शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कविता

बिन्ती छोरा नेता नबन

शनिबार, २० वैशाख २०८२, ११ : २३
शनिबार, २० वैशाख २०८२

छोरा तिमी राजनीति नगर, नेता नबन
तिमीले देश झनै फोहर गरेको म हेर्न सक्दिनँ 
यही सम्झेर मर्ने बेलामा एकोहोरो सास फेर्न सक्दिनँ 
रहन देऊ बा यो विधि तिम्रा लागि होइन
सरकारले ल्याएको नीति तिम्रा लागि होइन

तिमी धेरै नपढ, धेरै पढ्नेहरू नेता भएपछि चोर भएका छन्
राजनीतिमा स्वच्छ छवि भएकाहरू पनि फोहोर भएका छन् 
दल खोलेर लागेकाहरू दले भएका छन्
तिनीहरूलाई नेता मान्ने कोही दास त कोही झोले भएका छन्
रहन देऊ छोरा राजनीति तिम्रा लागि होइन

यो नेपाल हो
यहाँ अर्ति उपदेशलाई हल्ला भन्छन् 
देश बेच्ने छलफललाई सल्लाह भन्छन्
तिमी आफ्नै घरको बोका बेच्न नजान्नेले 
नदी नाला खोला जोगाउनु पर्छ भनी मान्नेले
 के राजनीति गर्छौ? 

तिमी सरल छौ सोझो छौ
यहाँ राजनीति गर्न दलाली जान्नु पर्छ,घुस खानुपर्छ
झन् सरकारी हो भने त धान मात्र होइन भुस खानुपर्छ 
 मान्छे बेच्नु पर्छ, नदी नाला बेच्नु पर्छ 
चाबी आफू राखेर जनतालाई ताला बेच्नु पर्छ

रहन देऊ बा यो राजनीति तिम्रा लागि होइन
तिम्रा लागि त मैले बनाएर राखेको हलो छ
बाउ बाजेले खनजोत गर्दै आएको जमिन छ थलो छ
तिमी जमिन जोत धान रोप खेत खन 
जसले जे भने पनि हुन्छ हजुर हवस् भन

अब देखि कमरेड को क नभन जय नेपाल को ज नभन 
भन्नै मन भए क बाट कोदाली ज बाट जमिन भन 
मैले भनेको मान्छौ भने देखाएको बाटो जान्छ भने 
 ज को जमिन जोत क को कोदालीले खन र मकै गहुँ कोदो फापर फलाउने किसान बन 
बिन्ती छोरा राजनीति नगर तिमी नेता नबन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत कुमार बोहोरा
अमृत कुमार बोहोरा
लेखकबाट थप