शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा

शनिबार, २७ असार २०८३, १९ : ००
शनिबार, २७ असार २०८३

सारांश

  • मधेस प्रदेशमा खुला सीमा र फितलो निगरानीका कारण लागुऔषधको ओसारपसार र दुर्व्यसन बढ्दै गएको छ, जसले युवा पुस्तालाई जोखिममा पारेको छ।
  • प्रहरीले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाए पनि सीमापारबाट हुने अवैध कारोबार र युवाहरूमा बढ्दो दुर्व्यसन चुनौती बनेको छ।
  • समस्या समाधानका लागि प्रहरी, परिवार, विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय तथा सचेतना, रोजगारी र उपचार सेवामा जोड दिनु आवश्यक छ।

जनकपुरधाम । एक युवक लागुऔषधको लतमा परेपछि काठमाडौँको कलेज छोड्न बाध्य भए। परिवारले लाखौँ रुपैयाँ खर्च गरेर उपचार गराए पनि उनी पटक–पटक पुरानै लतमा फर्किए। यस्ता घटना मधेस प्रदेशमा हजारौँ छन्।

भारतसँग जोडिएको खुला सीमाका कारण लागुऔषधको ओसारपसार र दुर्व्यसन मधेसका लागि गम्भीर चुनौती बन्दै गएको छ। प्रहरीको कारबाही निरन्तर चलिरहे पनि लागुऔषधको पहुँच गाउँदेखि सहरसम्म फैलिएको देखिन्छ।

हरेक पक्राउसँगै एउटै प्रश्न उठ्ने गरेको छ– लागुऔषधका कारोबारी पक्राउ पर्दा पनि नयाँ सञ्जाल कसरी बन्छ ? प्रत्येक बरामदपछि अर्को खेप सीमाबाट कसरी भित्रिन्छ र किन युवाहरू बारम्बार यही दलदलमा फसिरहेका छन् ?

एकातिर मधेस प्रदेश सरकारले लागुऔषध दुर्व्यसन रोक्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयले मातहतका निकायलाई निगरानी बढाउन निर्देशन दिएको छ। तर, दैनिकजसो लागुऔषध बरामद, ओसारपसारमा संलग्न व्यक्ति पक्राउ तथा दुर्व्यसनमा फसेका युवा कारोबारीको समाचार सार्वजनिक भइरहेका छन्।

1000228747

भारतसँग जोडिएको मधेस प्रदेशका आठै जिल्लामा करिब ३६५ किलोमिटर खुला सीमा रहेको छ। सीमापार भारतीय बजारमा लागुऔषध सहज रूपमा उपलब्ध हुने भएकाले प्रतिबन्धित औषधि सेवन गर्ने र खरिद गर्ने युवाका लागि ती क्षेत्र सुरक्षित गन्तव्य बन्दै गएका छन्।

यसको पुष्टि प्रहरीको तथ्याङ्कले पनि गर्छ। धनुषामा मात्र पछिल्लो तीन वर्षमा १७० वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमा २२० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने भन्छन्, “नेपालबाट गाँजा भारततर्फ जाने र भारतबाट ट्याब्लेट तथा ब्राउन सुगर नेपाल भित्रिने क्रम देखिएको छ। ठूलो परिमाणमा बरामद पनि भएको छ। धेरैलाई पक्राउ गरी मुद्दा चलाएका छौँ र अन्यको खोजी जारी छ।”

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्तामध्ये १५ देखि २८ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी छन्। मधेस प्रदेशमा लागुऔषध दुर्व्यसनले सामाजिक अपराधसमेत बढाएको सरोकारवालाहरूको भनाइ छ।

“चोरी, डकैती, लुटपाट, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिमा दुर्व्यसनको प्रभाव देखिन थालेको छ,” सर्लाहीको गोडैता नगरपालिका–३ का राजीव कुशवाहा बताउँछन्।

जनकपुरधाम–१० का राजु गुप्ता भने पारिवारिक निगरानीको अभाव र गलत सङ्गतलाई मुख्य कारण मान्छन्। उनी भन्छन्, “परिवारको निगरानी कमजोर हुँदा र गलत सङ्गतमा परेपछि धेरै युवा दुर्व्यसनमा फसिरहेका छन्।”

नागरिक समाजका अगुवा नन्दकिशोर झा भन्छन्, “के गाउँ, के सहर–सबैतिर युवाहरू दुर्व्यसनको आगोमा फसिरहेका छन्। वैदेशिक रोजगारीमा गएका अभिभावकका सन्तान स्वतन्त्र हुने, आमाबुबाको कुरा नमान्ने, विद्यालय जाने भन्दै झुट बोल्ने र साथीको लहैलहैमा लाग्ने प्रवृत्तिले समस्या बढाएको छ। सरकारले समयमै प्रभावकारी कदम चाल्न सकेन भने यो आगो निभाउन गाह्रो हुन्छ।”

1000228750

  • प्रहरीको सक्रियता र सीमामा निगरानी

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार सीमावर्ती क्षेत्रमा प्रहरीको निगरानी बढाइएको छ। प्रवक्ता गोलेले भने, “खुला सीमा भएकाले भारतका प्रहरीसँग पनि सहकार्य गरेर लागुऔषध कारोबारी र दुर्व्यसनमा संलग्नलाई नियन्त्रणमा लिएका छौँ। सीमास्थित प्रहरी पोस्ट र इलाका प्रहरी कार्यालयलाई विशेष निर्देशन दिइएको छ।”

यता बिहीबार भिटामोड नाकामा भारतीय प्रहरीले पनि सीमामा आउने–जाने नागरिकलाई लागुऔषध नियन्त्रणका विषयमा सचेत गराएको थियो। भारतबाट नेपाल र नेपालबाट भारत लागुऔषध ओसारपसार हुन नदिन दुवै देशका सुरक्षाकर्मीलाई सूचना दिनसमेत आग्रह गरिएको थियो।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार ४९६ जनामा किट परीक्षण गर्दा २६४ जना पोजेटिभ भेटिएका छन्। तीमध्ये २२० जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने २३ जनाविरुद्ध मुद्दा चलाइएको प्रहरीले बताएको छ।

मधेस प्रदेशका सञ्चार तथा कानुन मन्त्री फकिरा महतो लागुऔषध नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको बताउँछन्। मन्त्री महतोले भने, “लागुऔषध नियन्त्रणका लागि प्रहरी प्रशासनलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने, पुनर्स्थापना केन्द्रलाई सुदृढ बनाउने, पीडित परिवारलाई मनोसामाजिक सहयोग उपलब्ध गराउनेलगायतका काम अघि बढाइसकेका छौँ। न्यूनीकरणका लागि जे गर्नुपर्छ, सरकार पछि हट्दैन।”

1000228749

न्यु मुस्कान पुनर्स्थापना केन्द्र, जनकपुरका निर्देशक सन्तोष ठाकुरका अनुसार केन्द्रमा १४ वर्षदेखि ६० वर्षसम्मका दुर्व्यसनमा फसेका व्यक्ति आउने गरेका छन्। “हाम्रो तथ्याङ्कअनुसार विगत वर्षभन्दा यो वर्ष दुर्व्यसनमा युवाहरूको सङ्ख्या केही घटेको देखिए पनि मधेस प्रदेशका विभिन्न जिल्लाबाट आउने किशोरी र महिलाहरूको सङ्ख्या बढेको छ। अहिले पनि हाम्रो केन्द्रमा २५ देखि ३० जनासम्म उपचाररत छन्,” ठाकुरले भने।

काउन्सेलिङका क्रममा साथीको लहैलहै, बेरोजगारी, घरायसी कलह र प्रेममा बिछोडजस्ता कारणले धेरै व्यक्ति दुर्व्यसनमा फसेको पाइएको उनले बताए। ठाकुर थप्छन्, “दुर्व्यसन एउटा रोग हो। समयमै उपचार गरे निको हुन्छ, तर अभिभावकले ढिला गरेर मात्रै पुनर्स्थापनामा ल्याउने प्रवृत्ति अझै छ।”

मानसिक रोग विशेषज्ञ डा. रावित रञ्जनका अनुसार पछिल्ला केही वर्षयता मधेसमा लागुऔषध दुर्व्यसन चिन्ताजनक रूपमा बढेको छ, विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका किशोर–युवा बढी प्रभावित छन्। अहिले किशोरी र युवतीहरू पनि प्रभावित हुन थालेका छन्। उपचारका लागि आउने धेरै बिरामीले साथीभाइको सङ्गत, जिज्ञासा, बेरोजगारी, पारिवारिक तनाव वा विदेशबाट फर्किएका साथीहरूको प्रभावमा लागुऔषध प्रयोग सुरु गरेको बताएका छन्।

जनकपुर प्रादेशिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. तेजनारायण महतो भन्छन्, “धेरै युवाले सुरुमा चुरोट, मदिरा वा गाँजाबाट सुरु गर्छन्। पछि ट्याब्लेट, सिरिन्जमार्फत प्रयोग गरिने लागुऔषध र अन्य कडा पदार्थतर्फ आकर्षित हुन्छन्। त्यसले डिप्रेसन, चिन्ता, अनिद्रा, आक्रामक व्यवहार, स्मरणशक्ति कमजोर हुने, पढाइ छोड्ने, परिवारसँग सम्बन्ध बिग्रिने र कतिपय अवस्थामा आत्मघाती सोचसमेत देखिने समस्या बढाएको छ।”

madhesh pradesh prahari

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकाल भन्छन्, “प्रहरीले नियमित चेकजाँच, विशेष अभियान, गस्ती तथा सूचनाको आधारमा लागुऔषध नियन्त्रणका कारबाही सञ्चालन गर्दै आएको छ। गाँजा, ब्राउन सुगर, ट्रामाडोल, डाइलेक्स, नाइट्राभेटलगायतका लागुऔषध बरामद भएका छन्। ओसारपसार र बिक्री–वितरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।”

उनका अनुसार मधेस प्रदेशका आठै जिल्लामा खुला सीमा रहेकाले प्रहरीको कारबाही मात्र पर्याप्त हुँदैन। उनी भन्छन्, “परिवार, विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय सबैको सक्रिय सहभागिता आवश्यक छ। युवालाई समयमै सचेतना, परामर्श र उपचार उपलब्ध गराउन सके मात्रै दुर्व्यसन न्यूनीकरण प्रभावकारी हुन्छ।”

प्रहरीका अनुसार जेठ महिनामा प्रदेशभर लागुऔषध ओसारपसारमा संलग्न ८० जना तथा १३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको थियो। यस्तै असार १ गतेदेखि २४ गतेसम्म ५२ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ।

मधेस प्रदेशमा लागुऔषध दुर्व्यसन केवल कानुनी अपराधको विषय मात्र होइन, गम्भीर सामाजिक, स्वास्थ्य र विकासको चुनौती बनेको छ। खुला सीमा, बेरोजगारी, साथीभाइको दबाब, कमजोर पारिवारिक निगरानी र बढ्दो मानसिक तनावका कारण विशेषगरी किशोर–किशोरी दुर्व्यसनको जोखिममा परिरहेका छन्।

प्रहरीको नियन्त्रणात्मक अभियान जारी रहे पनि समस्या पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। त्यसैले कानुनी कारबाहीसँगै विद्यालय, परिवार, समुदाय, स्वास्थ्य संस्था र तीनै तहका सरकारबिच प्रभावकारी समन्वय अपरिहार्य देखिन्छ। युवालाई लागुऔषधबाट जोगाउने दीर्घकालीन उपाय भनेको सचेतना, रोजगारीका अवसर, सहज उपचार सेवा र प्रभावकारी पुनर्स्थापना हो। केवल पक्राउ र कारबाहीले मात्र होइन, रोकथाम, उपचार र सामाजिक पुनः एकीकरणलाई समान प्राथमिकता दिए मात्रै मधेस प्रदेशमा लागुऔषध नियन्त्रण प्रभावकारी बन्न सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप