सरकारको प्रतिबद्धतापछि आन्दोलनरत लेखाका कर्मचारी काममा फर्किए
विराटनगर । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कोशी प्रदेश लेखाका कर्मचारीहरू शुक्रबारदेखि काममा फर्किएका छन् । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कर्मचारीको न्यायोचित मागको सम्बोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिएसँगै कर्मचारीहरू आन्दोलनको स्वरूप परिवर्तन गर्दै काममा फर्किएका हुन् ।
‘कर्मचारीको न्यायोचित मागहरूको सम्बोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको परिस्थितिमा दबाबमूलक कार्यक्रममा सहभागी सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूलाई काममा फर्की सार्वजनिक सेवा प्रवाहमा संलग्न हुन हार्दिक अपिल गर्दछु,’ मन्त्री मगरले अपिल गरेका थिए ।

सोही अपिल पछि पेन डाउनको कार्यक्रम स्थगित गर्दै असार २० गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने आन्दोलनरत लेखाका कर्मचारीहरूले बताएका छन् । उनीहरूको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,‘सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने कर्मचारीहरूको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिई न्यायोचित र समानतामा आधारित वृत्तिविकासको प्रावधान कानुनमा समेटिने विश्वास गर्दै दबाबमूलक कार्यक्रमको स्वरूपलाई परिवर्तन गरी २०८१ साल असार २० गतेसम्म हातमा कालोपट्टि बाँधी कार्यालय समय अघिपछि समेत कार्य सम्पादन गर्ने र सो अवधिसम्मको अवस्थाको समीक्षा गरी आगामी कार्यक्रम तय गर्ने निर्णय गरिएको ।’

मध्य असारमा धमाधम भुक्तानी गर्नुपर्ने जिम्मेवारी छोडेर लेखाका कर्मचारीहरू गत ६ गते असारदेखि आन्दोलनमा थिए । उनीहरूको आन्दोलनका कारण प्रदेशको सबैखाले भुक्तानी रोकिएको थियो । कर्मचारीको आन्दोलनकै कारण मन्त्री, सांसद र कर्मचारीले पनि जेठको तलब अझै नपाएको बताइएको छ । आर्थिक कार्यविधि ऐन अनुसार आर्थिक वर्षको अन्त्य हुनुभन्दा ७ दिन अगाडि भुक्तानी रोक्नुपर्छ । त्यसअनुसार असार २४ गतेसम्म मात्रै भुक्तानी गर्ने समय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण