कोशीको टापुमा फसेका ३४ जनाको अझै भएन उद्धार
विराटनगर । अविरल वर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै छ । नदीको जलसतह बढेसँगै वराहक्षेत्र ६ र ९ नम्बर वडामा पर्ने कोशी टप्पु क्षेत्रमा (चिलिया टापु) फसेका ३४ जना सर्वसाधारणको उद्धार हुन सकेन । वराहक्षेत्र ६ मा २२ जना र ९ मा १२ जना फसेका छन् ।
वराहक्षेत्र ६ ठाकुरीवारीस्थित कोशीको चिलिया टापुमा भैँसी पालन गरी बस्ने गरेका उनीहरू त्यही अलपत्र परेका हुन् । उनीहरूको उद्धारको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले दिउँसो नै घटनास्थलमा पुगेर उद्धारको प्रयास गरेको थियो । तर, उनीहरूलाई डुङ्गा र बोटबाट त्यहाँ पुगेर उद्धार गर्न नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि असफल बनेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार त्यहाँ ३४ जना बसेका छन् । उनीहरू बसेको स्थानमा पनि पानीको सतह बढिरहेको छ । ‘अहिलेसम्म उहाँहरू सुरक्षित नै हुनुहुन्छ । तर जोखिममा हुनुहुन्छ,’ तिवारीले भने । दिनभर उनीहरूको उद्धारको लागि केन्द्र सरकारसँग समन्वय भइरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको थियो । यद्यपि मौसमको खराबी देखाउँदै हेलिकप्टर त्यस क्षेत्रमा आउनै सकेन ।
सप्तकोशीको पानीको बहाव अहिले साँझ ७ बजे ५ लाख ९० हजार ३८५ क्युसेक पुगेको छ । पानीको बहाव अझै बढ्दै जाने टेण्ड देखिएको प्रमुख जिल्ला अधिकारी तिवारी बताउँछन् । तर, फसेकाहरुको उद्धार गर्न नसक्दा उनीहरू आज रातभर पानीमै डुबेर बस्नुपर्ने अवस्था रहेको तिवारीले बताए । तिवारीका अनुसार उनीहरूसँगै रहका केही पशु चौपाया भने बाढीले बगाइसकेको छ ।
‘उहाँहरूको आज उद्धार गर्न सकिएन । जोखिम मै हुनुहुन्छ । किनभने अहिले पनि उहाँहरू बसेको ठाउँमा पानी छ । अब पानी धेरै बढेन, अप्रत्याशित रूपमा पानीको बहाव घट्दै गयो भने– ‘सुरक्षित नै रहनुहोला,’ तिवारीले भने, ‘उहाँहरू कतिले खाना बनाएर खायौँ भनेर खबर गर्नुभएको छ । तर, पानीको सतह उहाँहरू बसेको स्थानमा आइसकेको कारण जोखिम भयो ।’
उनले आज दिउँसो हेलिकप्टर आउन मौसमको कारणले नसकेको भए पनि भोली बिहानै मौसम सफा हुने बित्तिकै आएर उद्धार गर्ने आशा व्यक्त गरे ।
‘डुङ्गा वा बोटबाट नेपाली सेना वा प्रहरी जान सक्ने अवस्था पनि भएन । अब भोलि बिहान मौसम खुल्ने बित्तिकै हेलिकप्टर आउने तयारीमा छ काठमाडौँमा । आज राती त्यही बस्नुहुन्छ होला । उहाँहरू सधैँ त्यही बस्ने गर्नुभएको हो । तर, जोखिमपूर्ण बसाई भयो,’ तिवारीले भने, ‘उहाँहरू भएको ठाउँमा पानीमै डुबेर बस्नु भएको छ । केही हदसम्म पानी आइसकेको भन्ने छ । अहिलेसम्म पाएको सूचनामा केही पशु चौपायाहरू चाहिँ क्षति भइसकेको भन्ने छ । मान्छे चाहिँ सुरक्षित नै हुनुहुन्छ । अब राति पानी घटेन भने जोखिम बढ्दै जान्छ । अहिलेसम्म त पानी बढ्दो ट्रेन्डमा छ । पहाडमा पनि पानी परिरहेको छ । नाप जाँचमा पनि पानीको बहाव बढिरहेकै छ ।’
सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । अहिले भर्खरको मापन अनुसार पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ९० हजार ३८५ क्युसेक पुगेको छ । यस्तै कोशी ब्यारेजका ५६ वटै ढोका खुलेका छन् भने सवारी साधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण