शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक

शुक्रबार, २२ जेठ २०८३, २० : २४
शुक्रबार, २२ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने उक्त बैठकमा पार्टीको विगतको समीक्षा, वर्तमान राजनीतिक अवस्थाको मूल्याङ्कन र भविष्यको दिशानिर्देशबारे विस्तृत छलफल सुरु भएको पार्टीका महासचिव अनिल महासेठले जानकारी गराए। 

बैठकमा सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउन र भावी रणनीतिक योजना तय गर्न विभिन्न एजेन्डाहरूमाथि बहस सुरु भएका उनले बताए। पार्टीले आगामी वैचारिक एवं सङ्गठनात्मक कार्ययोजना अन्तर्गत विशेष गरी पाँच वटा मुख्य क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गर्ने जनाएको छ।

जसअन्तर्गत वर्तमान विशेष परिस्थितिमा पूर्वीय सभ्यतामा आधारित स्वदेशवाद र संवादात्मक सापेक्षतावादको वैचारिक विकास गर्ने तथा बलियो सङ्घीयता अन्तर्गत बहुलराष्ट्र राज्य एवं प्रकृति अनुकूल समृद्धिको वैचारिकी स्थापित गर्ने नीति लिइएको छ। 

यसका लागि पार्टीबाहेक अन्य विभिन्न प्लेटफर्ममा त्यसलाई प्रोत्साहन गरिने छ । त्यस्तै, मधेस, थरुहट, आदिवासी तथा उत्पीडित समुदायहरूमा मुद्दामा आधारित सङ्गठन विस्तार गर्ने र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल भइरहेको छ।

बैठकले लिंग, जाती एवं उमेरगत समावेशिता सुनिश्चित गर्दै पहिचान र अधिकारबाट वञ्चित रहेका महिला, राज्यविहीन जाति/राष्ट्र र युवाहरूलाई विशेष प्राथमिकता दिएर नयाँ नेतृत्व निर्माण गर्ने लक्ष्य राखेको छ। 

यसका साथै पार्टीको विचारलाई जनस्तरसम्म पुर्‍याउन डिजिटल तथा वैकल्पिक सञ्चार सञ्जालको व्यापक विस्तार गरिने योजना बनाइएको छ। स्थानीय सरकार दलविहीन र सामुदायिक अभ्यास केन्द्रित हुनुपर्ने मान्यता राख्दै, सोही अनुरूप स्थानीय सरकार केन्द्रित राजनीतिक हस्तक्षेप गर्ने गरी विशेष कार्यक्रमहरू तय गरिने जानकारी दिइएको छ।

राष्ट्रिय मुक्ति पार्टीले आगामी निर्वाचनलाई मात्र नभई आगामी पुस्तालाई लक्ष्य बनाएर दीर्घकालीन रूपमा काम गर्ने रणनीति अख्तियार गरेको छ। सोही कार्ययोजनामा आधारित रहेर समान विचार राख्ने विभिन्न राजनीतिक शक्ति एवं दलहरूसँग एकता प्रक्रियालाई समेत अगाडि बढाउने बताइएको छ । भोलिसम्म चल्ने बैठकले पार्टीको आगामी ठोस निर्णयहरू सार्वजनिक गर्ने महासचिव महासेठले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप