लिलाबल्लभ अधिकारीलाई जापान पठाउने सूत्रधार थिए गोपाल गौतम
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अवैध तरिकाले चार जना मानिस लिएर जापान लैजाने योजनाका सुत्रधार मोरङ रतुवामाई ९ का योगराज भनिने गोपाल गौतम रहेको खुलेको छ ।
सोही काण्डमा फसेपछि अधिकारीले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नै क्षेत्रका एक जना चिनेजानेका व्यक्तिले पहिलो अफर आफूलाई दिएको बताएका थिए । ती व्यक्ति को हुन् भन्ने विषय उनले खुलाउन चाहेका थिएनन् ।
‘ती सामान्य व्यक्ति हुन् । एकदमै सोझा छन् । तपाईंहरू उसलाई किन फसाउन चाहनुहुन्छ ?,’ मन्त्री अधिकारीले भनेका थिए ।
तर, उक्त घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले भने ती व्यक्ति योगराज भनिने गोपाल गौतम भएको दाबी गरेका छन् । गौतम काठमाडौँ बसेर ठेक्कापट्टा र सिंहदरबारभित्र दलालीको काम गर्दै आएका छन् । नेकपा एमालेका नेताहरूसँग उनको बाक्लो उठबस र पहुँच रहेको बताइन्छ ।
टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा जान उनले नै मन्त्री अधिकारीलाई प्रस्ताव गरेका थिए । चिनेजानेकै मान्छेले भनेपछि सबै कुरा ठिक होला भनेर उनै गौतमलाई आफूले जापान जान पासपोर्ट बुझाएको मन्त्री अधिकारीले पनि स्वीकार गरेका छन् ।
यस्तै नक्कली सरकारी कर्मचारीको परिचयपत्र बनाएर जापान पठाउने गिरोहका योजनाकार मानिएका धादिङका महेश पाण्डेसँग पनि जापान उड्नु अगाडि अधिकारीको भेट गराएको खुलेको छ । जापान उड्ने अघिल्लो दिन कार्तिक १२ गते काठमाडौँमा गौतम र अधिकारीको भेट भएको थियो । गौतमसँगको फोटो अधिकारीले फेसबुकमा पनि शेयर गरेका छन् ।
जापान उड्ने दिन १३ गते गौतमले त्रिभुवन विमानस्थलमा अधिकारी र पाण्डेसँग भेट गराएका थिए । टोकियोमा हुने कार्यक्रमको नेपालतर्फको अर्गनाइजर आफू भएको जानकारी पाण्डेले गराएको अधिकारीको भनाइ छ ।
अधिकारीसँगै जापानले डिपोर्ट गरेका खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा अहिले प्रहरी हिरासतमा छन् । अधिकारी र उनीसँगै डिपोर्ट भएकी नवलपरासीकी अनिता निम्सिनालाई भने अध्यागमनले सहजै छाडिदिएको बताइए पनि त्यसबारे पुष्टि हुन सकेको छैन ।
प्रहरी हिरासतमा रहेका शेर्पा, राई र देवकोटाले पाण्डेसहितको बिचौलिया समूहलाई जनही १०–१० लाख रुपैयाँ तिरेर जापान उडेको बयान दिएका छन् ।
ठुलो गिरोह संलग्न छ : अधिकारी
यसैबिच मन्त्री पदबाट राजीनामा दिएपछि भएको टेलिफोन कुराकानीका क्रममा अधिकारीले जापान पठाउने धन्दामा ठुलै गिरोह रहेको बताएका छन् । तर, को संलग्न छ भन्ने विषय अधिकारीले खुलाएका छैनन् ।
आफ्नोजस्तो निजी भ्रमणमा धेरै मान्छे गएको दाबी गर्दै अधिकारीले कोशी प्रदेशकै बहालवाला मन्त्रीहरू कुनै निर्णय र अनुमतिविना भारत गएको पनि दाबी गरे । ‘यद्यपि प्रश्न उठेपछि आफैँ राजीनामा दिएको हुँ,’ उनले भने, ‘आयोजहरूसँगै दलालको संलग्नता भएको आशङ्का उत्पन्न भएको छ । प्रहरीले अनुसन्धान गर्दैछ ।’
यो प्रकरणमा ठुला व्यक्तिहरू पनि संलग्न रहेको उनले दाबी गरे । ‘मलाईसमेत फसाउन खोजेका रहेछन् । ठुलो सञ्जाल यसमा जोडिएको जानकारी पाएको छु,’ उनले भने, ‘ठुला मान्छे र ठुला नेता पनि संलग्न रहेकाले उनीहरू पनि पक्राउ पर्ने सूचना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई आज अदालत पेस गरिँदै, पुनः म्याद थपको तयारी
-
सिरियामा विद्रोहीको दाबी– असद देश छाडेर भागे, सिरिया अब ‘स्वतन्त्र’
-
गढीमाई मेलाको मुख्य दिन आज, सयौँ पशु चौपाया भारतीय सिमानामा रोकिए
-
मृत्यु शय्यामा पुगेर नयाँ पहिचान बनाउँदै नवराज (भिडियोसहित)
-
प्रधानमन्त्री ओली आज झापा जाँदै
-
‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य