पोखरा महानगरले फोहोरबाट कोसेली बनाएर बेच्ने, कोसेली घर निर्माण सुरु
पोखरा । पोखरा महानगरपालिकाले पर्यटक लक्षित कोसेली घर निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा कोसेली घर निर्माण गर्न लागिएको हो ।
दुई संस्थाले मिलेर पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सुरु गरेका छन् । सोही परियोजना अन्तर्गत कोसेली घर निर्माण गर्न लागिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा कोसेली घरले महत्त्वपूर्ण योगदान पुग्ने उनले सुनाए । पोखराले फोहोर मार्फत मोहोर बनाउने गरी कोसेली घर निर्माण गर्न लागेको हो । यसका लागि महानगरमा १ सय ३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामग्री प्रयोग गरेर कोसेली तयार गरिनेछ ।
‘हामीले महानगरमा सामुदायिक समूहहरू निर्माण गरेर तालिम पनि दिइसकेका छौँ,’ आचार्यले भने, ‘यसले सामुदायिक स्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ ।’
विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि हरित रोजगारी कार्यक्रम बढी प्रभावकारी हुने उनको भनाई छ । ‘परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहोर पनि आर्जन हुनेछ,’ आचार्यले भने, ‘पहिलो चरणमा ३ हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाउने छन् ।’ कोसेली घरको मेयर आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेनले पोखरा महानगरपालिका र कोइका बिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउन अहिलेको परियोजना सफल हुने बताए । नेपालको पर्यटनको राजधानी पोखरामा रिसाइकल र अपसाइकल कार्यक्रम नमुनाका रूपमा सञ्चालन गरिएको उनले सुनाए । युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफरले उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौँले पाएको छ ।
परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ कोसेली उत्पादन गर्नेछ । २०२३ अगस्ट ३० मा मेयर आचार्य र कोइकाका उपप्रमुख युन यंग ली बिच हरित रोजगारी परियोजनाको सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण