लुम्बिनीमा मन्त्रीहरूको कार्य विभाजनमा ढिलाइ
बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेबिच मन्त्रालयको भागबण्डा मिलाउन ढिलाइ भएको छ । परिणामस्वरुप साउन ९ गते शपथ ग्रहण गरेका विनाविभागीय ८ जना मन्त्री अहिलेसम्म भूमिकाविहीन छन् ।
विभागीय जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कोही काठमाडौँ, कोही गृह जिल्लातिर आफ्नो निजी कामका लागि पुगेका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट ४ र एमालेबाट ४ जना मन्त्री नियुक्त गरे पनि कार्यविभाजन गरेका छैनन् । नेपाली कांग्रेसले आफ्नो भागमा परेको थप एक जना मन्त्रीको नाम दिन ढिलाइ गरेको छ ।
आकर्षक मन्त्रालयमा दुवै दलको दाबी रहेपछि कार्य विभाजनमा मुख्यमन्त्रीलाई सकस परेको एक जना विनाविभागीय मन्त्रीले रातोपाटीलाई बताए ।
नेपाली कांग्रेसभित्र मन्त्री चयनको विषयमा असन्तुष्टि छ । केन्द्रले सिधै हस्तक्षेप गरेर प्रदेशका मन्त्री नियुक्त गरेको भन्दै कांग्रेस प्रदेश समिति सभापति अमर पुनले असन्तुष्टि जनाएका छन् ।
अर्थ मन्त्रालयमा एमाले र कांग्रेस दुवैले दाबी गरेका छन् । यस्तै सहरी विकास मन्त्रालयमा पनि दोहोरो दाबी देखिएको छ ।
यहाँ साना दलहरूलाई सरकारमा सहभागी गराउने तयारी भए पनि मन्त्रालय भागबण्डा हुन बाँकी रहेकाले साना दलको बारेमा निर्णय गर्न ढिला भएको मुख्यमन्त्री चेतनारायण आचार्यले रातोपाटीलाई बताए ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका सरोज थापाले कुन मन्त्रालय कसले पाउने भन्ने अझै टुङ्गो नभएको बताए ।
काठमाडौँमा रहेका थापाले भने, ‘मन्त्रालय तोकिएको भए मन्त्रालयमा बसेर जनताको काम गर्न हुने थियो तर अहिलेसम्म तोकिएको छैन । छिटो गरिदिए हुने थियो ।’
एमालेबाट विनाविभागीय मन्त्री बनेका भुमेश्वर ढकालले साउन १६ गते यता मन्त्रालयको भागबण्डा टुङ्ग्याउने सम्भावना कम रहेको जानकारी दिए ।
उनले मुख्यमन्त्री र नेपाली कांग्रेस संसदीय दलका नेता बसेर मन्त्रालयको भागबण्डा टुङ्ग्याउने सहमति भएको बताए ।
साना दलहरू सरकारमा जान आतुर
लुम्बिनीमा जनमत पार्टी, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान आतुर छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसको थप एक जना मन्त्री र साना दलबाट २ गरी अझै ३ जना मन्त्री बन्ने रातोपाटीलाई बताए । तर साना दलमध्ये कसलाई सरकारमा सामेल गर्ने भन्नेबारे प्रस्ट भइनसकेको उनको भनाइ छ ।
लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले आफूहरू सरकार जाने करिब निश्चित भएको रातोपाटीलाई बताए ।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्म बहादुर चौधरीले पनि सरकार जाने विषयमा अनौपचारिक छलफल चलिरहेको बताए ।
यस्तै जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा जाने सोच बनाएको बताए । उनले संघ, मधेस र लुम्बिनी प्रदेशमा सरकारमा आफ्नो पार्टी सहभागी हुने खुलाए ।
अकोश राई नेतृत्वको जसपा पनि लुम्बिनी सरकारमा जान इच्छुक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव