एमाले नेता नै भन्छन्, ‘बाजले झम्टिन खोज्दा माउको उपस्थिति स्वाभाविक’

विराटनगर । एक हप्ता लामो बसाइका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आइपुगेकी छिन् । यस अवधिमा उनले विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनेछिन् । अनौपचारिक रूपमा भने एमालेका नेता, कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिने उनको तयारी छ ।
उनी निकट एमाले नेताहरूका अनुसार भण्डारी आगामी माघ २० गते मात्रै राजधानी फर्किने कार्यक्रम छ । त्यसअवधिसम्म उनी तेह्रथुमसम्म पुग्नेछिन् र आफू एमालेको सक्रिय राजनीतिमा फर्किनका लागि एक ढङ्गको तयारी (वार्मअप) गर्नेछिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरुद्धमा बोल्ने नेता तथा कार्यकर्तालाई कारबाही गरिरहेका छन् । कतिपय माथिल्लो तहका देखि तल्लो तहका नेता तथा कार्यकर्ताहरू अध्यक्ष ओलीको कार्यशैलीबाट वाक्क दिक्क बनेका छन् । उनीहरूको छहारी बन्ने प्रयासमा छिन् भण्डारी ।
‘कुखुराको चल्लालाई बाजले झम्टिन खोज्दा माउले उपस्थिति त जनाउँछ नि ? त्यस्तै हो । अहिले त्यहाँ भन्दा धेरै नबुझौँ,’ भण्डारीलाई सोमबार नै भेट गरेका मोरङका एक एमाले नेताले भने, ‘यो उपस्थितिलाई ‘वार्मअप’ हो भन्ने बुझिन्छ । उहाँले ७ दिन बस्दा पुरै कोशी प्रदेशको आफ्नो अवस्थालाई नियालेर जानुहुनेछ । उहाँ २० गते मात्रै फर्किनुहुन्छ । ७ दिन बस्नु भनेको चानचुने कुरा चाहिँ होइन ।’ उनले त्यसो भन्दै गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरे । ‘ओलीबालाई हिजो सङ्कट पर्दा मोरङले बचाएको हो । अहिले नन्दी भृङ्गी, चोर, फटाहा, गुन्डाहरू अघिपछि लगाएर अरूलाई साइड लगाउन खोजेपछि विकल्प खोज्नु परेन ?,’ उनले प्रश्न गरे ।
भण्डारीले विराटनगरस्थित होटल बिगमा बसेर सोमबार दिनभर नेता तथा कार्यकर्ताहरूसँग अन्तरक्रिया गरिन् । सँगसँगै पत्रकारहरूसँग प्रश्नोत्तर कार्यक्रम पनि गरिन् । पत्रकार सम्मेलन उनले आफैँले चाहना राखेर बोलाइएको थियो । तर, त्यसलाई पत्रकार सम्मेलन भनिएन । तर, त्यो केही न केही देखाउनका लागि गरिएको एमाले कार्यकर्ता नै बताउँछन् । भण्डारीले पत्रकारहरूसँग कुरा गर्दै ‘म राष्ट्रिय राजनीतिमा सक्रिय छु’ भनिसकेकी छिन् । ‘राष्ट्रिय राजनीतिमा, अन्तर्राष्ट्रिय परिस्थिति कसरी गइरहेको छ ? विश्व परिस्थिति कसरी गइरहेको छ ? नेपालको परिस्थिति कसरी गइरहेको छ ? नेपाललाई के गर्दा राम्रो हुन्छ ? भन्ने विषयहरूमा, एजेन्डामा चासो हुन्छ नै,’ भण्डारीले भनिन्, ‘भोली कुन दलबाट कहाँ गर्ने भन्ने कुरा पनि आउँछ होला । म एमालेबाट आएर यो ठाउँसम्म पुगेको हुनाले जाँदाखेरि त्यही नै कुरा हुन्छ । त्यो चाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन ।’
तर, उनले आफू सक्रिय राजनीतिमा रहेको खुलेरै बताइन् । ‘म राष्ट्रिय राजनीति मै सक्रिय छु भनेर भनिसकेँ त,’ उनले भनिन् । उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी राजनीतिमा आउन खोज्नु सकारात्मक भएको पनि बताएर आफू पनि आउन सक्ने सङ्केत गरिन् । ‘सामान्यतः आफैँ पत्रकारहरू बोलाएर यस्तो खालको कार्यक्रम अहिलेसम्म गरेको अवस्था थिएन । यसले केही न केही हो भन्ने देखिन्छ,’ ती एमाले कार्यकर्ता भन्छन्, ‘अब उहाँ एक हजार प्रतिशत राजनीतिमा आउने हो । ओलीले नै राजनीतिमा ल्याउनु पर्ने बाध्यात्मक परिस्थिति बन्छ । यो बसाइँमा प्रदेशका पार्टीका धेरै कार्यकर्ताले भेट गर्छन् । विनोद ढकालले सहजीकरण गरिरहनु भएको छ ।’
भण्डारीलाई विराटनगर एयरपोर्टमा स्वागत गर्न विनोद ढकाललगायत नेताहरू गएका थिए । भण्डारीले होटल बिगमै एमाले निकट महिला सङ्गठनका नेतृहरूसँग भेटघाट गरिन् । पत्रकार सम्मेलन गरेर उनले युवा, विद्यार्थी वैज्ञानिकसँग भेटघाट गरिन् । साँझ विराटनगर महानगरपालिकाका केही नेता, कार्यकर्ताले भेट गरे । मङ्गलवार पनि १ सय जति नेता तथा कार्यकर्ताले भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।
