बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

१० औँ राष्ट्रिय खेलकुदको दायित्वबारे स्पष्ट पार्न मन्त्री श्रेष्ठलाई मुख्यमन्त्रीको आग्रह

सोमबार, २८ जेठ २०८१, १७ : ०७
सोमबार, २८ जेठ २०८१

सुर्खेत । युवा तथा खेलकुद विकास मन्त्री विराजभक्त श्रेष्ठ र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबिच आगामी मङ्सिरमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनाको विषयलाई लिएर छलफल भएको छ । 

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो । बैठकमा कर्णाली प्रदेशमा पूर्वाधारको अवस्था, स्रोत र आयोजना व्यवस्थापनबारे दुई सरकारबिच छलफल भएको थियो ।

मुख्यमन्त्री कँडेलले प्रतियोगिता सम्बन्धमा सम्पादन गर्नुपर्ने नीतिगत व्यवस्था र पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले निर्वाह गर्ने दायित्वबारे स्पष्ट पार्न मन्त्री श्रेष्ठलाई आग्रह गरे । प्रतियोगिता सञ्चालन सम्बन्धमा समन्वय समिति बनाउने, खेलस्थल व्यवस्थापन समिति बनाउने कि भनेर मुख्यमन्त्री कँडेलले प्रश्न उठाएका थिए ।

साथै कँडेलले लोगो कर्णाली प्रदेशले नै पठाएको तय गर्नुपर्ने धारणा राखेका थिए भने स्थानीय सरकारको भूमिका सरसफाइ, सहरी सुन्दरता, गेट, एम्बुलेन्स, दमकलको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । 

साथै पूर्वाधार अभावका कारण रङ्गशाला बाहेक अरू खेल प्रतियोगिता अन्यत्र खेलाउने विषयमा पनि छलफल भएको थियो । यस्तै व्यवस्थापनको जिम्मेवारी आयोजक राष्ट्रिय खेलकुद विकास परिषद्ले लिने कि प्रदेश सरकारले त्यो पनि स्पष्ट हुनुपर्ने कँडेलको धारणा थियो ।

राखेपको जिम्मेवारी भएपनि अहिलेसम्म राखेपले खेलकुद आयोजनाको तयारीबारे कुनै अग्रसरता देखाएको छैन । खेलकुद मन्त्री श्रेष्ठले आयोजनाको सम्पूर्ण व्यवस्थापन प्रदेशले नै गरोस् भन्ने धारणा राखेका थिए ।  छलफलमा सामाजिक विकास मन्त्री वीरबहादुर शाही, राखेप सदस्य सचिव, मन्त्रालयका सचिव, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल लगायत सरोकारवालाहरू सहभागी थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप