पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार एक सय एक जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२३ मा तीन हजार एक सय २५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार नौ सय ७६ जनाले बढोत्तरी भएको छ ।
कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन् । सन् २०२४ को अगस्त १ तारिखबाट मात्र भारतले पानीट्याङ्की नाका पर्यटकका लागि खुला गरेको थियो । पानीट्याङ्की नाका खुला हुनासाथ नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।
“कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भए पनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो,” उनले भने, “उच्चस्तरीय पहलपछि अगस्तमा मात्र भारतले पर्यटकलाई आउजाउ गर्न अनुमति दिएको हो । त्यसपछि बल्ल पर्यटकीय आगमन पुरानै लयमा फर्किएको हो ।”
पूर्वीनाकाबाट केही वर्षअघि सम्म नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्या बढी थियो । सन् २०२४ मा काँकडभिट्टाबाट स्थलमार्ग हुँदै चार हजार नौ सय १६ भुटानी पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालयका सूचना अधिकारी राजवंशीले बताए । उनका अनुसार सन् २०२३ मा यही स्थलमार्ग भएर नेपाल प्रवेश गरेका भुटानीहरूको सङ्ख्या दुई हजार नौ सय ३१ मात्र थियो । नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने गरेको छ । शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भुटानीहरू बढी सङ्ख्यामा नेपाल आउने गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
-
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
-
मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण