुम्नेहरूले नै जीवनका धेरै पृष्ठ र आयामहरु बुझ्न सक्छन् । आफ्नो व्यवसायमा अति व्यस्त हुँदा हुँदै पनि जीवा लामिछानेज्यूको साहित्यप्रतिको अनुराग तीब्र देखिन्छ । पुरस्कार गुठी स्थापना गर्नेदेखि लिएर निरन्तर नेपाली साहित्यिक लेखनमा सक्रिय भएर योगदान पुर्याईरहनु भएको छ । उहाँको यो भूमिका प्रशंसनीय छ ।
सरसर्ती संसार पढेर संसारको सभ्यता, संसारको संस्कृति, संसारको विशिष्टता बुझेर पाठकले आफ्नो ज्ञानको क्षितिज फराकिलो पार्न सक्ने कुरामा कुनै शंका छैन । हामीले हाम्रो सभ्यताको उत्थानको लागि यस्ता फराकिला ज्ञानको अध्ययन महत्वपूर्ण हुन्छ । यो यात्राबर्णन पढ्दा नेपाल बाहिरका नेपालीको साहित्य संस्कृतिप्रतिको निष्ठा अझ चुलिएको भान हुन्छ ।
भावनात्मक र रसमय शैलीमा लेखिएको यस नियात्रा संग्रह अत्यन्त रोचक छ । आफू संसारक बिभिन्न देशहरुमा पुग्न नसके पनि यस पुस्तक पढ्दा एक पल्ट सरसर्ती संसार घुमिन्छ। यति व्यापक विषयसन्दर्भ र अनुभूति एउटै कृतिभित्र अटाउनु नै यस नियात्रा सङ्ग्रहको विशेषता र उपलब्धि हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण