आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

विश्वकपको सँघारमा बर्खास्तीमा परे क्यानडाका प्रशिक्षक पुबुदु दासानायेके

बिहीबार, १० जेठ २०८१, १५ : ०४
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप सुरु हुन निकै कम समय बाँकी रहँदा क्यानडाले आफ्नो प्रमुख प्रशिक्षक पुबुद दासानायेकेलाई पदबाट हटाएको छ । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । 

पुबुदु दासानायेके सन् २०२२ को जुलाईदेखि क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पदमा कार्यरत थिए । उनी श्रीलंका र क्यानडाका पूर्वखेलाडी पनि हुन् । उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा पनि लामो समय काम गरेका थिए ।

पुबुदु दुईपटक नेपालको प्रशिक्षक बनेका थिए । उनी सन् २०११ देखि सन् २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक थिए । त्यसपछि उनले सन् २०२१ देखि सन् २०२२ सम्म नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रशिक्षकको भूमिकामा क्यानडामा पनि यो उनको दोस्रो कार्यकाल थियो । यसअघि सन् २००७ देखि सन् २०११ सम्म उनी क्यानडाको प्रशिक्षक थिए । उनले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीमा पनि प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन् । 

पुबुदुकै प्रशिक्षकत्वमा क्यानडा छनोट चरण पार गर्दै यसपटक टी–२० विश्वकपमा पुगेको हो । क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि प्रशिक्षकको विषयलाई लिएर पदाधिकारीबिच नै विवाद सुरु भएको समाचारमा जनाइएको छ । 

समाचारमा जनाइए अनुसार, क्रिकेट क्यानडाका उपाध्यक्ष गुरदीप क्लेयरले बुधबार नै पुबुदुलाई यस विषयमा जानकारी गराएका थिए । विश्वकपका लागि टोली छनोटको विषयलाई लिएर पनि प्रशिक्षक र क्रिकेट क्यानडाका पदाधिकारीबिच विवाद देखिएको समाचारमा जनाइएको छ । 

पुबुदुको स्थानमा कसलाई नयाँ प्रशिक्षक बनाउने भन्ने विषयमा क्रिकेट क्यानडाले कुनै निर्णय गरिसकेको छैन । क्यानडाले आगामी विश्वकपमा आयोजक अमेरिकासँग जुन १ तारिखमा उद्घाटन खेल खेल्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप