भाउजूको सङ्गतले देह व्यापारमा धकेलिएकी किशोरीको व्यथा
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित रामेछाप खाजा घर एण्ड गेष्ट हाउसमा गत साउन ३ गते प्रहरीले छापा मार्दा १६ वर्षीय किशोरी भेटिइन् । उद्धारकर्तासँग ती किशोरीले आफू इच्छा विपरीत यौन व्यवसायमा धकेलिएको बताइन् ।
खाजा घर सञ्चालक रामेछाप घर भएका नवीन थापा र व्यवस्थापक काठमाडौँ, कागेश्वरी मनोहरा घर भएका उज्ज्वल खड्काविरुद्ध ती किशोरीले जाहेरी दिइन् । थापा र खड्का दुवै अहिले थुनामा छन् । आन्तरिक बेचबिखनमा परेकी किशोरीको आफ्नै व्यथा छन् ।
५ जना परिवारसँग कोटेश्वर नजिकै बस्ने उनले १० कक्षा पास गरिन् । कक्षा ११ मा अध्ययन गर्नुपर्ने उनी पढाइमा रुचि नभएकाले भाउजू नाता पर्नेसँग हिँड्न थालिन् ।
भाउजूसँगै खाजा खान जाँदा कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्ट हाउस सञ्चालकसँग आफ्नो चिनजान भएको ती किशोरीले बताइन् । भाउजू नाता पर्ने रिता राई (नाम परिवर्तन)ले उनलाई राम्रो आम्दानी हुने भन्दै सोही गेष्ट हाउसमा काम गर्न सुझाव दिइन् ।
ती किशोरीका अनुसार दैनिक खर्च चलाउन सहज हुने भनेर ती भाउजूले प्रलोभन देखाइन् । ‘म त्यस्तो काम गर्दिनँ’ भनेर बारम्बार भनिरहँदा पनि रिताले उनलाई करकापमा पारेर २०८१ असार ४–५ गते गेष्ट हाउसमा लगिन् ।
पीडित किशोरीले भनिन्, ‘असारको ४–५ गतेतिर रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा हामी गएका थियौँ ।’ गेष्ट हाउस सञ्चालक नवीन थापाले सुरुमा उनलाई ‘शारीरिक सम्पर्क राखेमा दुवै पक्षलाई राम्रो आम्दानी हुन्छ’ भनेर फकाए । शारीरिक सम्पर्क राख्दा अस्थायी साधनको प्रयोगका कारण ढुक्क हुन्छ भने ।
ग्राहकसँग १ हजार रुपैयाँ लिने र सो रकम आधा–आधा हुने गरी बाँड्ने भन्दै पीडित किशोरीलाई नविनले ‘काउन्सेलिङ’ गरे । किशोरी भन्छिन्, ‘गेष्ट हाउसमा पुगेको पहिलो दिन नै मलाई ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाए ।’
पहिलो दिनबाटै काम गर्न मन नलागेपछि किशोरीले भनिन्, ‘अब म यस्तो काम गर्दिनँ ।’ गेष्ट हाउस सञ्चालक नवीन थापाले आफूलाई ‘तिम्रो इज्जत गइसक्यो । तिमीले अब यो काम गर्नैपर्छ, नगर्ने हो भने तिमीलाई म यहाँबाट जान दिन्नँ’ भनेर दबाब बढाएको किशोरीको भनाइ छ ।
आफूलाई त्यहाँ पुर्याउने भाउजू (रिता)ले पनि ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्ने गरेको किशोरी बताउँछिन् ।
उज्ज्वल खड्का गेष्ट हाउस व्यवस्थापक थिए । उनले ग्राहक खोजेर ल्याउँथे । एकदिन किशोरीले आफूलाई निकै गाह्रो भएको भन्दै घर जान खोजिन् । तर, नवीन थापा र उज्ज्वल खड्काले उनलाई धम्की दिए– ‘तिमीले काम छाड्यौ भने घर परिवारलाई तिमीले गर्ने कामको बारेमा जानकारी गराइदिन्छौँ ।’
त्यस्तो त्रासपछि उनी वेश्यावृत्ति गर्न बाध्य भइन् । त्यहाँ उनीजस्तै ६ जना किशोरी र बालिका त्यस्तो काम गर्न बाध्य थिए । किशोरीले भनिन्, ‘मैले काम गर्न नमान्दा बियर लगायत मादक पदार्थ खुवाएर जबरजस्ती विभिन्न ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाउँथे ।’
(फोटो : किशोरीलाई वेश्यावृत्ति गर्न बाध्य बनाउने उज्ज्वल र नवीन )
- भाउजूसँगको सङ्गतले गेष्ट हाउससम्मको यात्रा (पीडित किशोरीकै शब्दमा)
परिवारमा बुवाआमा, दिदी, दाइ र मसमेत ५ जना कोटेश्वर नजिकै डेरामा बस्थ्यौँ । बुवा ड्राइभर र आमा गार्डेनरको रूपमा काम गर्नुहुन्छ । १० कक्षा पास गरेर किङ्गस कलेजमा भर्ना गर्न लाग्दा मलाई पढ्ने रुचि भएन । पढाइ छाडेर बसेको अवस्थामा नाताले भाउजू पर्ने रिता राई (नाम परिवर्तन) सँग खाजा खान जाने क्रममा ‘रामेछाप खाजाघर एण्ड गेष्ट हाउस’ सञ्चालक नवीन थापासँग चिनजान भएर मित्रता बढ्दै गयो ।
भाउजूले पैसाको जोहो गर्न पर पुरुषसँग शारीरिक सम्पर्क राख्नुहुँदो रहेछ । मलाई उहाँले परिवारलाई थाहा नदिइ त्यस्तो काम गर्न सकिने र राम्रो आम्दानी हुन्छ भन्ने कुरा गर्नुभयो । रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा यस्तो काम गर्दै आएको कुरा उहाँले मलाई भन्नुभयो । मैले ‘यस्तो काम म गर्दिनँ’ भने ।
ठुलो ममीको छोरासँग विवाह गरेको हुनाले नातामा मेरो भाउजू पर्ने उहाँले मलाई सो काम नगरे दाइलाई छोडिदिन्छु भन्न थाल्नुभयो । म र भाउजू २०८१ असारको पहिलो सातामा कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा गएका थियौँ ।
गेष्ट हाउस सञ्चालक नवीन थापाले ‘शारीरिक सम्पर्क राखेमा तिमीलाई र मलाई पनि राम्रो आम्दानी हुने’ बताए । भाउजूले पनि शारीरिक सम्पर्क राख्ने हुनाले सुरक्षित तरिकाले सो काम गर्दा गर्भसमेत नरहने नविनको भनाइ थियो । नविनले मलाई भने, ‘गेष्ट हाउसमा आउने व्यक्तिहरूसँग एक पटक यौन सम्पर्क राख्दा १ हजार लिएर तिमीलाई ५ सय रुपैयाँ दिन्छु ।’
उनले मलाई पहिलो दिन नै ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाए । गेष्ट हाउसमा म र रिता छुट्टै बस्न थालेका थियौँ । ग्राहक आएपछि हामीलाई ग्राहकको कोठामा पठाउँथे । शारीरिक सम्पर्क राखेको पहिलो दिन नै मलाई काम गर्न मन नलागेकाले मैले अब यस्तो काम गर्दिनँ भन्दा सञ्चालक नवीन थापाले ‘तिम्रो इज्जत गइसक्यो, तिमीले नगर्ने हो भने यहाँबाट जान दिन्नँ’ भनेर बाध्यतामा पारे ।
उनीहरूले मलाई त्यसदिन पैसा पनि दिएनन् । ग्राहक खोजीखोजी ल्याएर हामीसँग शारीरिक सम्पर्क राख्दा मलाई गाह्रो भएपछि मैले घर जान खोजेँ । नवीन र उज्ज्वलले ‘काम छाड्यौ भने तिम्रो कामबारे बाहिर भनिदिन्छौँ’ भनेर धम्की दिए । त्रासका कारण म गेष्ट हाउसमा बसेर यौनकर्म गर्न बाध्य भएँ । काम गर्न नमान्दा बियर लगायत मादक पदार्थ खुवाइ मलाई जबरजस्ती विभिन्न ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाइन्थ्यो ।
महिनावारी भएको समयमा समेत मलाई जबरजस्ती शारीरिक सम्पर्क राख्ने काममा लगाइन्थ्यो । गेष्ट हाउसको सम्पूर्ण व्यवस्थापन हेर्ने उज्ज्वल खड्काले अस्थायी साधन ल्याइ म लगायत बालिका तथा युवतीहरूलाई दिइ ग्राहकसँग रकम लिएर यौनधन्दा सञ्चालन गरेका हुन् । म दैनिक ४ देखि ५ जनासँग शारीरिक सम्पर्क राख्न बाध्य भएँ । जबरजस्ती वेश्यावृत्तिमा लगाएको अवस्थामा २०८१ साउन ३ मा एक गैर सरकारी संस्थाको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट गएका प्रहरीले म लगायत ६ जनालाई उद्धार गरेको हो ।
मलाई वेश्यावृत्तिमा लगाउने भाउजू लोकन्थलीमा बस्नुहुन्छ ।
(पीडित किशोरीले अनुसन्धान अधिकृतहरूसँग गरेको कुराकानीमा आधारित)
- आन्तरिक बेचबिखनको अवस्था
बाह्यमात्र होइन्, देशभित्र हुने मानव बेचबिखनको अवस्था पनि डरलाग्दो छ । कमजोर आर्थिक अवस्था भएका किशोरी, महिला, बालक र बालिकाहरू मनोरञ्जन क्षेत्रमा काममा लगाउने बहानामा बेचिएका छन् ।
ग्रामीण क्षेत्रबाट काठमाडौँ आउने महिला र बालबालिकाहरू काठमाडौँ उपत्यकाको मसाज सेन्टर र मनोरञ्जन केन्द्रहरूमा बेचिने गरेको मानव बेचबिखन ब्यूरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
मसाज, गेष्ट हाउस अथवा दोहोरी साँझमा महिला र बालबालिकालाई गलत काममा लगाएको फेला पारेमा प्रहरीले उद्धार गरेर सञ्चालकविरुद्ध मुद्दा चलाउने गरेको छ । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिने एसपी मिश्रले बताए ।
- पछिल्लो ६ वर्षमा प्रहरीले देशभित्रबाट गरेको उद्धारको तथ्याङ्क :
पछिल्लो ६ वर्ष र चालु आर्थिक वर्षमा प्रहरीले देशभरबाट एक हजार ८३४ जनालाई उद्धार गरेको छ । काठमाडौँ उपत्यका र पोखराजस्ता सहरबाट जबरजस्ती यौनधन्दामा लगाइएकाहरूलाई उद्धार गरेर अनुसन्धान गर्ने गरिएको एसपी मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रविको हिरासतबारे ज्ञानेन्द्र शाही चिन्तितदेखि धनगढीका मेयर हमाललाई ब्रेन अट्याकसम्म
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल