विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
काठमाडौँ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।
अरनिकोले बुधबार सम्पन्न फाइनलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । विराटनगरस्थित वैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।
अरनिकोका लागि सोनु साहले ४४, नुमिर अहमदले ३६ र सौरभ झाले २३ रनको योगदान गरे । ग्रिनल्याण्डका बलर गणेश यादवले तीन तथा सुनिल यादव र गौरीशंकर यादवले दुई–दुई विकेट लिए ।
ग्रिनल्याण्डले भने १८.४ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । ग्रिनल्याण्डका हेमन्त मेहताले १८ र सुनिल यादवले १३ रन बनाए । अरनिकोका बलर रामनारायण यादव र अमर यादवले तीन–तीन विकेट लिए ।
अरनिकोका नुमिर अहमल प्लेयर अफ दि फाइनल घोषित भए । ग्रिनल्याण्डका गणेश यादव प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताप साह घोषित भए भने उत्कृष्ट बलरको पुरस्कार अरनिकाकै अमर यादवले पाए ।
फागुन २६ गतदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ वटा टोलीको सहभागिता रहेको थियो । विजयी टोली र खेलाडीलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखेल, हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडका र हिसान मोरङका पूर्वअध्यक्ष बलराम पन्तलगायतले पुरस्कार वितरण गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण