आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

नेपाली फिल्मको फड्को : सुरु भएकै हुन् नेपाली सिनेमाका सुनौला दिन ?

बिहीबार, २९ कात्तिक २०८१, १२ : ०५
बिहीबार, २९ कात्तिक २०८१

यस वर्षको असोज अघिसम्म हिन्दी फिल्म लाग्दा हलमा दर्शक खचाखच हुन्थे । नेपाली फिल्मका दर्शक औँलामा गन्न सकिन्थ्यो । हिन्दी फिल्मले दुई–तीन सातासम्म दर्शक पाउँथे । नेपाली फिल्म दुई दिन टिक्न मुस्किल पथ्र्यो । कतिपय फिल्म त लागेको भोलिपल्टै उत्रिन्थेँ । निर्माता र निर्देशकहरू निराश भेटिन्थेँ । कलाकारमा पनि उस्तो उत्साह थिएन । 

अहिले परिस्थिति बदलिएको हेर्न एउटै उदाहरण काफी छ— फिल्म ‘पूर्णबहादुरको सारंगी’ । यो फिल्मले अहिले दिनमै करिब तीन करोड रुपैयाँ बराबर आम्दानी गरिरहेको छ । यो समाचार तयार गर्दासम्म यस फिल्मले करिब २५ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको वितरक मनोज राठी बताउँछन् ।

‘पूर्णबहादुरको सारंगी’का कारण कात्तिक ३० गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’ले प्रदर्शन मिति सार्नुपरेको छ भने बलिउडको ठुला ब्यानरमा निर्माण भएका र स्टारले भरिएका प्रतिक्षीत फिल्महरू ‘सिंगम अगेन’ र ‘भुलभुलैया ३’ मा नेपाली दर्शकको अभाव देखिएको छ । 

सरोज पौडेल निर्देशित विजय बरालको हिरोमा डेब्यु रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को चर्चा चौतर्र्फी छ । नेपाली फिल्मका दर्शकको कुनै कमी छैन भन्ने यस फिल्मले प्रमाणित गरेको छ ।

नेपाली निर्माताले आफ्नो फिल्मको रिलिज मिति जुराउँदा हिन्दीको रिलिजलाई ध्यान दिन्थे । कारण आफ्नो फिल्मलाई हिन्दी फिल्मले नडुबाओस् । केही गरी नेपाली फिल्म प्रदर्शन हुने मितिमा हिन्दी फिल्म आयो भने नेपाली फिल्मको प्रदर्शन सारिन्थ्यो । पछिल्लो समय परिस्थिति ठिक उल्टो छ ।

हुन त यो वर्ष (२०८१) को सुरुवातबाटै नेपाली फिल्मको व्यवसाय उकालो लागेको हो । यस वर्षको सात महिना (वैशाखदेखि कात्तिकसम्म)मै करिब तीन दर्जन नेपाली फिल्म प्रदर्शनमा आए । तीमध्ये ११ फिल्मले व्यावसायिक सफलता हात पार्न सफल रहे । समाचार तयार गर्दासम्म व्यवसाय गर्ने ११ फिल्मको कुल आम्दानी एक अर्ब १६ करोड रुपैयाँभन्दा बढी भएको सरोकारवाला बताउँछन् । यो व्यवसाय पछिल्ला दुई वर्षमा फिल्मले गरेको व्यवसायभन्दा बढी भएको चलचित्रका विश्लेषकको भनाइ छ ।

व्यवसाय गर्ने सबै फिल्ममध्ये ‘पूर्णबहादूरको सारंगी’ले अहिलेसम्मकै उच्च सो (४२० सो) पाउँदै आक्रामक व्यवसाय गरेको छ । यो वर्ष सफल व्यवसायको सुरुवात भने वैशाखमा रिलिज भएका दुई फिल्म ‘मनसरा’ र ‘बोक्सीको घर’ले गरेका थिए । 

सुलक्षण भारती निर्देशित फिल्म ‘बोक्सीको घर’ले १० करोडभन्दा बढीको व्यवसाय गर्‍यो । पहिलो फिल्म ‘जारी’बाटै सफलता र चर्चा पाएका निर्देशक उपेन्द्र सुब्बाको ‘मनसरा’ले करिब साढे चार करोड हाराहारी व्यवसाय गर्दै आफूलाई सफल फिल्ममा उभ्यायो ।

जेठमा भने नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ र दिनेश राउत निर्देशित ‘पूजार सार्की’ नाफामा रहे । अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाएको ‘गाउँ आएको बाटो’ले करिब तीन करोड हाराहारी व्यवसाय गर्दा ‘पुजार सार्की’ले १० करोडभन्दा बढी व्यवसाय गर्न सफल रह्यो । यस्तै, असार २८ गते प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले चार करोडभन्दा बढी कमाएको छ । यस्तै, अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको मिनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ पनि यस वर्षको भदौमा प्रदर्शनमा आयो । हिमाली क्षेत्रको बहुपति प्रथालाई समेटेको यस फिल्मले चार करोडभन्दा बढी कमाएको बताइन्छ ।   

असोज र कात्तिकमा ६ नेपाली फिल्म प्रदर्शनमा आए । केहीले लगानी सुरक्षित मात्र गरे भने केहीले राम्रै नाफा कमाउन सफल रहे । अशोक थापा निर्देशित ‘खुस्मा’ले ६ करोडभन्दा माथि कमाइ गर्दा सजन काफ्ले र आकाश बराल निर्देशित ‘बेहुली फ्रम मेघौली’ले चार करोड हाराहारी कमाएर लगानी सुरक्षित गरे । पछिल्लो फिल्मले अझै व्यवसाय गथ्र्याे, यसका अभिनेता एवं निर्माता निश्चल बस्नेतले सो थोरै दिएको भन्दै दोस्रो सातामै फिल्म उतारे ।

फूलपातीको दिन एकसाथ तीन फिल्म (१२ गाउँ, ‘छक्का पन्जा–५ र ज्वाइँसाब) प्रदर्शनमा आएका थिए । विराज भट्ट निर्देशित ‘१२ गाउँ’ले प्रदर्शनको चौथो सातासम्म २५ करोड ५० लाख कमाएको वितरक गोविन्द शाही बताउँछन् । फिल्म अहिले पाँचौँ सातामा प्रदर्शनरत रहेकाले आम्दानी अझ बढ्छ । तीन फिल्म जुध्दा पनि सबै फिल्म सफल हुनुले नेपाली फिल्मले दर्शक पाउन थालेको बुझ्न सकिन्छ ।

chhakka-panja-5

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ले चौथो सातासम्म २० करोडभन्दा बढी आम्दानी गरिसकेको वितरक मनोज राठीको भनाइ छ । पाँचौँ सातामा प्रदर्शनरत यस फिल्मको कमाइ थपिने देखिन्छ । यस्तै, ‘ज्वाइँसाब’ले पाँच करोडभन्दा बढी कमाएको निर्देशक वसन्त निरौला बताउँछन् ।

वर्षभरि ६–७ वटा मात्रै फिल्म सफल भएको समयमा यस वर्षको सातै महिनामा ११ फिल्म सफल हुनु भनेको फिल्म व्यवसायले फड्को मार्नु हो । बहुदल आएसँगै र जनयुद्ध उत्कर्षमा पुग्नुअघिसम्म अर्थात् ५० को दशकको पूर्वाद्र्धमा नेपाली सिनेमाको एक खालको माहोल थियो ।

वर्षाैंपछि नेपाली फिल्मको त्यो सुनौलो माहोल फर्किएको निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ बताउँछन् । ‘पछिल्लो समय कोरोना, भूकम्प लगायतले थला परेको फिल्म उद्योग बल्ल उँभो लाग्यो । आगामी दिनमा रिलिज हुने फिल्मले पनि अहिलेको जस्तै माहोल ल्याउन सक्छन्, तर अहिले दर्शकले चाहेजस्तै फिल्म मेकरले दिनुपर्छ,’ निर्माता तथा वितरक करण भन्छन्, ‘यो वर्षभरि रिलिजको तयारीमा रहेका फिल्मको सेटअप हेर्दा त्यो देखिन्छ ।’ 

समीक्षक तथा फिल्म निर्देशक दीपेन्द्र लामा भने अहिले हेर्दा बिजनेस बढेको जस्तो देखिए पनि यो माहोल कायम नरहन सक्ने बताउँछन् । ‘नेपाली दर्शक चलचित्रप्रेमीभन्दा पनि लहैलहैमा हलमा जाने भएकाले यो माहोल कायम रहनेमा शंका छ,’ लामा भन्छन्, ‘फिल्म राम्रो छ भन्ने लहर चल्यो भने ह्वात्तै दर्शक बढ्छन् र फिल्म राम्रो छैन भन्ने भयो भने घट्छन् । यस्तो अवस्थामा दर्शक बढ्यो भनेर भन्न सकिँदैन र मिल्दैन पनि । असली चलचित्रप्रेमी दर्शक त्यो हो,  जो गम्भीरताका साथ बुझेर, मनन गरेर हलमा आउँछन् ।’ 

  • चार फिल्म ब्लकबस्टर

पछिल्ला सात महिनामा ११ फिल्म बक्स अफिसमा सफल मात्रै भएनन्, यीमध्ये चारवटा फिल्म ब्लकबस्टर साबित भए । 

यो वर्ष पहिलो ब्लकबस्टर फिल्ममा आफ्नो नाम लेखाउन सफल रह्यो, ‘बोक्सीको घर’ले । केकी अधिकारी निर्मित यस फिल्मले बक्स अफिसमा १० करोडभन्दा बढी कमाएको थियो ।

12-gaun-1716284119

यस्तै, अर्को ब्लकबस्टर फिल्ममा गनियो, ‘१२ गाउँ’ । यस फिल्मले बक्स अफिसमा २५ करोड ५० लाखभन्दा बढी कमाएको वितरक गोविन्द शाहीले बताएका छन् । फिल्मको प्रदर्शन अझै जारी छ । यस फिल्मबाट निर्माता तथा निर्देशक विराज भट्टले राम्रै नाफा कमाउने देखिन्छ ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ पनि ब्लकबस्टर फिल्म बन्यो । यस फिल्मले प्रदर्शनको चौथो सातासम्म बक्स अफिसमा २० करोडको ग्रस कलेक्सन गरिसकेको छ । फिल्मको प्रदर्शन जारी रहेकाले निर्माण टिम दीपकराज गिरी र दीपाश्री निरौलाको समूहलाई फिल्मले राम्रै फाइदा दिलाउँछ ।

लक्ष्मीपूजाको अवसर पारेर १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको पहिलो सातामै ब्लकबस्टर साबित भएको थियो । यस फिल्मले अहिलेसम्मका फिल्म व्यवसायको रेकर्ड तोडिसकेको छ ।

  • नव प्रवेशीको आकर्षण

यस वर्ष निर्देशकका रूपमा सुलक्षण भारती, अशोक थापा मगर डेब्यु फिल्मबाटै सफल ठहरिएका छन् । 

सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘लुट’ले फिल्म उद्योगलाई तरंगित गराएको थियो । त्यसपछि फिल्म उद्योग तरंगित भएको अहिले नै हो । यसको श्रेय अहिले चलिरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’लाई जान्छ । यस फिल्ममा डेब्यु हिरो विजय बराल सफल देखिएका छन् । अमेरिकामा र अस्ट्रेलियामा समेत यस फिल्मले केही सो पाइरहेको छ । यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय दर्शक बढाउन र लगानी भित्र्याउन समेत भूमिका खेल्ने आकलन गरिएको छ ।  

jwai-saab

डेब्यु कलाकारका रूपमा  समिर भट्ट, सनिशा भट्टराई, न्यासी खड्का फिल्म ‘१२ गाउँ’बाट सफल देखिएका छन् भने हिमेश पन्तले ‘ज्वाइँसाब’बाट बाजी मारेका छन् । यी कलाकारमध्ये समिर भट्टको जुन स्तरको चर्चा छ, त्यसले भविष्य सुरक्षित हुन्न कि क्या हो भन्नेका लागि कलाकारिता गरेर बाँच्न सकिन्छ भन्ने देखाएको छ ।

अभिनयसँगै निर्माणमा पनि सफल देखिएकी अभिनेत्री केकी अधिकारीको दोस्रो फिल्म ‘बोक्सीको घर’ले लगानीको चौगुना नाफा हात पारेको छ ।

  • स्टार होइन, कन्टेन्ट 

पहिले–पहिले स्टार कलाकारका फिल्म रिलिज हुँदा दर्शक हलमा भरिभराउ हुन्थेँ । फिल्मको व्यवसायका लागि स्टार हुनुपर्ने मान्यता स्थापित थियो, अहिले त्यो मान्यता भत्किएको छ । स्टारका भन्दा कथा बलियो भएका फिल्म चल्छन् भन्ने भाष्य स्थापित भइरहेको छ यतिखेर । कथा बलियो भएका फिल्मको जनराले फरक पार्न छाडेको छ । अहिले कमेडी, हरर, सोसल, मेलोड्रामा र एक्सन सबै खालको फिल्म चल्नुले पनि त्यो देखाउँछ । 

गत वैशाखदेखि यता व्यावसायिक सफल ११ फिल्ममा धेरै फिल्म कथाका कारण चलेको देखिन्छ । स्टारले फिल्म चल्ने भए पूजा शर्माको दान्भी, पूजा शर्मा र पल शाहको ‘रावायण’, साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘लन्डन टु पेरिस’, वर्षा शिवाकोटीको ‘मोदीबेनी’, सुरक्षा पन्तको ‘बुलाकी’, शिल्पा मास्केको ‘देवी’ र दयाहाङ राईको ‘रंगेली’ चल्थ्यो ।

‘बोक्सीको घर’, ‘मनसरा’, ‘गाउँ आएको बाटो’, ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’ लगायत फिल्म कथाका कारणले चलेका देखिन्छन् । 

सामाजिक कथामा बनेको फिल्म ‘बोक्सीको घर’मा केकी अधिकारीसँगै सुपला सापकोटा, स्वेच्छा राउत र रमा थपलियाको अभिनय थियो । जसमा केकीबाहेक कोही चलेका कलाकार होइनन् ।

‘मनसरा’मा दयाहाङ राई र मिरुना मगरको अभिनयले भन्दा महिलाको मनोदशा र सामाजिक उपस्थितिको कथावस्तुले दर्शक देखिएका हुन् ।

त्यस्तै फिल्म, ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘१२ गाउँ’, ‘ज्वाइँसाब’ पनि कथाको कारणले चलेको देखिन्छ । ‘गाउँ आएको बाटो’को ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावको कथा दर्शकको रुचिमा परेको हो ।

जनयुद्धको प्रभावका बिच रुकुममा मौलाएको एक प्रेमकथा भएकै कारण ‘खुस्मा’ले दर्शक पायो । ‘बेहुली फ्रम मेघौली’ नौलो र फरक कथाका कारण दर्शकको रोजाइमा पर्‍यो । ‘ज्वाइँसाब’लाई पनि दर्शकले कथाकै कारण हेरेका हुन् । किनभने ‘ज्वाइँसाब’का मुख्य कलाकार जितु नेपाल, नीति शाह, हिमेश पन्त स्टार कलाकारमा गनिँदैनन् ।

संसारमै स्टार कलाकारको फिल्म चल्छ भन्ने ग्यारेन्टी नहुने समीक्षक निर्देशक दीपन्द्र लामा बताउँछन् । स्टार भएका कारण ओपेनिङ राम्रो होला, तर व्यवसाय गर्न कथामा दम हुनुपर्ने लामाको धारणा छ ।

‘गत वर्ष सौगात मल्ल र दयाहाङको फिल्म हात्तीछाप चलेन भने अहिले दयाहाङको रंंगेली चलेन,’ लामा भन्छन्, ‘सुरुवाती व्यवसाय राम्रो बनाउन, फिल्म उद्योग र मनोरञ्जन पत्रकारिताबाट सपोर्ट पाउन, वितरक र हलको प्रायोरिटीमा पर्न स्टारको भूमिका हुन्छ । फिल्म ठिक छ है भन्ने नपरीकन दर्शक हलमा ओइरिँदैनन् ।’

समीक्षक सामीप्य तिमल्सिना यस वर्ष राम्रो कमाइ गर्ने सबै फिल्म कन्टेन्टले चलेको बताउँछन् । ‘संसारका चलेका फिल्म हेर्ने हो भने स्टारले भन्दा कन्टेन्टले नै चलेको देखिन्छ,’ उनी भन्छन्, ‘नेपालमा पनि स्टारभन्दा कन्टेन्ट चल्न थालेको छ ।’ 

  • हिन्दी फिल्म पछि परे

नेपाली निर्माताले आफ्नो फिल्मको रिलिज मिति जुराउँदा हिन्दीको रिलिजलाई ध्यान दिन्थे । कारण आफ्नो फिल्मलाई हिन्दी फिल्मले नडुबाओस् । केही गरी नेपाली फिल्म प्रदर्शन हुने मितिमा हिन्दी फिल्म आयो भने नेपाली फिल्मको प्रदर्शन सारिन्थ्यो । हिन्दी फिल्म लाग्दा नेपाली फिल्मको भागभाग नै हुन्छ । पछिल्लो समय परिस्थिति ठिक उल्टो छ । नेपाली फिल्मले हिन्दी फिल्मलाई पछि पारेको छ । हिन्दीका तुलनामा नेपालका हलमा नेपाली फिल्मले सो र दर्शक दुवै धेरै पाएका छन् ।

behuli-from-meghauli

उदाहरणको रूपमा असोज र कात्तिकमा आएका हिन्दी फिल्मलाई हेर्न सकिन्छ । असोजमा रिलिज भएका दुई हिन्दी फिल्म ‘देवरा’ र ‘जिग्रा’ले नेपालमा दर्शक पाउन सकेनन् । ‘देवरा’ले रिलिजको दिनदेखि नै दर्शक पाएन भने ‘जिग्रा’लाई स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनीत नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ले पछि पार्‍यो ।

यस्तै, तिहारमा बलिउडका ठुला स्टार अजय देवगन, अक्षकुमार, रणवीर सिंह, दीपिका पादुकोण अभिनीत ‘सिंघम अगेन’ र कार्तिक आर्यनको ‘भुलभुलैया ३’ आएको थियो । यी दुवै फिल्मलाई त्यही मितिमा रिलिज भएको नेपाली कलाकार विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारङ्गी’ले व्यवसायमा पछार्‍यो । रिलिजको दिन हिन्दीले सो राम्रो पाए पनि दर्शक अभावका कारण पछिल्ला दिनमा सो घट्यो घट्दै गयो । तीन–चार सय करोडको हिन्दी फिल्मलाई एक–दुई करोडको फिल्मले पछि पार्नु भनेको चानचुने कुरा होइन ।

असोज र कात्तिकमा रिलिज भएका चार हिन्दी फिल्मलाई व्यवसायमा नेपाली फिल्मले पछि पारेको वितरक कम्पनी ब्याङ्कटेस इन्टरटेनमेन्टका मनोज राठी बताउँछन् । ‘अबदेखि नेपालमा हिन्दीभन्दा नेपाली फिल्म धेरै चल्छ जस्तो मलाई लाग्न थालेको छ,’ राठी भन्छन् । 

निर्माता तथा प्रदर्शक गोपालकाजी कायस्था पनि पछिल्लो समय हिन्दीभन्दा नेपाली फिल्मको व्यवसाय राम्रो रहेको बताउँछन् । ‘म पहिलेदेखि नै नेपाली फिल्म राम्रो बनाऊँँ, हिन्दी फिल्म आफैँ विस्थापित हुन्छ भन्दै आएको थिएँ । अहिले आएर त्यो भयो,’ कायस्थ भन्छन्, ‘राम्रो नेपाली फिल्म आएकाले दर्शक हिन्दी छाडेर नेपालीमा गए ।’

  • गीतको भूमिका

खासगरी भारत र नेपालमा फिल्ममा समावेश गीतलाई पनि महत्त्वका साथ हेरिन्छ । गीत चल्दैमा फिल्म चल्छ भन्ने त होइन, यद्यपि फिल्मको प्रचार गर्न गीतको खास भूमिका रहन्छ । त्यसैले नेपाली फिल्ममा गीतलाई महत्त्व दिँदै आइएको छ । विगतका फिल्म ‘दुई रुपैयाँ’, ‘सिलसिला’, ‘बिन्दास २’, ‘नाइँ नभन्नु ल’, ‘वडा नम्बर ६’ लगायत धेरैको व्यवसायमा गीतले सहयोग गरेको थियो ।

‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’, ‘सिलसिला’को ‘सागर सरी चोखोमाया’, ‘बिन्दास २’ को ‘सुन्छु तिमीले मलाई’, ‘नाइँ न भन्नु ल’को ‘नाइँ न भन्नु ल’, ‘वडा नम्बर ६’को ‘पूर्व–पश्चिम रेल’ बोलका गीतले प्रदर्शनअगाडि चर्चा कमाएका थिए । 

यस वर्ष चलेका फिल्मलाई पनि गीतले ठुलै सपोर्ट गरेको देखिन्छ । ‘बोक्सीको घर’ले व्यवसाय गर्नुको श्रेय गीत ‘फूल जस्ती रे’लाई पनि दिइन्छ । फिल्मको प्रमोसनका बेला जब प्रकाश सपुतको यो गीत आयो, फिल्मको प्रचार र व्यवसाय दुवैमा सहयोग मिल्यो ।

Gau-Aayeko-Bato2

त्यस्तै ‘गाउँ आएको बाटो’लाई ‘राई माइलाले गाउँ छोड्यो रे’ले, ‘खुस्मा’लाई ‘रुकुम मैकोट’ले र ‘छक्कापन्जा ५’लाई ‘ब्रेकअप’ बोलको गीतले राम्रो सपोर्ट पुर्‍याएको देखिन्छ ।

अहिले आक्रामक व्यवसाय गरिरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को सफलतामा पनि गीतको योगदान नकार्न सकिँदैन । फिल्मको ‘काँधे कुरी’ गीत सामाजिक सञ्जालमा भाइरल भएपछि फिल्मको चर्चा चुलिएको थियो । यस फिल्मको ‘रैयाँ चाँदी’ बोलको गीत समेत लोकप्रिय छ ।

नेपाली फिल्मको व्यवसायमा गीत–संगीतले पहिलेदेखि नै योगदान पुर्‍याउँदै आएको वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । 

‘गीतले फिल्मको लम्बाइ म्यानेज गर्न, मार्केटिङ गर्न समेत काम गर्छ । फिल्ममा प्रेम, इमोसन भन्नुपर्ने भागमा गीतको सहारा लिइन्छ,’ देउजा भन्छन्, ‘फिल्ममा गीतमार्फत कला–संस्कृति, घटना, परिवेश समेत बुझाउन सकिन्छ । पूर्णबहादुरको सारंगीको काँधे कुरी गीतले एउटा पीडा भनेको छ ।’ 

अहिले युट्युब र सामाजिकसञ्जालको जगजगी रहेका बेला फिल्मको प्रचारका लागि गीत सहज माध्यम भएको उनी बताउँछन् ।

संगीतकार अर्जुन पोखरेल पनि गीत हिट हुँदा फिल्म चल्ने सम्भावना बलियो हुने बताउँछन् । ‘गीतले फिल्मप्रति एक प्रकारको माहोल वा भाइब्स ल्याउँछ । कतिपय फिल्मको गीतले दर्शकलाई त्यस फिल्मको बारेमा चासो राख्ने बनाउँछ,’ पोखरेल भन्छन्, ‘दर्शकलाई बाँध्ने र खुसी दिने काम भने फिल्मको कन्टेन्टकै हो ।’ 

दर्शकलाई हलसम्म डोर्‍याउन गीतको भूमिका हुने पोखरेलको भनाइ छ । ‘फिल्मको व्यवसायका लागि पछिल्लो समय सामाजिक सञ्जालको ठुलो हात छ । गीतले सामाजिक सञ्जालमा स्थान पायो भने फिल्मबारे हल्ला हुन थाल्छ,’ पोखरेलले थपे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?