विपद्मा देखिएन सरकारको चुस्त उद्धार
काठमाडौँ । दुई दिनदेखि लगातार भएको वर्षाले काठमाडौँ उपत्यकासहित देशभर ठुलो क्षति पुर्याएको छ । ठुलो वर्षा हुने मौसम विज्ञान विभागको पूर्वानुमानका बाबजुद उद्धारमा सरकारको असफलतालाई पनि उदाङ्गो बनाएको छ ।
उद्धार र विपद्को तयारीमा सरकारको कमजोरीलाई काठमाडौँकै एक घटनाले उजागर गरिदिएको छ । सबै सुविधा तत्काल उपलब्ध हुन सक्ने ललितपुर उपमहानगरपालिकाभित्र पर्ने नख्खु खोलाको बाढीमा फसेका चार जनाको उद्धार समयमै हुन सकेन ।
शनिबार बिहानैदेखि ललितपुरको नख्खु खोला किनारा एउटा टहरोको छतमा बाढीले घेरिएर चार जना बसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उद्धारको पर्खाइमा घण्टौँसम्म बस्दा पनि त्यहाँ राज्यसंयन्त्रले समयमै ध्यान दिन सकेन ।
कम्तीमा तीन घण्टासम्म टिनको छानामा उद्धारको पर्खाइमा उनीहरू बस्दा सरकारले समयमै चासो दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । राजधानी क्षेत्रमै भएको यो घटनाले दुरदराजका गाउँमा कस्तो हविगत होला भन्ने सोच्न सबैलाई बाध्य बनाएको छ ।
बालबालिकासहित रहेका उनीहरूलाई डोरीको सहायताले उद्धार गर्ने कोसिस स्थानीयवासी र केही सुरक्षाकर्मीले गरेका थिए । तर तीव्र बहावका कारण त्यो सम्भव भएन । खोला बढ्यो अनि उनीहरूलाई टहरासहित बगायो ।
नख्खुखोलामा बाढी आएपछि शुक्रबार बेलुका नै प्रहरीले खोला आसपासमा नबस्न चेतावनी दिएको थियो । अधिकांशले उक्त क्षेत्र छाडे पनि एक परिवार सोही टहरोमा बसिरहेका थिए ।
बिहान वर्षा झन् बढ्यो । ६ बजेपछि बाढी बढ्न थालेपछि खोलानजिकको टहरो बाढीले घेरिएको थियो । दुईतिर खोलाको बाढी आएपछि चार जना आत्तिएर छतमा चढेर गुहार मागेका थिए । प्रहरीका अनुसार यसरी बग्ने सबै ग्रिल कारखानामा काम गर्ने मजदुरको परिवार थियो । उनीहरू रौतहट निवासी हुन् ।
खोलाले केहीबेर बगाएपछि उनीहरूमध्ये तीन जनाको उद्धार गरिए पनि एक जना हालसम्म बेपत्ता छन् । उद्धार गरिएकामध्ये राजु साह, राज साह र मेघना साहको पाटन अस्पतालमा उपचार भइरहेको छ । सेतु साह बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
देशभरिका विपद्सम्बन्धी घटनामा राज्यका जिम्मेवार निकायहरूले उद्धारमा तदरुकता नदेखाउँदा कतिपयको ज्यान गएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
ललितपुरकै घटनालाई हेरेर पनि विपद्का व्यवस्थापन तथा उद्धार कार्यमा नेपालका सरकारी निकायहरू गैरजिम्मेवार, तयारी शून्य र लाचार देखिएको विज्ञहरूको टिप्पणी छ ।
विपदविज्ञ डा धर्मराज उप्रेतीको विचारमा सरकारले विपद् अगाडि गर्नुपर्ने तयारी नगरेका कारण अहिलेको अवस्था आएको हो । ‘ठुलो वर्षा हुँदैछ, त्यसले विपद् ल्याउन सक्छ भनेर पहिले नै सचेत गराइएको थियो तर सरकारले तयारी गरेन,’ डा. उप्रेतीले भने, ‘विपद्लाई खेलाँचीको रूपमा हेर्ने र लगानी नगर्ने प्रवृत्ति यसमा दोषी छ ।’
अर्थ मन्त्रालयदेखि महालेखासम्मको भूमिकालाई उनले यो प्रकरणमा दोषी ठहर गरेका छन् । ‘विपद्का लागि रकम छुट्ट्याउनुपर्छ भन्ने सोच अर्थ मन्त्रालयको भएन । यो लेखा परीक्षणका क्रममा रोक्न हुँदैन भन्ने सोच हामीकहाँ भएन,’ उनले भने, ‘विपद् ऐन २०७४ले परिकल्पना गरेका कुनै पनि संरचनाले काम नगर्नु पनि अहिलेको अवस्था आउनुको कारण हो ।’
सरकारहरूको काम गर्ने शैली नै उल्टो भएको डा. उप्रेतीको बुझाइ छ । ‘विपद् आउँदै छ भनेपछि पहिलाचाहिँ विपद् परिषदको बैठक राखेर तयारी र निर्देशन दिनुपर्ने हो नि,’ उनले भने, ‘हिजो क्षति भएपछि सुरक्षा परिषदसहितको बैठक राखेर गृहमन्त्रीले निर्देशन दिनुभयो । यो ठिक उल्टो कामगराइ भयो ।’
स्थानीय र केन्द्र सरकार दुवै विपद् भएपछिमात्र सक्रिय देखिने संस्कृति देखिएको उनको भनाइ छ । दलहरूको सक्रियता नहुनुलाई पनि उनी यसको कारक मान्छन् । ‘दलहरूका संयन्त्र देशभर छन् । उनीहरूको विभाग पनि छ । तर उनीहरूले जसरी काम गर्नुपर्ने हो, त्यो गरेनन्,’ उप्रेतीले भने, ‘उनीहरूले काम गरेको भए उद्धारदेखि सूचना प्रवाहसम्म छिटो हुने थियो र स्थानीयदेखि केन्द्र सरकारसम्मले बजेट पनि पर्याप्त दिने थियो ।’
दलहरूको चासो नभएपछि स्थानीय सरकारले बजेट नै नछुट्ट्याएको उनको अनुभव छ । ‘यस्ता खालका अति वृष्टि र अनावृष्टिलाई सम्बोधन गर्ने तयारी नै सरकारको भएन । यो ठुलो स्केलको विपद् थियो । त्यही अनुसारको तयारी हुनुपर्ने थियो,’ उनले भने, ‘यसका लागि राष्ट्रिय गाइडलाइन हुनुपर्ने हो । तर केही पनि छैन ।’
सरकारले रात्रि बस नचलाउन आग्रह गरे पनि ठुलो वर्षा हुने पूर्वानुमानका बाबजुद रोक्न नसक्दा राजमार्गमा कयौँ सवारी साधन पहिरोले पुरिएको उप्रेती बताउँछन् । उनले भने, ‘किन बस व्यवसायीले सरकारको निर्देशन मानेनन् ? सरकारी निर्देशन नमान्नेलाई किन कारबाही भएन त ?’
बस व्यवसायमा पनि राजनीतिक दलहरूको संलग्नता र संरक्षण रहेकाले सरकारको निर्देशनलाई अटेर गरेर राति बस चलाउँदा ठुलो मानवीय क्षति भएको उप्रेती बताउँछन् ।
विपद्विज्ञ एवं नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री पिताम्बर अर्याल विपद्का देशभरका घटनामा सरकारको चुस्तता नदेखिएको बताउँछन् ।
पछिल्ला घटनाले सरकारका तर्फबाट यस्ता विपद्मा गरिनुपर्ने ‘आकस्मिक प्रतिकार्य’मा तयारी नभएको प्रस्ट देखिएको उनको भनाइ छ । सरकारले विपद् आउँदै छ भनेर नागरिकलाई सचेत गराइरहे पनि आफूचाहिँ सम्भावित घटनापछिको तयारीमा नदेखिएको उनले टिप्पणी गरे ।
‘कुनै दुर्गम स्थानमा पुग्न समय लाग्न सक्छ । भौगोलिक असहजताले गर्दा सरकारको उपस्थितिका लागि समय लाग्न सक्छ । तर ललितपुरकै नख्खुमा फसेका मानिसलाई घण्टौँसम्म उद्धार गर्न सकिँदैन भन्ने कसरी विश्वास गर्ने ?’ अर्यालले भने, ‘उपत्यकाभित्रै घण्टौँसम्म उद्धार हुँदैन भने अन्यत्र राज्यको उपस्थिति कस्तो होला ? नख्खुको घटनामा सरकारले छुट पाउने देखिँदैन ।’
दुर्घटनाका विषयमा अनुसन्धान गर्दै आएका डा. पुष्पराज पन्तले ठुला जोखिमका सम्बन्धमा सरकारको तयारी समयमा नहुँदा धेरै क्षति सहन बाध्य हुनुपरेको टिप्पणी गरे ।
‘नेपालमा उद्धारप्रति सरकारी निकायहरूले सधैँ बेवास्ता गर्दै आएका छन् । यस पटक पनि त्यही देखियो,’ उनले भने, ‘ललितपुरको नख्खु क्षेत्रमा दश मिनेटमा हलिकोप्टरबाट राज्यले उद्धार गर्न सक्ने अवस्था रहे पनि यो घटनामा राज्य चुकेको देखिन्छ ।’
विपद्को घटना कतिबेला हुन्छ अनि प्रधानमन्त्री वा मन्त्रीले बैठक बसेर कहिले निर्देशन दिन्छन् भनेर कुरेर बस्न नमिल्ने अर्यालको भनाइ छ । उनले भने, ‘विपद् र उद्धारका लागि नै काम गर्ने भनेर संस्था र संयन्त्रहरू बनाइएका छन् । तिनीहरूले तत्काल काम गर्नुपर्ने होला नि !’
सरकारले केही दिन रात्रि बस नचलाउन भने पनि बस व्यवसायीले नमान्दा नौबिसे–नागढुङ्गामा केही बस पुरिएर धेरै मानिसले ज्यान गुमाउनु परेको उनको भनाइ छ । यसमा सरकार र व्यवसायी दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए ।
सरकारले यस्तै विपद्मा काम गर्नका लागि केन्द्रमा प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाएको छ । प्राधिकरणले विपद्को जोखिमलाई न्यूनीकरण गर्ने र त्यसका तयारी गर्ने काम गर्दछ । प्राधिकरणको कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुन्छन् ।
शुक्रबारदेखि परेको अवरिल वर्षाका कारण ठुलो क्षति हुनसक्ने सङ्केत मौसम विभागले केही दिन अघिदेखि गरे पनि विभिन्न ठाउँमा सरकारका कमजोरी देखिएको विज्ञ बताउँछन् ।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले प्राधिकरणले काम गरिरहेको बताए । देशभर उद्धारमा ढिलाइ भएकोबारे गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सरकार उद्धारमा सक्दो खटिएको दाबी गरे । उनले आइतबार १२ बजेसम्म १२७ जना मृत्यु भएको, ७६ जना घाइते, ८८ जना बेपत्ता भएको तथ्याङ्क सङ्कलन गरेको बताए ।
‘गृह मन्त्रालयले घटना भएको जानकारी आउने बित्तिकै उद्धार टोली खटाएर काम गरिरहेको छ,’ तिवारीले भने, ‘मौसम प्रतिकूल हुँदा कतिपय अवस्थामा हेलिकोप्टर जानलाई ढिलाइ भएको हुन सक्छ तर नियत राखेर ढिलाइ गरिएको छैन ।’
उनले सबै नागरिकलाई बचाउने कोसिस गरिएको र कतिपय स्थानमा भौगोलिक कारणले पनि कठिनाइ भएको जिकिर गरे ।
ललितपुरको उक्त घटनामा जस्तै कतिपय स्थानमा उद्धारमा ढिलाइ भएको भनेर आलोचना भइरहेका बेला गृह मन्त्रालयले देशभरि डुङ्गा तथा हेलिकोप्टरमार्फत उद्धार कार्य गरिएको दाबी गरेको छ ।
‘सरकारले जहाँ जेबाट सम्भव हुन्छ, उद्धार गर्ने काम सबै सुरक्षा निकाय परिचालन गरेर गरिरहेको छ,’ तिवारीले भने, ‘राज्य संयन्त्र विगतमा पनि अलर्ट भएकै कारण यसरी परिचालन हुन सकेको हो ।’
उनका अनुसार मौसम खुलेपछि कतिपय जिल्लामा अहिले पनि हेलिकोप्टरमार्फत् उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
ललितपुरको घटनामा महानगरपालिकाले पनि काम गर्न नसकेको भनी आलोचना भएको छ । आफ्नो क्षेत्राधिकारभित्र तीन घण्टासम्म उद्धार माग गर्दा पनि किन पुग्नु भएन भनी ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई सोध्दा उनले विविध कारणले सबैतिर ध्यान पुर्याउन नसकेको बताए । उनले शनिबार नै ललितपुरको वडा नम्बर १३ मा दुईवटा बसको छतमा ६३ जना मानिस फसेकाले नगरप्रहरीहरू उनीहरूको उद्धारमा केन्द्रित भएको, नगरका अन्य स्थानमा पनि खटिँदा नख्खुमा उद्धारका लागि पुग्न सम्भव नभएको बताए ।
‘नगरपालिकाले उक्त क्षेत्रमा पनि सक्दो कोसिस गर्नुपर्ने थियो । तर विविध कारणले सम्भव भएन,’ महर्जनले भने, ‘प्राकृतिक विपत्तिमा सबैतिर एकैपटक ध्यान पुर्याउन नसकिने रहेछ । सकेसम्म सबैतिर ध्यान दिएर काम गरिरहेका छौँ ।’
उनले बाढीपहिरोका बेलामा उद्धार गर्नका निम्ति महानगरपालिकासँग स्रोतसाधन नभएकाले चाहेर पनि कतिपय ठाउँमा उद्धार गर्न नसकिने प्रस्ट पारे । नख्खुमा उद्धारका लागि हेलिकोप्टरदेखि अन्य उच्चस्तरीय साधनको आवश्यकता पर्ने र त्यो आफूहरूसँग नभएको उनले बताए ।
‘नगरपालिकासँग बाढीका बेला उद्धार गर्ने एउटा डुङ्गा पनि छैन,’ महानगर प्रमुख महर्जनले भने, ‘खोलाको भेलमा कसरी पसेर उद्धार गर्ने ? त्यसका लागि हामी पनि नेपाली सेना र सशस्त्र प्रहरीमै भर पर्नुपर्ने अवस्था छ ।’
महानगरका लागि पनि यो विपद् एउटा सिकाइ पनि भएको र आगामी कार्यपालिका बैठकहरूमा यस्ता उद्धारका लागि पनि छलफल हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्न सरकारले ध्यान दिएन : अध्यक्ष सिंह
-
नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा काफ्ले
-
आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनबोल बढेन : अध्यक्ष ढकाल
-
बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्कियो: अध्यक्ष अग्रवाल
-
टीयू क्रिकेट मैदानमा महान् क्रिकेटर ब्रायन लारा (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँको कमाल