आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

बजेट माग्न माओवादीभित्र प्रतिस्पर्धा, मुख्यमन्त्री जम्कट्टेलसँग अलग अलग भेट

बुधबार, ०९ जेठ २०८१, १७ : ३०
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । सिन्धुलीको समग्र विकास योजना लिएर माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र नेताहरू अलग अलग रूपमा बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेका छन् ।

 जेठ ६ गते माओवादी सिन्धुलीका इन्चार्ज बुद्धि माझीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि र प्रदेश जनप्रतिनिधिले मुख्यमन्त्री जम्कट्टेलाई भेटेर संयुक्त रूपमा बजेट माग गरेका थिए । 

बागमती प्रदेश माओवादी संसदीय दलको कार्यालयमा मुख्यमन्त्री जम्कट्टेलको उपस्थितिमा भौतिक पूर्वाधारमन्त्री युवराज दुलाललाई योजनाको उनीहरूले फाइल बुझाएका थिए । त्यतिबेला साथमा सिन्धुली प्रदेश सभा २(२)का सांसद समेत रहेका आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ, प्रदेशसभा १(१)का मातृका भट्टराई, सांसद शुष्पा भुजेल न्यौपाने सहभागी थिए ।

पार्टीका नेताहरूले भेटेलगत्तै बुधबार सङ्घीय सांसद लेखनाथ दाहालको नेतृत्वमा ९ वटा पालिकाका प्रमुख र उपप्रमुखसहितले पनि  सिन्धुलीको समग्र विकास र समृद्धिको योजना लिएर मुख्यमन्त्री जम्मकट्टेललाई भेटेका छन् । माओवादीकै नेतृत्वमा बागमती सरकार भएकाले आ–आफ्ना क्षेत्रमा बजेट पार्न नेता तथा जनप्रतिनिधिहरूको दौडधुप चलेको हो । तर, बजेट माग्न माओवादीभित्रै एउटै जिल्लाबाट अलग अलगरुपमा भेट गर्ने प्रतिस्पर्धा चलेको देखिन्छ । यद्यपि पार्टी र जनप्रतिनिधिसँग समन्वय गरेर नै योजना माग गरेको सङ्घीय सांसद लेखनाथ दाहालले जिकिर गरे ।

‘हामीले समग्र सिन्धुली जिल्लाको विकास र समृद्धिका लागि सबैसँग समन्वय गरेर नै मुख्यमन्त्रीलाई भेट्न आएका हौँ । कुनै राजनीति उद्देश्य बोकेर आएको होइन । सङ्घीय सांसद समेत भएकाले मेरो नेतृत्वमा ९ वटै पालिकाका प्रमुख र उपप्रमुखहरू आएका छौँ’, मुख्यमन्त्रीसँग भेटपछि रातोपाटीसँग दाहालले भने ।

यसअघि मुख्यमन्त्रीलाई भेटेका सिन्धुलीका इन्चार्ज बुद्धि माझीले आफ्नो नेतृत्वमा स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदहरूले मुख्यमन्त्रीलाई जिल्लाको समग्र विकास योजनाको फाइल बुझाएको स्वीकारे ।

‘पार्टी र जनप्रतिनिधिहरू मिलेर गएका थियौँ । मुख्यमन्त्रीको संसदीय दलको कार्यालयमा हामीले भेट्यौँ । त्यहाँ भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल र आन्तरिक मामिलामन्त्री गङ्गानारायण श्रेष्ठ हुनुहुन्थ्यो । म लगायत मातृका भट्टराई, शुष्पा भुजेल लगायत टिमले संयुक्त रूपमा विकास योजनाको फाइल बुझाएको हो’, उनले भने, ‘माननीय सङ्घीय सांसद राजन दाहालसँग समन्वय भएर नै गएका हौँ । उहाँ संसदमा व्यस्त हुनुभएकाले स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्यसहित गएका थियौँ ।’

यस विषयमा सांसद भुजेलले पार्टीभित्र प्रतिस्पर्धा गर्ने हिसाबले नभई सबैको समन्वयमा मुख्यमन्त्रीलाई भेटेको बताइन् । पार्टीकै नेतृत्वमा सरकार भएकाले आ–आफ्ना योजना लिएर भेट गर्नु स्वाभाविक भएको उनले तर्क गरिन् । 

‘भेटघाटको विषयलाई नकारात्मक दृष्टिले हेर्नुपर्ने आवश्यक छैन । पार्टीकै नेतृत्वमा सरकार भएकाले मुख्यमन्त्रीलाई भेट्न सामूहिक र एक्लाएक्लै आउँछन् । यसअघि पार्टीको नेतृत्वमा स्थानीय र प्रदेश प्रतिनिधिले मुख्यमन्त्रीज्यूलाई भेट गर्नुभएको हो’, भेटबारे खुलाउँदै उनले भनिन्, ‘आज माननीय राजन दाहालको नेतृत्वमा जनप्रतिनिधिहरूले भेट गर्नु भएको हो । उहाँको नेतृत्वमा सबै स्थानीय पालिकाका प्रमुख र उपप्रमुख सहभागी हुनहुन्थ्यो । गठबन्धनको सरकार भएकाले सबैलाई मिलाएर जानु राम्रो हुन्छ ।’

आर्थिक वर्ष ०८१/०८२ को बजेट ल्याउने तयारी भएकाले योजना लिएर माओवादीसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू मुख्यमन्त्रीको कार्यालय हेटौँडामा जानेक्रम बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप