सस्तो भारतीय आँपका कारण नेपाली आँपले भाउ नपाएको गुनासो
बारा । आँपलाई फूलको राजा पनि मानिन्छ । स्वाद, महत्त्व, विषेशता र फल खाएपछि पाइने सन्तुष्टिकै कारण यसलाई फलको राजा भनिएको बताइन्छ । यो आँपको मौसम हो, विषादी नहाली बोटकै पाकेको आँपको स्वादले सबैलाई लोभ्याउँछ ।
बाराको ग्रामीण भेगका बगैँचाहरूमा विषादी प्रयोग नभएका बोटमै पाकेका आँप आजभोलि छ्यापछ्याप्ती खान पाइन्छ । व्यापारीहरू पनि बगैँचामा तयारी अवस्थामा भएको वम्मै र मालदह आँप बजारसम्म पुर्याउने चटारो छन् । आँपका प्रजातिहरूमा सबैभन्दा स्वादिलो वम्वै र मालदह हो । यो अहिले खान योग्य भइसकेको छ ।
कलैया उपमहानगर वडा नं २० बसदपुरका दिपकुमार सहनी विगतको तुलनामा यो वर्ष २५ प्रतिशत मात्रै आँप फलेको बताउँछन् । ‘आँपमा विगतको तुलनामा यस वर्ष फाइदा कम छ, यस पटक आँप राम्रो फलेको छैन, भाउ पनि राम्रो छैन,’ सहनीले भने, ‘हामीले बगैँचामा टिप्न तयार भएको काँचो आपलाई औषधी नहाली काठमाडौँसम्म पुर्याउछौँ ।’
अहिले बजारमा बम्वै, मालदह, दशहरी, आम्रपाली लगायतका जातका आँपहरू पाइन्छन् ।
सहनी भारतबाट आयात भएको सस्तो आँपको कारण नेपाली आँपले भाउ नपाएको गुनासो गर्दछन् । भारतीय आँप तराईको बजारमा सय रुपैयाँको २ देखि ३ किलोसम्म पाइन्छ ।
व्यापारीहरूले खानयोग्य भइनसकेको कलिलो आँप सस्तो मूल्यमा भारतीय बजारबाट ल्याएर विषादीको प्रयोगले पकाएर नेपाली बजारसम्म पुर्याउने गरेको कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ ।
कलैया उपमहानगर वडा नं २० बसदपुरका अर्का आँप व्यापारी ललन अन्सारीले पनि जिल्लाभरका दश ठाँउका आँप बगैँचाको ठेक्का लिएका छन् । उनी पनि गत वर्षको तुलनामा यस पटक धेरै कम आँप फलेको बताउँछन् ।
अन्सारीले जीतपुर सिमरा वडा नं १६ महेन्द्रनगरमा १७ बिगाहाको एउटै आँप बगैँचा ५ लाख ५० हजार (प्रतिवर्ष) मा ठेक्का लिएका छन् । ‘औषधी खर्च लगायत सबै हिसाब जोड्दा अहिलेसम्म ८ लाख रुपैयाँ खर्च भइसक्यो, तर आँप टिप्न बल्ल सुरु गरेका छौँ’, अन्सारीले भने ‘जथाभाबी रूपमा विषादी हालेर नेपाली बजारमा भित्रिएको सस्तो भारतीय आँप रोक्नसके विषादी नहालेको स्थानीय आँप खान नेपालीहरूले खान पाउँथे, हाम्रो आँपले पनि भाउ पाउँथ्यो ।’
आजभोलि केही सचेत नागरिकहरू विषादी नहालेको आँप किन्न बगैँचासम्म आउने गरेको अन्सारीको भनाइ छ ।
उनले केही आँपका प्रजातिहरू एक वर्ष फल दिने र एक वर्ष आराम लिने कारणले पनि यो वर्ष कम फलेको टिप्पणी गर्दछन् ।
डिभिजन वन कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बारामा ६९ हजार ५१६ हेक्टर कृषि क्षेत्र छ । जसमध्ये २ हजार २५० हेक्टर भूभागमा मात्रै फलफूल खेती हुने गर्दछ । कृषि ज्ञान केन्द्र कलैयाका अनुसार २ हजार २५० हेक्टर फलफूल खेतीमध्ये सबैभन्दा धेरै आँप, लिची र कटहरको उत्पादन हुने गरेको जनाएका छन् ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामजीवन ठाकुरले जिल्लाको १६ वटा पालिकामध्ये दक्षिणी भेगको कलैया उपमहानगर, महागढीमाई नगरपालिका, फेटा, देवताल, सुवर्ण गाउँपालिकामा सबै भन्दा धेरै आँप बगैँचाहरु रहेको बताएका छन् ।
‘अहिले स्थानीय आँप बजारमा आएपछि भारतीय आँप खासै देखिएको छैन’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी ठाकुरले भने, ‘यो वर्ष आँप राम्रो फलेको पनि छ मूल्य पनि पाएको छ ।’
उनले जिल्लामा उत्पादन भएको आँप स्थानीय बजार, वीरगन्ज र काठमाडौँसम्म पुग्ने गरेको बताएका छन् । जिल्लामा आँपको उत्पादन कति हुन्छ भन्ने वास्तविक तथ्यांक भने कृषि ज्ञान केन्द्रसँग भएको ठाकुरले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण