मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा

मङ्गलबार, ०२ असार २०८३, २२ : २३
मङ्गलबार, ०२ असार २०८३

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदरसम्बन्धी समस्या न्यूनीकरणदेखि शिक्षामा गुणस्तर वृद्धि र रोजगारी सिर्जनासम्मका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिद्धिचरण नगरपालिकाले जेठ २१ देखि ३१ गतेसम्म सञ्चालन गरेको वडास्तरीय र पालिकास्तरीय सार्वजनिक सुनुवाइमा सहभागीले वर्षभरि दुःख गरेर लगाएको बाली क्षणभरमै नष्ट गरिदिएकाले बाँदर नियन्त्रणको प्रभावकारी कार्यक्रम ल्याउन माग गरे ।

बाली जोगाउन लखेटेर सम्भव नभएकाले बाँदर व्यवस्थापनका लागि १० वटा वडाका नागरिकले पालिका पदाधिकारीसँग आवश्यक बजेटसहित विशेष कार्यक्रम घोषणा गर्न सुझाव दिएका हुन् ।

नगरप्रमुख तेजेन्द्र खनालले स्थानीय तहमा बजेटको स्रोत कम भएका कारण बाँदर नियन्त्रणका लागि बजेटको व्यवस्था गर्न चुनौती भइरहेको बताए । गाउँका नागरिक पलायन हुने क्रम बढेसँगै खेतबारी जङ्गलमा परिणत भएकाले बाँदर आतङ्क बढेको स्थानीय नागरिकको गुनासो छ ।

त्यसैगरी, गाउँमा गुणस्तरीय शिक्षाको र रोजगारीको अभावका कारण नागरिक गाउँ छोड्न बाध्य भएकाले स्थानीय सरकारले गाउँमा रोजगारी सिर्जना हुने योजना बनाउन माग गरेका छन् । युवाजनशक्ति रोजगारीको सिलसिलामा विदेश गएसँगै परिवार बच्चा पढाउन सहर गएका कारण गाउँमा ज्येष्ठ नागरिक मात्रै बस्न बाध्यकारी अवस्था सिर्जना हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको स्थानीय बेदुकाजी घिमिरेले गुनासो गरे ।

त्यस अवसरमा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्नो सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमै पढाउन पनि स्थानीयले माग गरेका छन् । उनका अनुसार अब गाउँमै रोजगारीको सिर्जना गर्न नसक्ने हो भने गाउँ वृद्धाश्रममा परिणत हुने खतरा बढेको छ ।

सिद्धिचरण नगरपालिकाले मातहतमा रहेका वडा तथा विषयगत शाखाबाट वितरण गरिने सेवा प्रवाहको प्रभावकारिता र ०८२/८३ मा सञ्चालन गरिएका योजनाको गुणस्तरीयताका विषयमा नागरिकसँग प्रत्यक्ष सार्वजनिक सुनुवाइ गरेको हो ।

त्यस अवसरमा नगरप्रमुख तेजेन्द्र खनालले नगरपालिकाले गरेका विकास निर्माणका योजना तथा सेवा प्रवाहका विषयमा नागरिकबाट उठेका पारदर्शिता, जवाफदेहिता र आर्थिक अनुशासनसम्बन्धी प्रश्नमा प्रत्येक वर्ष सबै वडामा सार्वजनिक सुनुवाइ गरी स्पष्ट पार्दै आएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप