बागमती सरकार : दशौँ राष्ट्रिय खेलकुदका लागि ५ करोड बजेट थप
मकवानपुर । बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट थप गर्ने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को प्रस्ताव अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले ५ करोड रुपैयाँ थप बजेट उपलब्ध गराउने भएको हो ।
परिषद्ले प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमार्फत माग गरेको ७ करोड ५० लाख रुपैयाँ बजेटमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयले ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको हो । उक्त विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट औपचारिक निर्णय हुन भने बाँकी छ ।
अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीका अनुसार थप बजेट उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको स्वीकृति बाँकी रहेको उनले बताए ।
उक्त योजनाका लागि प्रदेश सरकारले ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । हाल ५ करोड रुपैयाँ थप बजेटसहित ८ करोड ७५ लाख रुपैयाँ उपलब्ध हुने सचिव मैनालीले बताए ।
उनका अनुसार प्रदेश सरकारको आर्थिक अवस्था र राजस्व सङ्कलनको स्थितिका आधारमा उक्त बजेट व्यवस्थापन गरेको हो । विपद्का कारण भएको क्षति व्यवस्थापन गर्न ठुलो खर्च आवश्यक परेकाले परिषद्ले माग गरे अनुसार बजेट दिन कठिन भएको उनको भनाइ छ ।
आगामी चैत २५ देखि ३० गतेसम्म सञ्चालन हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारलाई बजेट अभाव देखिएको थियो । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ७४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको र उक्त बजेटमध्ये दशौँ राष्ट्रिय खेलकुदका लागि ३ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
३६ खेलका लागि प्रदेश सरकारले विनियोजन गरेको ३ करोड ७४ लाख रुपैयाँ र थप बजेट ५ करोड रुपैयाँले समेत अपुग हुने युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार गत वर्ष अन्तर प्रदेश खेलकुद सञ्चालनका लागि मात्र प्रदेश सरकारले मन्त्रालयलाई ९ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।
दशौँ राष्ट्रिय खेलकुदका लागि ३६ खेलका खेलाडी छनोट, खेलाडीको आवास खर्च, खेलाडीको पारिश्रमिक तथा सेवा सुविधामा खर्च गर्नुपर्ने मन्त्री महर्जनको भनाइ छ । ती खेलका १ हजार ३०० खेलाडी बागमती प्रदेशका १३ जिल्लाबाट छनोट गरी बन्द प्रशिक्षणमा राखेर सहभागी गराउनु पर्ने उनले बताए ।
मन्त्री महर्जनका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३६ खेलका १ हजार ३०० खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राख्नुपर्ने हुन्छ । उनीहरूलाई आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखेर प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण