बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

‘हनुमान नाच’ हेरेपछि...

बिहीबार, १७ साउन २०८१, १० : २७
बिहीबार, १७ साउन २०८१

मेरो पहिलो चरणको परीक्षा सकेपछि बिदा मनाउन म बाग्लुङ गएको थिएँ । मेरो घर पर्वत । तर म बाग्लुङमा बेलाबेला गइरहन्छु । त्यहाँ हाम्रो आफन्तहरू हुनुहुन्छ ।

बाग्लुङ बजारमा हनुमान नाचको ‘रिहर्सल’भइरहेको रहेछ । ड्याडीले भने अनुसार पहिले–पहिले हनुमान नाच बिजोर (तीन, पाँच, सात र नौ) वर्ष पारेर गाईजात्राको समयमा देखाइने रहेछ । 

पछिल्लो समय रोजगारीका सिलसिलामा युवाहरू विदेशतिर गएका छन् । यो नाच जानेका कतिपय मानिस बसाइँ सरेर गएछन् । त्यसैले नाच देखाउने मानिसको कमी भएछ । बुढापाकाको निधन हुँदै जाँदा यो नाच लोप हुने अवस्थामा पुगेको रहेछ । संस्कृति जोगाउने उद्देश्यले केही युवाहरू जुटेर यो वर्षदेखि नाच देखाउन लागिएको रहेछ ।

यो हनुमान नाच नेवार समुदायको परम्परा र संस्कृतिमा आधारित रहेछ । तल–माथि रातो र कम्मरमा सेतो पहिरन लगाएर, सेतो पुच्छर जोडेर हनुमान जस्तै भई दुई हातमा लाठी लिएर दायाँ–बायाँ गर्दै यो नाच नाच्दा रहेछन् । उनीहरूको खुट्टामा घलङ (बज्ने मुजुरा) बाँधिएको हुन्छ । 

बाजाको तालमा नाच्दा शरीर फुरुङ्ग हुने र सुरुमा टोली नेता (ज्यामाको)ले प्रारम्भ गरेपछि अरुले पनि त्यसकै इसारामा यो नाच नाच्ने गर्छन् । एक समूहमा न्यूनतम १४ जना हुने रहेछन् । बाजाको तालमा एक अर्काले लठ्ठी ठोक्नुपर्ने हुन्छ । विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लंका पार गर्ने तरिका लगायत यस नाचका दशवटा ताल रहेछन् ।  हनुमान नाचमा संलग्न पुजारी बालकले सेतो गन्जी र कछाड बाँध्ने गर्छन् । 

पहिले–पहिले हाम्रो नेवार समुदाय मात्र सहभागी हुँदै आएको यो नाचमा अहिले अन्य समुदायका बालक, युवाहरू पनि सहभागी भएका छन् । भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बाग्लुङका नेवार समुदायले पनि यसको संरक्षणमा नाच्ने गरेका छन् ।

भक्तपुरका नेवार समुदाय वि.सं. १७६८ मा बाग्लुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेछ । 

...
नमुना आवासीय माध्यमिक विद्यालय पर्वत कुस्मा
कक्षा –८

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्लोक सिंह श्रेष्ठ
श्लोक सिंह श्रेष्ठ
लेखकबाट थप