उनलाई भेट्न जानेहरूको ताँती लामै छ । एमाले निकट अनेमसंघ कोशी प्रदेश अध्यक्ष तथा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, अनेम केन्द्रीय सदस्य मुना तिवारी, प्रदेशसभा सदस्य गीता रेग्मी, नेकपा एमालेकी केन्द्रीय सदस्य इन्दिरा देवी गौतम, अनेमसंघ केन्द्रीय सदस्य घना तामाङ, विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीलगायत करिब २० जना थिए । विनोद ढकालले भेटघाटको चाँजो पाँजो मिलाएका थिए । यस्तै एमाले नेताहरू भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि सोमबार साँझ भण्डारीसँग भेट गर्न होटल पुगेका थिए ।
प्रोफेसर कृष्ण पोखरेलले एमालेका महासचिव शङ्कर पोखरेलले भनेजस्तो दुई दलीय राजनीति हुनका लागि पनि विद्या भण्डारीको माग भएको दाबी गरे ।
प्रोफेसर कृष्ण पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई दुई कोणबाट व्याख्या गरे । ‘सामान्य अवस्थामा हो भने एकपटक राष्ट्रपति भएको मान्छे पुनः सक्रिय राजनीतिमा आउने कुरा त्यति स्वाभाविक हुँदैन । तर, नेपालको अहिलेको राजनीतिक परिस्थिति त्यस्तो सामान्य र सही दिशातर्फ गइरहेको देखिँदैन,’ पोखरेलले भने, ‘एमालेका एक जना नेताको अहम्को कारण नेपालको वामपन्थी राजनीति बरालिएको छ । स्वयं एमालेभित्र चरम निरङ्कुशता हाबी भइरहेको अवस्थामा त्यहाँ भित्रका कार्यकर्ताहरूले पनि राहतको सास फेर्ने ठाउँ विद्या भण्डारी आइदिए हुन्थ्यो भन्ने सोचेको देखिन्छ ।’
उनले एमालेका महासचिव शङ्कर पोखरेलले भनेजस्तो दुई दलीय राजनीति हुनका लागि पनि विद्या भण्डारीको माग भएको दाबी गरे । ‘दुई दलीय राजनीति भनेको मिलाएर हुन्छ । फुटाएर, गलाएर, कारबाही गरेर, हप्काएर हुँदैन । वैचारिक, कार्यक्रमिक ढंगले हुनुपर्छ,’ पोखरेलले भने, ‘त्यसरी एकताबद्ध गर्नका लागि विद्या भण्डारी राजनीतिमा आउने हो भने त्यो सम्भावनाको ढोका खुल्छ । एमालेभित्रको निरंकुशताले पनि निकास पाउँछ र समग्र वैचारिक हिसाबले नजिक भएका राजनीतिक दलहरू एक ठाउँ आउने बाटो खोल्छ जस्तो लाग्छ । यदि त्यो कुरातर्फ हो भने उहाँ राजनीतिमा आउन खोज्नु त्यसलाई म चाहिँ ठिक ठान्छु ।’
विद्या भण्डारीको सक्रियतालाई राजनीतिमा आउने प्रयास भनेर बुझ्न सकिने पोखरेलले बताए । ‘उहाँ पोखरामा जानु भयो । त्यहाँ त झनै महत्त्वपूर्ण कार्यक्रममा भाग लिनुभयो । त्यहाँ त प्रधानमन्त्रीलाई नबोलाएर पूर्व राष्ट्रपतिलाई बोलाइयो । त्यहाँ मुलुककै बारेमा अन्तर्राष्ट्रिय स्तरको गोष्ठी थियो,’ पोखरेलले भने, ‘त्यसकारण उहाँ पनि कहीँ न कहीँ नाडी छाम्दै हुनुहुन्छ जस्तो लाग्छ ।’
राजनीतिमा आउनका लागि अहिलेको एमालेभित्रको अवस्थालाई ब्रेक थ्रु गर्ने हिसाबले आउनु पर्ने र त्यो बाटोमा आउँदा एमालेभित्र सपोर्टबेस के हुन्छ भन्ने कुरा उहाँले बुझिरहेको हुनसक्ने पोखरेलले बताए ।
एमालेकै नेता विमल कार्की भने एमालेमा विद्या भण्डारी आए पनि पार नलाग्ने बताउँछन् । ‘उहाँ एमालेको नयाँ अध्यक्ष भएर पार लगाउँछु भन्नु चाहिँ मूर्खता हो । एमालेभित्र ओलीबालाई च्यालेन्ज गर्ने कोही भएनन् । त्यही बेलामा विद्यादेवी भण्डारीलाई देखाउन खोजिएको हो,’ कार्कीले भने, ‘तर, त्यो भनेको पनि ताप्केको माछा भुंग्रोमा भनेजस्तै हो । माधव नेपाल र झलनाथ खनालले एमालेलाई न भाले न पोथी बनाए भनेर हामीले ओलीलाई बोकेका थियौँ । ओलीले अहिले पार्टीलाई के बनाउँदै हुनुहुन्छ देखेकै छौँ । अब विद्या भण्डारी आउँदा पनि झन् समस्या पर्छ । हामीले नेतृत्वमा पुस्ता हस्तान्तरणमा जानुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज