अग्रिम टिकट बुकिङकै बेला घट्यो इन्धनको मूल्य, भाडादर के हुन्छ ?
काठमाडौँ । नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गर्यो । समायोजित नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।
पछिल्लोपटक फागुनको पहिलो साता १७२ रुपैयाँसम्म पुगेको पेट्रोलको मूल्य करिब ७ महिनाको अवधिमा १३ रुपैयाँले घटेको छ । त्यस्तै, सोही समयमा १६० रुपैयाँ रहेको डिजेलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटेको छ । यो क्रमशः ७.५६ प्रतिशत र ६.८८ प्रतिशत हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घट्दा आफ्नै सवारी भएका उपभोक्तालाई प्रत्यक्ष राहत भएको त छ नै पेट्रोलियम पदार्थको मूल्यसँगै यसको ‘फरवार्ड र ब्याकवार्ड लिङ्केज’ भएका वस्तुहरूको मूल्यमा पनि राहत पुगेको छ । पेट्रोलियम पदार्थको मूल्यकै कारण नेपाल राष्ट्र बैंकको नियमित सर्भेक्षणमा समेत उपभोक्ता मूल्य सूचकांकको वृद्धि लक्षित सीमामा रहन सकेको छ । तर, यसको प्रत्यक्ष लाभ सार्वजनिक यातायात प्रयोगकर्ताले भने पाउन सकेका छैनन् ।
समायोजन होला भाडादर ?
सरकार र यातायात व्यवसायीबिच भएको सहमति अनुसार पेट्रोलियम पदार्थमा ५ प्रतिशत घटबढ भएपछि भाडादर समायोजन गर्नुपर्छ । त्यसरी समायोजित भाडामा इन्धनको भारलाई ६५ प्रतिशत मानेर भाडा घटबढ गर्नुपर्ने व्यवस्था गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् । तर, सरकारले करिब १३ महिनादेखि भाडादर समायोजन गरेको छैन ।
त्यसो त, पछिल्लो समय भाडादर निर्धारण गर्दा विभागले पेट्रोलको मूल्य १६५ रुपैयाँ ८३ पैसालाई आधार मानेको छ । यो आधारमा हेर्दा अहिलेको मूल्यमा १०.१४ प्रतिशत गिरावट आइसकेको छ । तर, अहिलेसम्म पनि सरकारले भाडादर समायोजन गरेको छैन ।
यातायात व्यवस्था विभागले पछिल्लोपटक २०८० साउन ३१ गते भाडादर समायोजन गरेको थियो । त्यसपछि यो दरलाई यथावत् राखेको छ । महासंघका अध्यक्ष सिटौला भाडादरको समायोजन यातायात व्यवसायीले नभई सरकारले गर्ने भएकोले व्यवसायीसँगको सहमति अनुसार गरिएको भाडादर समायोजनमा आफूहरूको विरोध नहुने बताउँछन् ।
कहिले खुल्छ अग्रिम टिकट ?
यो वर्षको दसैँ आउन अब एक महिनाभन्दा कम समय बाँकी छ । यो अवस्थाका दसैँका लागि तयारी समेत सुरु भइसकेको छ । बजारमा चाडपर्वकेन्द्रित चहलपहल सुरु भइरहँदा गृहजिल्ला फर्कनको लागि सवारी साधनको टिकट बुकिङको भने अझै टुंगो लागेको छैन ।
महासंघका वरिष्ठ उपाध्यक्ष सिटौला अहिलेसम्म अग्रिम टिकटको सन्दर्भमा सरकारसँग कुनै छलफल नभएको बताउँछन् । मन्त्रालय र विभागसँग अनौपचारिक कुराकानी भए पनि हालसम्म औपचारिक वार्ताको लागि पत्र प्राप्त समेत नभएको उनको भनाइ छ ।
‘आजसम्म यसबारे कुनै छलफल भएको छैन । आजसम्म खबर नआउँदा भोलि बस्ने सम्भावना रहेन, असोज १ गते विश्वकर्मा पूजा भएकोले यो सम्भावना कम नै छ,’ सिटौला भन्छन्, ‘प्रारम्भिक चरणको छलफल असोज २ गते हुन सक्छ, तर औपचारिक पत्र आएको छैन ।
उनले यो वर्ष पानी परिरहेको र प्रमुख राजमार्गको अवस्था समेत नाजुक रहेकोले यात्रा निकै कठिन रहेको बताउँछन् । ‘यात्रुलाई टिकट कटिदिएर मात्रै भएन, गन्तव्यमा पुर्याउनु पनि पर्यो,’ सिटौला भन्छन्, ‘अबको बैठकमा यिनै विषयमा केन्द्रित भएर सरकारसँग छलफल गर्छौं ।’
यसैबिच यातायात व्यवस्था विभागका एक अधिकारीले घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे अनौपचारिक छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज शारदिय नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
-
भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
-
झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना
-
मस्कोमा नेपाली कविलाई 'गोल्ड फेदर अफ रसिया' द्वारा सम्मान
-
डेङ्गुमा साँच्चै फाइदाजनक छ त मेवाको पातको जुस ?