विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

अमरगढी । विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो ।
विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउछन् ।
चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ । पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताईन् । पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उनको भनाइ छ ।
चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन–८ का लक्ष्मी भट्टले बताउँछिन् । ‘बरु बडादसैँका बेलामा खासै लिपपोत गर्दैनौँ, तर चैतमा त जसरी नी लिप्नुपर्छ । कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन छ’ भट्टले भनिन्, ‘अब यो चलन कम होला जस्तो छ, धेरैजसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्ट लगाएका छन् ।’
नयाँ वर्ष तथा विसु पर्वमा भारत गएकाहरु घर फर्किन चलन छ । उनीहरुको आगमनले गाउँमा चहलपहल बढेको पनि उनले बताइन् । विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ । विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ ।
विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति
-
हङकङलाई पछि पार्दै सुपर–३ चरणमा पुग्यो नेपाल
-
निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव