शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी क्रिकेट

प्रतियोगिता सुरु हुनुभन्दा तीन दिनअघि नै उद्घाटन समारोह

सोमबार, ०५ फागुन २०८१, ११ : ५७
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । प्रतियोगिता सुरु हुनुभन्दा तीन दिनअघि नै आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको उद्घाटन समारोह आयोजना गरिएको छ । च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ तारिखमा पाकिस्तान र यूएईमा सुरु हुँदैछ । 

प्रतियोगिता सुरु हुने दिने औपचारिक उद्घाटन समारोह आयोजना नगरिने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसअघि नै बताएको थियो । त्यसैले तीन दिनअघि नै प्रतियोगिताको उद्घाटन समारोह आयोजना गरिएको पीसीबीले जनाएको छ ।

उद्घाटन समारोह आइतबार राति लाहोरमा आयोजना गरिएको थियो । भब्य उद्घाटन समारोहमा सांगितिक कार्यक्रम र लेजर लाइटको कला पनि प्रदर्शन गरिएको थियो । उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा आतिफ असलमले पनि आफ्नो सांगितिक प्रस्तुती दिएका थिए । उनले च्याम्पियन्स ट्रफीको अफिसियल गित पनि गाएका थिए । उद्घाटन समारोहमा पूर्व र वर्तमान खेलाडीहरुको पनि उपस्थिति रहेको थियो । पूर्वखेलाडी र पदाधिकारीहरुले च्याम्पियन्स ट्रफीको अघिल्ला संस्करणको स्मरण पनि गरेका थिए ।

कार्यक्रममा सन् २०१७ को च्याम्पियन्स ट्रफी विजेता टोलीका खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो । उक्त संस्करणको फाइनलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै पहिलो पटक उपाधि चुमेको थियो । 

उद्घाटन समारोहमा पाकिस्तानको वायुसेनाले पनि विभिन्न कार्यक्रम प्रस्तुत गरेको थियो । च्याम्पियन्स ट्रफीमा आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक पाकिस्तान र न्युजिल्यान्डबिच खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप