शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने

शनिबार, १३ असार २०८३, ०४ : ०१
शनिबार, १३ असार २०८३

सारांश

  • एपीएफ र कोशी महिला टि-ट्वान्टी क्रिकेटको फाइनलमा भिड्ने भएका छन्।
  • सेमिफाइनलमा कोशीले बागमतीलाई र एपीएफ रनरेटका आधारमा फाइनलमा पुगे।
  • फाइनल खेल वीरगञ्जमा आइतबार हुनेछ।

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगन्जमा जारी निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र कोशी प्रदेश भिड्ने भएका छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफानलमा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुक्रबार एपीएफ क्लब र लुम्बिनी प्रदेशबिचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भयो । त्यसपछि रनरेटको आधारमा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको फाइनल खेल आइतबार पर्साको वीरगन्जस्थित टिबी शाह क्रिकेट मैदानमा हुनेछ ।

वीरगन्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज सम्पन्न अर्को सेमिफाइनलमा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्यो । टस जितेर बागमती प्रदेशले फिल्डिङ रोजेपछि ब्याटिङ्गको निम्तो पाएको कोशी प्रदेशले निर्धारित १० ओभरमा एक विकेट गुमाएर ७२ रनको योगफल बनायो । कोशीका लागि कप्तान रुवीना क्षेत्रीले ३१ रन, काजल श्रेष्ठले २९ तथा अपसरी बेगमले १० रनको योगदान दिइन् । बलिङतर्फ बागमतीका लागि कञ्चन श्रेष्ठले एक विकेट लिइन् ।

त्रिहत्तर रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको बागमती प्रदेशले १० ओभरमा ६ विकेट गुमाएर ६४ रन मात्र जोड्न सक्यो । बागमतीकी कप्तान अस्मिना कर्माचार्यले १७ रन, लक्ष्मीमाया रुम्बा लामाले १४ रन र विपिसा शाहीले १२ रन बनाइन् ।

बलिङतर्फ कोशीकी कप्तान रुबीना क्षेत्रीले दुई तथा अलिसा खाडिया, अपसरी बेगम र टीका साहले एक/एक विकेट लिइन् । आजको खेलको वुमन अफ दी म्याच कोशीकी कप्तान रुवीना क्षेत्री घोषित भइन् । मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफ क्लबको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप