शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
दृष्टिविहीनहरुको पुरुष टी–२० विश्वकप क्रिकेट

अफगानिस्तानपछि नेपालले बलियो दक्षिण अफ्रिकालाई पनि हरायो

मङ्गलबार, ११ मङ्सिर २०८१, १६ : २५
मङ्गलबार, ११ मङ्सिर २०८१

काठमाडौँ । पाकिस्तानमा जारी दृष्टिविहीनहरुको पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपाली टोलीले मंगलबार खेलिएको आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

अघिल्लो खेलमा नेपाली टोलीले अफगानिस्तानलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग ७० रनले र दोस्रो खेलमा बंगलादेशसँग ६७ रनले पराजित भएको थियो ।

मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा केवल चार विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । नेपालका लागि नरेश चौधरीले केवल ५७ बलमा ८० रनको योगदान गरेका थिए ।

सागर लामाले पनि नेपालका लागि ४० रनको योगदान गरे । उनले केवल २९ बलमा उक्त रन बनाएका हुन् । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने निर्धारित ओभरमा दुई विकेट गुमाएर एक सय ८७ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि भुले भिडलाले शतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले केवल ७१ बलको सामना गरी अविजित एक सय रन बनाए । दक्षिण अफ्रिकाका लागि लेसिबाले पनि ४६ रन बनाए ।

नेपाली टोलीले आफ्नो पाँचौँ खेल बुधबार आयोजक पाकिस्तानसँग खेल्नेछ । नेपालले आफ्नो छैटौँ खेल शुक्रबार भारतसँग खेल्ने कार्यक्रम रहेको थियो । तर, अन्तिम समयमा आएर भारतीय टोलीले प्रतियोगिताबाट नाम फिर्ता लिएका कारण उक्त खेलमा नेपाल स्वतः विजयी घोषित हुनेछ ।

राज्यको सहयोग नपाएपछि नेपाली टोली विश्वकपमा सहभागी हुन बस र रेलमार्फत नै पाकिस्तानतर्फ पुगेको थियो । नेपाली टोली गत बुधबार रुपन्देहीको बेलहिया नाका भएर भारत हुँदै पाकिस्तान प्रस्थान गरेको थियो । 

खेलाडी, प्रशिक्षक, व्यवस्था र अफिसियलसहित नेपाली टोली २१ सदस्यीय रहेको छ । हवाई टिकट र अन्य आवश्यक खर्चका लागि सरकार (सम्बन्धित निकाय) लाई गुहारे पनि कुनै सहयोग नपाएको गुनासो सम्बन्धित संघका पदाधिकारीहरुले गरेका थिए ।

नेपाली टोलीलाई विश्वकपमा सहभागी हुन अन्य खर्च भने खेलप्रेमी विभिन्न संघ–संस्थाले उपलब्ध गराएका थिए । काठमाडौँमा स्थान उपलब्ध नभएकाले दृष्टिविहीन क्रिकेट टोलीले दाङको लमहीमा विश्वकपको तयारी गरेको थियो ।

नोभेम्बर २३ देखि डिसेम्बर ३ तारिखसम्म आयोजना हुने टी–२० विश्वकप क्रिकेटका खेलहरु पाकिस्तानको लाहोर र मुल्तानमा खेलाइँदै छ । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने चारवटा टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

दुबै सेमिफाइनल खेल डिसेम्बर १ तारिखमा मुल्तानमा खेलिने छ । त्यसपछि फाइनल खेल डिसेम्बर ३ तारिखमा मुल्तानमै खेलिने छ । दृष्टिविहीनहरुको टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको यो चौथो संस्करण हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप