शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पाण्डे र तिम्सिनाको निलम्बन फुकुवाबारे छलफल गर्दै एमाले

आइतबार, २१ वैशाख २०८२, १० : ३७
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज आइतबार दिउँसो बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गर्ने मुख्य विषय रहेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै छ । 

‘आजको मुख्य विषय नीति तथा कार्यक्रम र बजेट नै हो’,एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अरू समसामयिक विषयमा छलफल पनि हुन्छ ।’

एमाले नेताहरूका अनुसार एमालेले यसअघि कारबाही गरेका दुई नेता बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको कारबाही फुकुवाबारे समेत छलफल हुने सम्भावना छ ।

एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई पुस १० गतेको सचिवालय बैठकले ६ महिना निलम्बन गरेको थियो । तर उनीहरूको कारबाहीलाई लिएर एमाले नेताहरूले नै असन्तुष्टि जनाएकाले उनीहरूको कारबाही फुकुवाबारे छलफल हुनसक्नेछ । 

यसअघि अध्यक्ष ओलीले पाण्डेलाई बालुवाटारमा बोलाएर कारबाहीबारे चासो राखेका थिए । त्यसक्रममा पाण्डेले आफूलाई कारबाहीको पत्र नै नदिएको बताएपछि पत्र नै नभए के कारबाही हुन्छ त ? भनेर प्रश्न गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो ।

व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषयमा पाण्डे र तिम्सिनाले विरोध गरेपछि उनीहरूलाई एमालेले स्पष्टीकरण सोधेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप