आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
केन्द्रीय कमिटी बैठक

नेतृत्व प्रणालीबारे माओवादीमा तीव्र बहस, विशेष महाधिवेशनमा जान दबाब

सोमबार, २२ पुस २०८१, २२ : ०५
सोमबार, २२ पुस २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अधिकांशले नेतृत्व प्रणालीप्रति तीव्र बहस गरेका छन् । धुम्बाराहीमा सोमबार दोस्रो दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै नेताहरूले नेतृत्व प्रणालीको विषयमा बहस गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार दक्षिण एसिया प्रदेशका इन्चार्ज समेत रहेका लक्ष्मण पन्तले माओवादीभित्र नेतृत्व प्रणाली नारायणमान विजुच्छेको जस्तो हुने हो कि मोहन विक्रमको पार्टीको जस्तो हुने हो भनेर प्रश्न गरेका थिए ।

‘माओवादी पार्टीभित्र हामीले कस्तो नेतृत्व प्रणाली विकास गरिरहेका छौँ । नारायणमान विजुच्छेको पार्टीको जस्तो हो कि मोहन विक्रमको पार्टी जस्तो हो ? किरणजीको जस्तो हो ? नेतृत्व प्रणालीको विकास नगरी पार्टी अगाडि बढ्न सक्दैन’, पन्तको भनाइ उदृत गर्दै ती नेताले भने, ‘कम्युनिस्ट पार्टी एकमनावादी पार्टी हो कि विपरीतहरूको एकत्व हो ? विपरीतहरूको एकत्व हो भने फरक मतको सम्मान गर्नुपर्‍यो । विचारकाबिच प्रतिस्पर्धा गर्न दिन पर्‍यो । त्यसरी मात्र पार्टी बन्छ ।’

अहिले पार्टी अध्यक्ष अत्यन्तै क्रियाशील हुने अन्य पदाधिकारी नेताहरू मुखदर्शक जस्तो बनेर बस्ने भएको भन्दै सबैलाई क्रियाशील बनाउने विषयमा धारणा राखेका थिए । पन्तले अहिलेको केन्द्रीय समिति भङ्ग गरी आयोजक समिति बनाएर विशेष महाधिवेशनको मिति तोक्नुपर्ने बताएका थिए । विशेष महाधिवेशन गरेर मात्र विचार, नेतृत्व विकास हुने उनको तर्क थियो ।

प्रचण्डले पेस गरेको प्रतिवेदनमा तत्कालै महाधिवेशनमा जाने कि केही समय अभियान चलाएर जानेबारे निर्णय गर्ने जिम्मा बैठकलाई जिम्मा दिएका थिए । उपमहासचिव जनार्दन शर्माले गएको साउन अन्तिम साता सम्पन्न स्थायी समिति बैठकमा पेस गरेका १४ बुँदे प्रस्ताव लगायत अन्य लिखित वा अलिखित प्रस्ताव महाधिवेशनबाट हल गर्ने प्रस्ताव राखेका थिए ।

तर उनको प्रस्तावमाथि पूर्वसभामुख ओनसरी घर्तीले टिप्पणी गर्दै विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेकी अर्का एक नेताले बताए ।

‘ओनसरीजीले यथास्थितिमा विचारको विकास र पार्टी निर्माण हुन सक्दैन । पार्टीलाई गतिशील बनाएर लैजान विशेष महाधिवेशन गर्नका लागि अहिलेको केन्द्रीय समिति भङ्ग गरी आयोजक कमिटी बाउनुपर्ने धारणा राख्नुभयो’, ती नेताले भने ।

अर्का केन्द्रीय सदस्य ओम शर्माले प्रचण्डले  राजनितिक प्रतिवेदनमा पार्टीको नीति र कार्यक्रम रेलको तुफान एक्सप्रेस जस्तो बनाउन खोजेजस्तो देखिएपनि त्यो तुफान एक्सप्रेस कोइलाले चलाएपछि कहाँ पुग्न सकिन्छ भन्दै प्रश्न गरे । उनले अध्यक्षले जति नीति तथा कार्यक्रम ल्याएका छन्, ती सबै यथास्थितिबाट मुक्त नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने धारणा राखेको सहभागी अर्का एक नेताले बताए ।

‘संसारभरी राज्यसत्ता फेर्ने भनेको एउटा बल प्रयोग र अर्को विवेकबाट हो । तर हामी शान्ति प्रक्रियामा आइसकेपछि बुद्धिबाट शिक्षा, स्वास्थ्यको अभियान गर्नुपर्थ्यो । हाम्रो बुद्धिलाई पुँजीवादले निल्यो । चाँडोभन्दा चाँडो विद्यमान केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्नुपर्छ’, शर्माको भनाइ उल्लेख गर्दै ती नेताले भने । 

आठौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित भएको दिनमै ६ महिनाभित्र विशेष महाधिवेशन घोषणा गरेपनि तीन वर्ष पुरा भइसक्दा समेत कार्यान्वयन नभएकोमा प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

अर्का नेता सुदन किरातीले पार्टीलाई बलियो बनाउनका लागि विद्यामान केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा बदलिँदा उपयुक्त हुने धारणा राखेका थिए ।

‘हाम्रो ध्यान सरकारमा होइन । जनताको बिचमा जाने हुनुपर्छ । विचारको विकास र पार्टी निर्माणका लागि अहिलेको केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरौँ’, किरातीले भनेका थिए ।

बैठकमा इन्द्र आङ्दाम्बो, जगप्रसाद शर्मा, अशोक जैशवाल, कुमारी राई, गोविन्द रोका, हरि ज्ञवाली, सुरेश राई, वम्बु शेर्पा लगायत अधिकांशले अहिलेको केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका थिए । आइतबार अधिकांश प्रदेश अध्यक्षहरूले रिपोर्टिङको क्रममा विशेष महाधिवेशन गर्नुपर्ने मत राखेका थिए ।

तर बैठकमा पदाधिकारीबाट बोलेका देवेन्द्र पौडेलले प्रचण्ड नेतृत्वको पार्टीले नै आगामी समाजवादी आन्दोलनको नेतृत्व गर्न सक्ने धारणा राखेको अर्का एक नेताले बताए । ती नेताका अनुसार नियमित महाधिवेशनको मिति नजिकिएकाले विशेष महाधिवेशनमा जान आवश्यक नभएको मत राखेका थिए । उनले पार्टीलाई थप एकताबद्ध बनाएर विचार, विधि र पद्धतिको विकास गर्नुपर्ने धारणा राखेका थिए ।

‘अहिलेको आवश्यकता एकताबद्ध पार्टी निर्माण हो । अबको समाजवादी आन्दोलनको नेतृत्व पनि कमरेड प्रचण्डले गर्नुहुन्छ । पार्टीको नियमित महाधिवेशनको मिति नै नजिकिएकाले विशेषमा जानु आवश्यक छैन’, पौडेलको भनाइ उल्लेख गर्दै ती नेताले बताए ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा २०७७ साल फागुन २३ गते विघटन भएपछि अनिवार्य रूपमा महाधिवेशन गर्नुपर्ने बाध्यतामा प्रचण्ड थिए । रातारात राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेका गरेका उनले त्यतिबेला तीनै तहको निर्वाचन सकिएपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप