बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

ह्विप उल्लङ्घन गरेको भन्दै गण्डकीमा एमालेले सोध्यो आफ्नै सांसदलाई स्पष्टीकरण

शनिबार, ०१ असार २०८१, २१ : १८
शनिबार, ०१ असार २०८१

पोखरा । गण्डकीमा नेकपा एमालेका सांसद गणेशमान गुरुङलाई आफ्नै पार्टीले स्पष्टीकरण सोधेको छ । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएर निर्णयार्थ प्रस्तुत गर्ने बेलामा उनी अनुपस्थित भएका थिए । शनिबार उनलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । एमालेले शुक्रबार नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने बेला विपक्षमा रहन ह्विप जारी गरेको थियो । 

गुरुङले उक्त ह्विप कार्यान्वयन नगरेको एमालेले जनाएको छ । तीन दिनभित्र विधिसम्मत रूपमा जवाफ पठाउन भनिएको छ । प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आन्तरिक प्रक्रिया अनुसार गएको बताए । ‘आन्तरिक प्रक्रिया हो,’ उनले भने, ‘सबै कुरा स्पष्टीकरण पत्रमा छ । त्यसबारे सम्बन्धित माननीय ज्यू नै जिम्मेवार हुनुहुन्छ ।’

तर सांसद गुरुङले चाहिँ दलले ह्विप नलगाएको बताएका छन् । ‘तपाईंलाई ह्विप उल्लङ्घन गरेकोमा कारबाही गर्ने कि नगर्ने भनेर स्पष्टीकरण सोध्यो । मलाई ह्विप जारी भएको थाहै छैन,’ उनले भने, ‘बैठक बस्ने दिन ह्विप जारी गरिएन । बैठक सुरु भएपछि गरिएको रहेछ, मैले मोबाइल हेरिनँ ।’ उनले उक्त दिन आफ्नो व्यक्तिगत काम परेर बाहिर निस्किएको बताएका छन् । 

‘मेरो व्यक्तिगत काम परेको हुँदा र ह्विप जारी गरेको पनि थाहा नभएका कारण बाहिर गएको हुँ । अहिले स्पष्टीकरणको पत्र आउँदा पो अचम्ममा परेँ,’ उनले अघि भने, ‘यो मप्रति गरिएको अन्याय हो । म उपचार खोज्छु । साथीहरूसँग कुरा गर्दैछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप