उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
सारांश
- विश्वकपको उपाधि दाबेदार इंग्ल्याण्डले क्वार्टरफाइनलमा 'डार्क हर्स' नर्वेको सामना गर्दैछ।
- नर्वेले २८ वर्षपछि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको छ।
- इंग्ल्याण्डका लागि रक्षापङ्क्तिमा कमजोरी देखिँदा नर्वेका स्ट्राइकर अर्लिङ हालान्डले गोल गर्ने चुनौती सामना गर्नेछन्।
मियामी । चार साताअघि नर्वेलीहरूलाई उनीहरूको टोली विश्वकपको क्वार्टरफाइनलमा पुग्छ भनिएको भए, सायद उनीहरूले त्यसलाई हाँसेर उडाइदिन्थे। तर यस सप्ताहन्तमा यो स्क्यान्डिनेभियन राष्ट्रले नयाँ इतिहास रच्ने तयारी गरिरहेको छ।
उत्तर अमेरिकामा नर्वेको अपत्यारिलो यात्रा अब नयाँ अध्यायमा प्रवेश गर्दैछ, जहाँ यस प्रतियोगिताको ‘डार्क हर्स’ ले सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार इंग्ल्याण्डको सामना गर्दैछ।
फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किन नर्वेलाई पूरै २८ वर्ष लाग्यो। तर उनीहरूले उत्कृष्ट शैलीमा आफ्नो छाप छाडेका छन्। परम्परागत भाइकिङ शैलीको खुसियालीले विश्वको ध्यान तानिरहँदा स्ट्राइकर अर्लिङ हालान्ड इन्टरनेटका प्रिय पात्र बनेका छन्।
मैदानभित्र विपक्षीको बक्समा घातक उपस्थिति र मैदानबाहिर रमाइलो तथा स्पष्ट व्यक्तित्वका कारण हालान्ड दर्शकहरूका लागि पूर्ण मनोरञ्जन दिने खेलाडी बनेका छन्। उनको उत्कृष्ट गोल स्कोरिङ तथ्याङ्क हेर्दा यो उनको पहिलो विश्वकप हो भन्ने कुरा जोकोहीले बिर्सिन्छ। अब यी अग्ला स्ट्राइकरले आवश्यक परेको बेला गोल गर्न माहिर अर्का ‘नम्बर नाइन’ इंग्ल्याण्डका ह्यारी केनसँग प्रतिस्पर्धा गर्दैछन्।

- नर्वे र इंग्ल्याण्ड यहाँसम्म कसरी आइपुगे ?
समूह ‘आई’मा सेनेगल र इराकलाई हराएको तथा फ्रान्ससँग पराजित भएको नर्वे ६ अङ्कसहित दोस्रो भयो। नकआउट चरणको सुरुवातमा आइभरी कोस्टलाई २–१ ले हराएको नर्वेले विश्वविजेता ब्राजिललाई पनि त्यही नतिजामा स्तब्ध पार्दै पहिलो पटक क्वार्टरफाइनल यात्रा तय गर्यो।
समूह ‘एल’मा क्रोएसिया र पानामालाई हराएको तथा घानासँग बराबरी खेलेको इंग्ल्याण्ड ७ अङ्कसहित शीर्ष स्थानमा रह्यो। अन्तिम ३२ को खेलमा कङ्गो (डीआरसी) लाई हराउन दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको इंग्ल्याण्डले अन्तिम १६ को रोमाञ्चक भिडन्तमा आयोजक मेक्सिकोलाई ३–२ ले पाखा लगायो।
- इंग्ल्याण्डमाथि दबाब
‘इट्स कमिङ होम’को नारा त्यतिबेला झनै गुन्जियो, जतिबेला इंग्ल्याण्डले हाइ अल्टिच्युड, इतिहास र रातो कार्डको बाबजुद सङ्घर्षपूर्ण खेल्दै घरेलु टोली मेक्सिकोलाई हरायो।

टोलीले गरेका ११ मध्ये १० गोल आफूहरूबिच बाँडेका केन र जुड बेलिङ्घमको जोडीले इंग्ल्याण्डलाई उपाधि होडमा जीवितै राखेको छ, विशेषगरी टोलीको रक्षापङ्क्तिमा कमजोरी देखिइरहेको बेला।
लयमा रहेको र नर्वेभन्दा बढी विश्वकप अनुभव बटुलेको इंग्ल्याण्डलाई सन् २०१८ यता पहिलो पटक सेमिफाइनलमा पुग्ने प्रमुख दाबेदार मानिएको छ।
इंग्ल्याण्डका विङ्गर बुकायो साकाले भने, ‘हामी यहाँ केही पटक आइसकेका छौँ। तर खेलको दिन जसले राम्रो खेल्छ, त्यही टोलीले जित्ने हो। हामी यसप्रति सचेत छौँ र हाम्रो ध्यान पनि त्यहीँ छ।’
पाँच खेलमा मात्र दुई क्लिन सिट राखेको इंग्ल्याण्डको कमजोर रक्षापङ्क्तिले अब हालान्डविरुद्ध सबैभन्दा कठिन परीक्षाको सामना गर्नेछ। गोल्डेन बुटको दौडमा हालान्ड ७ गोलसहित लियोनेल मेस्सी र किलियन एमबाप्पेभन्दा मात्र पछाडि छन्।
- हालान्ड : विश्वकपमा सबैभन्दा चर्चित अनुहार
सन् १९९८ यता पहिलो पटक विश्वकप खेलिरहेको करिब ५० लाख जनसङ्ख्या भएको राष्ट्र नर्वेले अपेक्षाभन्दा धेरै राम्रो प्रदर्शन गरेको छ।
कीर्तिमानी पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई स्तब्ध पार्दै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको नर्वे अर्को ठूलो टोलीलाई हराउँदै आफ्नो जादुमय यात्रा लम्ब्याउन चाहन्छ।

उनीहरूको सफलतामा सम्पूर्ण टोलीको मिहिनेत भए पनि सबैको ध्यान टोलीका मुख्य अनुहार हालान्डमा केन्द्रित छ। यी गोरा, लामो कपाल पालेका, ६ फिट ४ इन्च अग्ला स्ट्राइकर अहिले सामाजिक सञ्जालमा पनि सनसनी मच्चाइरहेका छन्।
पत्रकार सम्मेलनमा दिने अनौपचारिक जवाफ, स्न्यापच्याटमा पोस्ट गर्ने अनौठा सेल्फी र महँगा ह्यान्डब्यागहरूको सङ्ग्रहका कारण यी स्ट्राइकरले आफ्नो गोल गर्ने क्षमताबाहेक अन्य कुराले पनि ध्यान तानेका छन्। वास्तवमा विश्वकपभरि ‘हालान्ड मेनिया’ले शिखर चुमेको छ।
इन्स्टाग्राममा उनको एआई–निर्मित र एनिमेटेड भिडियोहरूको बाढी नै आएको छ, जसमा उनको चर्चित गीत ‘हा–हा–हा–हालान्ड’ जोडिएको हुन्छ।
हालान्डले भने, ‘रमाइलो गर्नु महत्त्वपूर्ण हुन्छ। मलाई अलिअलि ठट्टा गर्न र रमाइलो गर्न मन पर्छ। मेरो दैनिक जीवनको मुख्य मन्त्र नै रमाइलो गर्नु र अवश्य पनि राम्रो तालिम र तयारी गर्नु हो।’
हालान्डको उत्कृष्ट तयारीले यस्तो नतिजा दिएको छ, जसको अपेक्षा २५ वर्षीय यी खेलाडी स्वयमले पनि गरेका थिएनन्।
उनले भने, ‘नर्वेसँग विश्वकपको क्वार्टरफाइनलमा पुग्नु मेरा लागि पनि निकै आश्चर्यजनक कुरा हो।’
उनले थपे, ‘विश्वकप खेल्न पाउनु नै मेरा लागि ठूलो सम्मानको कुरा हो र यो मेरो करियरको एउटा ठूलो लक्ष्य थियो। यहाँ उपस्थित हुन पाउनु र विश्वका उत्कृष्ट टोलीहरूविरुद्ध नर्वेली साथीहरूसँग फुटबलको सबैभन्दा ठूलो मञ्चमा खेल्न पाउनु साँच्चै विशेष छ।’
- नर्वे भर्सेस इंग्ल्याण्ड : कसले जित्ला ?
ओप्टा सुपरकम्प्युटरले निर्धारित समयमा इंग्ल्याण्डले जित्ने सम्भावना ५०.४ प्रतिशत देखाएको छ भने नर्वेको जित्ने सम्भावना २५.१ प्रतिशत छ।
यस मोडलका अनुसार खेल अतिरिक्त समयमा जाने सम्भावना २४.६ प्रतिशत रहेको छ।
- विजेताले सेमिफाइनलमा कोसँग खेल्नेछ ?
नर्वे र इंग्ल्याण्डबिचको विजेताले बुधबार एटलान्टामा हुने सेमिफाइनलमा अर्जेन्टिना वा स्विट्जरल्यान्डको सामना गर्नेछ।

- हेड–टु–हेड
विश्वकपमा नर्वे र इंग्ल्याण्ड यसअघि कहिल्यै भिडेका छैनन्। तर अन्य प्रतियोगिता र मैत्रीपूर्ण गरी उनीहरू १२ पटक आमनेसामने भएका छन्। जसमा इंग्ल्याण्डले ७ पटक र नर्वेले २ पटक जितेका छन् भने ३ वटा खेल बराबरीमा सकिएका छन्।
यी दुई टोलीबिचको पछिल्लो भिडन्त सन् २०१४ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भएको थियो, जसमा वेम्बली स्टेडियममा इंग्ल्याण्डले १–० को जित निकालेको थियो।
- टोलीको पछिल्लो अवस्था
मेक्सिकोविरुद्धको खेलमा रातो कार्ड पाएपछि दुई खेलको प्रतिबन्ध भोगेका डिफेन्डर जारेल क्वान्साह इंग्ल्याण्डको टोलीमा हुनेछैनन्। उनले यो क्वार्टरफाइनल र इंग्ल्याण्ड अगाडि बढेको खण्डमा सम्भावित सेमिफाइनल पनि गुमाउनेछन्।
सेन्टर–ब्याक मार्क गुएहीको ह्यामस्ट्रिङमा सामान्य समस्या छ र उनी खेल्न फिट छन् वा छैनन् भनेर परीक्षण गरिनेछ। अर्का खेलाडी रिस जेम्स पनि ह्यामस्ट्रिङको चोटका कारण खेल्नेमा शङ्का छ।
नाडीको हड्डी भाँचिएका कारण डिफेन्सिभ मिडफिल्डर जोर्डन हेन्डरसनले यस प्रतियोगिताका बाँकी खेल गुमाउने निश्चित भएको छ।
यता, नर्वेको टोलीमा भने कुनै पनि खेलाडी घाइते वा निलम्बित भएको खबर छैन।
नर्वेको सम्भावित सुरुवाती ११ :
- (४–३–३): नाइलान्ड (गोलकिपर); राएर्सन, अजेर, हेगेम, मोलर वुल्फ; बर्ग, बर्गे, ओडेगार्ड; सोर्लोथ, हालान्ड, नुसा।
इंग्ल्याण्डको सम्भावित सुरुवाती ११ :
- (४–२–३–१): पिकफोर्ड (गोलकिपर); कोन्सा, स्टोन्स, गुएही, ओ’रेली; राइस, एन्डरसन; साका, बेलिङ्घम, गोर्डन; केन।
खेलबारे
- को–को भिड्दैछन् : नर्वे भर्सेस इंग्ल्याण्ड
- के हो : फिफा विश्वकप २०२६ – क्वार्टरफाइनल
- कहाँ : मियामी स्टेडियम, मियामी गार्डन्स, फ्लोरिडा, अमेरिका
- कहिले : आइतबार, बिहान २:४५ बजे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण